बज्रबाराही चापागाउँ अस्पतालमा आइशोलेसन वार्ड तयार

रासस

ललितपुर

गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा १० श्ययाको आइशोलेसन वार्ड तयार गरिएको छ।

 नगरपालिकाले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी उक्त आइशोलेसन वार्ड तयार गरेको हो। कोरोनाबाट सावधानी अपनाउन सो आइशोलेसन वाड तयारी गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए।

कोभिड–१९ का कारण गोदावरीमा आपतकालीन अवस्था देखिए पाँचदेखि १० श्या आइसोलेसनका लागि तत्काल दिने तयार भइरहेको तर हालसम्म यसको सङ्क्रमण नभेटिएकाले कृष्ठरोगीको स्वास्थ्यलाई ध्यानमा राखी आइशोलेसन वार्डको व्यवस्था नगरिएको वडा नं ६ मा सञ्चालित आनन्दवन अस्पतालका निमित्त मेडिकल निर्देशक डा महेश शाहले बताए।

उनले भने, 'परेमा हामीसँग दिनमिल्ने कोठा छन् तर आजसम्म हामीले आइशोलेसन वाड तयार नै गरिसकेका भने छैनौँ।'

विदेशबाट फर्केकालाई क्वारेन्टाइनमा बस्न आग्रह

नगरपालिकाले यही चैत १ गतेदेखि विदेशबाट स्वदेश फर्केका हरेक नगरवासीलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। 

विदेशबाट फर्केका कोही नागरिक क्वारेन्टाइनमा नबसी अटेर भइ हिँडेमा सम्बन्धित वडा कार्यालय, नगरपालिकाको कार्यालय र प्रहरी कार्यालय टोलीले पक्राउ गरी क्वारेन्टाइनमा राखी कारवाही गरिने नगरपालिकाले जानकारी गराएको छ। 

प्रकाशित मिति: : 2020-03-27 09:16:30

प्रतिकृया दिनुहोस्