बिहिबार, १० सेप्टेम्बर २०२६

भिरको काखमा बस्ती (फोटो फिचर)

News Image
• • •

भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड। यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ।

भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ। तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ। पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ।

जाजरकोटतर्फका औलगुत्ता र बाँइकाँडा तथा रुकुम पश्चिमतर्फका दामाचौर, मुलातरा लगायतका बस्ती भिरालो भूभागमा छन्। कतै पहाडको फेदीमा घर छन, कतै भीरमाथि बस्ती छन्। माथिबाट पहिरो खस्ने र तलबाट खोलाको जोखिम रहने भएकाले वर्षा सुरु भएसँगै यहाँका बासिन्दाको चिन्ता बढ्छ।

भूगोल रुकुम पश्चिमको भए पनि कतिपय क्षेत्रमा जाजरकोटका मानिसहरूको समेत बसोबास छ। बस्नका लागि सुरक्षित जमिनको अभाव र पुरानो बसोबासका कारण जोखिमबीच पनि मानिसहरू यही भूगोलसँग जोडिएका छन्।

एकातिर भिरालो जमिनमा रहेका घरहरू, अर्कोतिर पुलविहीन खोला र पहिरोको जोखिम– भेरी करिडोर आसपासका यी बस्तीमा विकासको आवश्यकता र भौगोलिक जोखिम सँगसँगै देखिन्छ। यहाँका बस्तीलाई हेर्दा प्रश्न एउटै उठ्छ– जोखिमबीच बसिरहेको यो जीवन कहिलेसम्म यसरी नै चलिरहन सक्ला?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!