अमेरिकामा 'आइसोलेसन' र 'सोसल डिस्टान्सिङ'ले काम गर्दै, न्युयोर्कमा पनि लाग्यो लगाम

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा आइसोलेसन र सोसल डिस्टान्सिङ कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने महत्वपूर्ण उपाय हुन् भन्ने प्रमाणित हुदै गएको छ। त्यसको ज्वलन्त प्रमाण अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर मानिएको न्युयोर्क शहरमा देखिएको छ।

आइसोलेसन र सोसल डिस्टान्सिङ अपनाएकै कारण न्युयोर्क सहरका दैनिक चारगुणाको दरले बढ्दै गएको कोरोना भाइरस संक्रमणमा केही लगाम लागेको छ।

गत सोमवारसम्म कोरोना भाइरसका कारण अस्पताल भर्ना हुने दर ३,४ दिनमा दोब्बर देखिएको थियो भने मंगलबारसम्मको आकडा हेर्दा यसमा कमी हुदै गएको छ । सोमबारसम्मको परीक्षणमा न्युयोर्कमा ५ हजार ७ सय ७ संक्रमित भेटिएका थिए ।  मंगलबारको परीक्षणमा जम्मा ४ हजार ७ सय ९० संक्रमित पाइएका छन् । यो संख्या यो हप्ताभरीकै सबैभन्दा कम संक्रमित संख्या हो।

न्युयोर्क शहरमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आव्हान गरेसँगै मानिसहरु घरभित्रै बस्न थालेका छन्।  अत्यावश्यक काम परेर बाहिर निस्कनु परेमा पनि मास्क पन्जा लगाएर जाने र ३ फिटको दुरीमा बस्ने नीति अपनाईएको छ। यसले अमेरिकामा कोरोनाको हब बन्दै गएको न्युयोर्कमा संक्रमितको संख्यामा कमी आएको हो ।

हालसम्म न्युयोर्कमा ३० हजार संक्रमित भएकोमा १२ प्रतिशत् अस्पतालमा उपचर गराइरहेका छन् । तीमध्ये तीन प्रतिशत् आईसीयुमा छन् भने २ सय ८५ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति: : 2020-03-26 16:19:55

प्रतिकृया दिनुहोस्