धर्मेन्द्र झा
पछिल्ला दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख छ । वर्तमानमा यो महापर्व विश्वमा जहाँकहीँ पनि भैथिली र भोजपुरीभाषी छन्, त्यहाँ मनाइने गरिएको छ । मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृतिपूजनसँग सम्बद्ध छ । यस पर्वका माध्यमबाट प्रकृति जो जीवनदायिनी हो, जीवन सञ्चालक हो, प्रति आभार व्यक्त गर्ने गरिन्छ भन्दा अस्वाभाविक हुँदैन । यतिमात्र होइन सूर्य, जसलाई प्रत्यक्ष जाग्रत देवताका रुपमा स्वीकार गरिन्छ, उनको अनुपस्थितिमा यस जगत्को सञ्चालन सम्भव छैन, का प्रति पनि मानवले अनुग्रह भाव प्रदर्शित गर्ने पर्व हो छठ । यतिमात्र होइन छठले प्रदूषण नियन्त्रण र वातावरण संरक्षणको पनि सन्देश दिने गरेको छ ।
सूर्यको उपासना त विश्वका धेरै देश र धेरै संस्कृतिमा हुने गरेको छ तर अस्ताउँदो सूर्यको उपासना हुने सांस्कृतिक पर्व सम्भवतः छठमात्र हो । यस्तोमा उदाउँदो शक्तिको उपासनामात्र होइन बरु विगतको शक्ति जसका कारणले यो सृष्टि आजको अवस्थासम्म आइपुगेको छ तिनका प्रति अर्थात् अस्ताँदो शक्तिप्रति पनि आदर सत्कारको भाव प्रकट गर्ने पर्व हो यो । यो पर्वको केन्द्रीय पूजनीय तत्व नै सूर्य हुन् । सूर्यलाई शक्ति मानिन्छ । यस आधारमा यो पर्व शक्ति पर्व पनि हो । सूर्य ऊर्जाकेन्द्र हो । यसै ऊर्जाले प्रकृति—सृष्टि सञ्चालित छ । ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्दैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रुपमा पनि छठ पर्वको महत्व छ ।
धेर्रैको जिज्ञासा हुन सक्छ, पूजा सूर्यदेवको अनि सम्बोधन भने छठी माता । यससम्बन्धमा के विश्लेषण गर्न सकिन्छ भने छठिलाई प्रकृतिको प्रतीकका रुपमा स्वीकार गरिएको छ । यो पर्व षष्ठी तिथिमा मनाइने भएका कारणले पनि कालान्तरमा यो पर्व षष्ठीबाट अप्रभंश हुँदै छठिमा रुपान्तरित भएको हुन सक्छ । यसरी विश्लेषण गर्दा षष्ठी, छठि र प्रकृति एक अर्काका पर्याय बन्न गए र यी तिनै शव्द स्त्रीलिंगीका रुपमा स्वीकार गरिँदा जनमानसमा देवीको स्वरूप निर्माण भएको हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । एउटा अर्का मान्यताको पनि कुरा गर्ने गरिएको छ । छठिलाई भगवान व्रम्हाको मानसपुत्री पनि भन्ने गरिएको छ ।
मान्यता अर्को पनि छ, सूर्यकी दुई पत्नी उषा र सन्ध्या छन भन्ने मानिन्छ । माथि पनि चर्चा गरियो एक किसिमले यस पर्वको केन्द्रिय आधार सूर्य हुन् । यस पर्वका उपासक र अनुयायीको प्रत्येक प्रयत्न सूर्यलाई खुसी पार्नुतर्फ केन्द्रित हुन्छ । सूर्यलाई कसरी खुसी पार्ने त ? उनका पत्नीहरुलाई खुसी बनाउँदा सूर्यदेव स्वतः खुसी हुन्छन् भन्ने मान्यता पनि समाजमा विद्यमान छ । यस आधारमा अस्ताउँदो सूर्यलाई पूजा गर्नुको अर्थ सन्ध्याको पूजा गर्नु र उदाउँदो सूर्यलाई पूजा गर्नुको अर्थ उषालाई पूजा गर्नु हो भनेर पनि बुझ्ने गरिन्छ । समाजमा यस्ता अनेक मान्यता हुन सक्छन् । विश्लेषण आआफ्रनै हुन सक्छन् । ती सबैको चर्चा गर्नु अहिले यहाँ जरुरी छैन । सत्य केमात्र हो भने छठ पर्व अत्यन्त श्रद्धा, भक्ति, समर्पण, उत्साहका साथ मनाइन्छ र यो पर्व चार दिनमा सम्पन्न गरिन्छ ।
प्रत्येक वर्ष शुक्ल षष्ठी (प्रदोस षष्ठी)को साँझ र सप्तमाीको विहान सूर्यलाई अघर््य दिई मनाइने यो पर्व चार दिने अनुष्ठान हो । सदा झै यस वर्ष पनि यो पर्व प्रारम्भ भइसकेको छ । शुक्रवार (कात्र्तिक २७) नुहाइ धुवाई अर्थात् शुद्ध हुने क्रमबाट प्रारम्भ हुने यो पर्वअन्तर्गत शनिवार खरना अर्थात् व्रतालुद्वारा व्रतको औपचारिक प्रारम्भ हुनेछ । आइतवार (२९ गते) सूर्यदेवलाई साँझको अघर्र््य अर्पण गरिँदैछ भने सोमवार उदाउँदो सूर्यलाई अघर््य अर्पण गरी पारनको आयोजनापश्चात पर्व समापन हुनेछ ।
माथि पनि चर्चा गरियो, महपर्व छठ पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको भइसकेको छ । आज यो पर्व अमेरिका, अस्ट्रेलिया, वेलायत र युरोपका विभिन्न देशमा समेत मनाउने गरिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व आज एउटा खास भूगोलमा मात्र सीमित रहेको पाइँदैन । विगतमा विभिन्न दायित्व, पेशा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली÷भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यो पर्वलाई राष्ट्रिय महत्वको बनाउन भूमिका निर्वाह गरे । पछिल्लो दिनमा यो पर्व, पूर्वी पहाडको पाँचथर, ताप्लेजुंगदेखि पश्चिमको कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा समेत मनाउने गरिएको पाइएको छ ।
देशको राजधानी काठमाडौलगायत उपत्यकाका विभिन्न तलाउ—पोखरीमा भव्यतापूर्वक मनाउन थालिएको निकै वर्ष भइसक्यो । २०२०—३०को दशकतिर उपत्यकाको कीतिपुर, वल्खु, कालिमाटी, कुलेश्वर क्षेत्रमा सामान्य ढंगले मनाउने गरिएको यो पर्व पछिल्ला वर्षमा पुरै उपत्यकामा विस्तार हुन पुगेबाट यो पर्वप्रतिको स्वीकृति र यसको सांस्कृतिक एकीकरणको क्षमता स्वतः स्पष्ट हुन आउँछ । र, यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्वपूर्ण प्रतीक बन्न पुगेको छ भन्दा असान्दर्भिक हुँदैन ।
यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो त्यसको यकिन छैन । यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृतिपूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ । यो पर्व जलाशाय, नदी, पोखरी, ताल तलैयालगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ । पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाईमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाईको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, वोटसमेतको वेशार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ । अर्थात सारमा प्रकृ।ति र वातावरण संरुक्षणको सन्देश प्रवाह गर्नु यस पर्वको मूल अभीष्ट हो भनेर मान्न सकिन्छ ।
मूलतः नेपालको मध्य तथा पुर्वी तराई—मधेशमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने गरिन्छ । यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता र सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ । छठ पूजाघाटको उपस्थिति विश्लेषणले पनि यो पुष्टि गर्दछ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन । छठ घाटमा मधेशीमात्र उपस्थित हुँदैनन । हिन्दूमात्र पनि उपस्थित हुँदैनन । सम्पन्न, धनी र हुनेखानेमात्र सहभागी हुँदैनन । जातपातका आधारमा छुवाछुत देखिँदैन । छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून, अर्थात छठ पर्वको सन्देश हो—सर्वजन हिताय सर्वजन सुखाय ।
संक्षेपमा यस पर्वको सन्देशलाई वुँदागतरुपमा यसरी पनि बुझ्न सकिन्छ,–
-यो सामाजिक एकताको पर्व हो । यसले कुनै पनि नाममा कसैलाई पनि निषेध गर्दैन ।
-यस पर्वले कुनै पनि धर्म, भाषा, समुदाय, जात–जाती, छूत–अछूतका आधारमा कसैलाई वर्जित गर्दैन । भेदभाव गर्दैन ।
-छठले सबैलाई समेटेर सार्थक समाज निर्माणको सन्देश प्रदान गरेको छ ।
-समाजमा सबैको अस्तित्व, महत्व र सहभागितालाई यस पर्वले स्वीकार गरेको छ । समाजका कथित सबैभन्दा निम्न वर्गले तयार गरेको सामग्री छठमा प्रयोग हुनु र त्यसैबाट सूर्यदेवलाई अघर््य प्रदान गरिनु यसैको उदाहरण हो ।
-यस पर्वले परिवार र समाजको मातृसत्तात्मक अवधारणाको पक्षमा वकालत गरेको छ । छठ पर्व सम्पादनसम्बन्धी प्रत्येक निर्णय घरमूली महिलाबाटै हुने गरेको छ । सूर्यलाई अघर््य पनि घरमुली महिलाबाट अर्पण गर्ने गरिन्छ ।
-यसले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन् ।
-यस पर्वले पर्यावरणको सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणीजगतका लागि आवश्यक छ । प्रकृतिप्रति आदरभावको उद्देश्य पर्यावरणको संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्नु हो ।
-प्रकृति सबैको हो । यो सामूहिक सम्पदा हो । यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट वञ्चित गरिनु हुँदैन भन्ने सन्देश पनि यस पर्वको हो ।
-जल जीवन हो भन्ने महत्वपूर्ण सन्देश यस पर्वले दिएको छ ।
-विहान र वेलुकाको सूर्यकोृ किरण मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने सन्देश पनि यस पर्वमा निहीत छ ।
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया