तिम्रो मृत्युमा ...
झार्ने छैन आँसु,
दिने छैन श्रद्धाञ्जली!
गर्ने छैन चीर शान्तिको कामना!
दुखाउने छैन मन,
मान्ने छैन दिग्दारी,
महसुस गर्ने छैन शुन्यता।
हुँदैन अब खिन्नता,
अभाव हुदैन रिक्तताको
सम्झने छैन गुण,
बिर्सने छैन बैगुन,
यादमा हराउदिन अतितको,
कल्पना गर्ने छैन भावी दिनको।
रमाउने छैन वर्तमानमा।
पुग्नु छैन सुदुर विगततिर
आउदैन रुमानी भावहरु
मेटिन्न र भेटिन्न अभाव र प्रभावहरु,
तिमीलाई हिजो झै अगाध प्रेम पनि गर्दिन
न गर्छु घृणा !
तिम्रो स्मृतिमा दुख्दैन मुटु,
पोल्दैन मन,
रसाउदैनन् आँखा,
शुष्क, उष्ण र वषन्ती बन्दैन रहर !
पुलकित र रोमाञ्चक बन्दैन अभिलाषा,
समवेदना दिने छैन परिवारको लागि
गुनासो गर्ने छैन बिधातासँग
द्रवित हुने छैन हृदय,
तिम्रो अन्त्यस्टिमा पुग्न नसकेकोमा
कुनै अपशोच छैन
तिम्रो अवसानमा म एक छाक नुन बार्ने छैन ,
खल्को हाल्ने छैन
मृत्यु कसैको लागि उत्सव बन्दैन
तिम्रो महाप्रस्थान,
शोक बन्न सकेन मेरा लागि
विरह र वेदनाको गीत पनि बन्दैन अब
तिम्रो मृत्यु पूर्व झस्काएन सपनिले,
अत्याएन विपनिले,
सम्भावित मृत्युको त्राशले रुकेन कलम
श्रद्धाञ्जली भनेर झुकेन शिर,
टोलाएनन् नयन।
थाहा छ यसो किन भयो ?
किनकि ,
तिमीले मलाई मारेर आफू मरेकी हौं।