धादिङका कोरोना संक्रमित युवा दुबईबाट फर्किएर हाेटल बसेकाे खुलासा

धादिङ घर भएका ३२ वर्षीय कोरोना संक्रमित युवा केही वर्ष पहिला कामको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई गएको बताइएको छ। गत मार्चको १९ तारेखमा उनी एअर अरबियाको सारजहा एअरपोर्टबाट नेपाल फर्किएका थिए। नेपाल फर्किएको केही दिन उनी काठमाडौंमै एउटा होटलमा बसेका थिए। उनी होटलमा कतिदिन बसे अथवा उनी गाउँपुगे पुगेनन् भन्ने विषयमा विस्तृत विवरण भने आउन सकेको छैन । 

त्यसको केही दिनपछि ज्वरो आउने र खोकी लाग्ने भएपछि गत सोमवार २३ तारेखमा उनी टेकु अस्पताल पुगेका हुन्। अहिले उनको ज्वरो नियन्त्रणमा आएपनि खोकी भने कम भएको छैन।  

कोरोनाको लक्षण देखिएपछि उनको स्वाब परीक्षण भएको थियो। परीक्षणको रिपोर्ट बुधबार आएको हो । उनी काठमाडौं आउदा हवाइजहाजमा उनको वरिपरी भएका मानिसको ट्रेस गर्ने काम भइरहेको छ । 

‘प्लेनमा उनको वरिपरि बस्ने मानिसलाई तत्काल सम्पर्कमा ल्याउन नसके उनीहरूबाट धेरैमा संक्रमण फैलिन सक्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले बिएल नेपाली सेवासँग भने, ‘मन्त्रालयले द्रुत गतिमा ति मानिसको खोजी गरिरहेको छ ।’ 

काठमाडौं फर्किएपछि उनी साथीसँग केही दिन बसेको खुल्न आएको छ । उनीसँगै  बसेका साथीलाई ट्रेस गरेर सम्पर्कमा ल्याइएको र बिहीबार टेकु अस्पतालमा आइपुग्ने उनले बताए । 

स‌ंक्रमित १९ वर्षीया युवतिको अवस्था भने समान्य रहेको प्रवक्ता देवकोटाले बताए। उनको परिवार यतिबेला ‘सेल्फ आईसोलेसन’ मा बसेका छन्। ‘उनीहरुमा लक्षण देखिएमा मात्र कोरोना परीक्षण गरिने छ,’ देवकोटाले बताए। 
 

प्रकाशित मिति: : 2020-03-26 18:15:00

प्रतिकृया दिनुहोस्