भारतबाट आएकाहरू आफ्नै घरको निगरानीमा

रासस

दैलेख

कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने आशङ्कामा अहिले सबै पालिकाले भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिको खोजी शुरु गरेका छन्। 

 भेटिएका सबैलाई आफ्नै घरमा सुरक्षित बस्न आग्रह गर्दै पायक पर्ने स्वास्थ्यकर्मीको निगरानीमा राखिएको भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए।

 अहिलेसम्म नारायण नगरपालिकामा १२५, भगवतीमाई गाउँपालिकामा ३५,  डुङ्गेश्वर गाउँपालिकामा ५०, आठबीस नगरपालिकामा १५०जना भारतबाट आएकाहरुको पहिचान भइसकेको र सबैलाई घरमै निगरानीमा राखिएको छ।  

दैलेखका तीन लाख जनसङ्ख्यामध्ये धेरैजसो मानिस कामको खोजीमा भारत जानुपर्ने बाध्यता छ। विशेष गरेर चैतेदशैँ मनाउन पनि जिल्ला फर्कने चलन छ।
 
दैलेखमा ११ स्थानीय सरकारमध्ये गुराँस र नौमूले गाउँपालिकामा दुई आइआर थर्मोमिटर छन् । अन्य कुनै पनि स्थानमा आइआर थर्मोमिटर नभएका कारण ज्वरो आएका र लक्षण देखिएका बिरामीलाई जाँच गर्न स्वास्थ्यकर्मीले नमानेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निरञ्जन पन्थले बताए। 

उनले स्वास्थ्य कार्यालयमै पुग्नेलाई भने अर्को विधिबाट  जाँच गरिएको छ।  सङ्क्रमणकोे आशङ्का लागेर क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएकाहरुको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षित कपडा नभएपछि दैलेख स्वास्थ्य कार्यालयले २५ थान पिपिई आफैँ तयार गरेर स्वास्थ्य जाँच शुरु गरेको छ। 

केही मात्रामा पञ्जा आए पनि अन्य पोशाक नआएका कारण आफैँले  तयार गरेको डा पन्थले जानकारी दिए। दैलेखका ११ स्थानीय तहमा करीब पाँच सय थान पिपिई  जरुरी रहेको स्वास्थ्य कार्यालयले जनाएको  छ।

सदरमुकामको नारायण क्याम्पसमा क्वारेन्टाइन निर्माण थालिएको भएपनि यसको पुर्ण व्यस्थापन अझै हुन सकेको छैन। स्वास्थ्य कार्यालयमा नौ  आइसुलेशन शय्या र  तीन  हाइ केयर युनिट भने तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य कार्यालयले ज्वरो नाप्ने छुट्टै कक्ष निर्माण गरेको छ। 

जिल्ला प्रहरी कार्यालय दैलेखमा १५ , इन्द्रदल गुल्ममा आठ र  सशस्त्र प्रहरी बल गुल्ममा दुई कक्ष निर्माण भइसकेका छन्। विभिन्न पालिकामा पनि तीव्र रुपमा क्वारेन्टाइन निर्माण थालिएको छ। 

प्रकाशित मिति: : 2020-03-28 06:19:00

प्रतिकृया दिनुहोस्