सुनसान पशुपतिनाथको सन्ध्या आरती (भिडियाे)

हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ । बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लाग्थ्यो । १२ वर्षदेखि थपिएको आकर्षण थियो– मन्दिरको पारिपट्टि गरिने सन्ध्या आरती । 

सयौँ श्रद्धालुको सक्रिय सहभागितामा हुने गथ्र्यो– यो सन्ध्या आरती । कोरोना भाइरसको संत्राश फैलिएसँगै पाशुपत क्षेत्र हिजोआज सुनाशानप्रायः भएको छ ।

साँझ–बिहान त पाशुपत क्षेत्रमा हजारौँ भक्तजनको भीड हुन्थ्यो ।  अहिले मन खुम्च्याएरै किन नहोस्, घरमै बसेर मनमनै आराधना गर्ने अवस्था आएको छ । 

२०६४ साल श्रावन २१ देखि थालिएको सन्ध्या आरती पशुपतिनाथको अर्को आकर्षण बनेको थियो । आरतीमा भक्तजन यत्ति सक्रिय सहभागी हुन्थे कि आरती सुरु भएपछि भीड त लाग्थ्यो नै, नाँचगान गरी भगवान पशुपतिनाथको आराधनामा खुला दिलले सहभागी हुन्थे । त्यो उत्साह, उमङ्ग ! त्यो धार्मिक आस्थाको प्रस्फुटन ! शब्दमा बताउन असंभव छ ।

पशुपतिनाथ एवम् वागमती गङ्गा आरती सेवा समिति नेपालले हिजो सोमबारदेखि सन्ध्या आरती घटाएको छ । भारतको वनारसको जस्तै आरती पशुपतिमा पनि सुरु गरिएको थियो । अहिले तीन वटा आरती उतार्ने गरिएको सन्ध्या आरतीमा एउटा मात्र आरती उतारेर निरन्तरता दिइएको छ ।  

आरती समितिका २५ जनाद्वारा नित्य पूजा–आराधना हुने उक्त सन्ध्या आरतीमा सोमबार भने जम्मा ५ जना मात्रै पूजारी देखा परे । समितिका कोषाध्यक्ष नारायण पौडेलले बिएल नेपाली सेवा सँग कुरा गर्दै भने, ‘सरकारले २५ जनाभन्दा धेरै मानिसको भीड जम्मा नहुन गरेको निर्देशन हामीले पनि पालना गरेका हौँ । यहाँ नित्य आउनुहुने श्रद्धालु भक्तजनलाई संसारसामु देखिएको कोरोना समस्या हल नहुँदासम्म मन नदुखाउनुहुन अनुरोध गछौँ ।’

कोरोना भाइरसको संक्रमण नियन्त्रण नहुँदासम्मका लागि दुइटा आरती रोकेर बाकी एउटा सानो आरती मात्रै गर्न थालेको पौडेलले बताए । उनले भने,  ‘अखण्ड आरती रोक्न नमिल्ने भएको अनवरत ५ जनाको टीमले आरतीलाई निरन्तरता दिन्छौँ । भक्तजनलाई समेत सरकारको अर्को निर्देशन नआउन्जेल उपस्थितिको लागि समितिले रोक लगाएको छ । यसलाई अपनाइदिनुहुन समस्त हिन्दू धर्मावलम्बी भक्तजनमा अनुरोध गर्दछु ।’

प्रकाशित मिति: : 2020-03-25 07:29:00

प्रतिकृया दिनुहोस्