कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशाेरको पोर्चुगलमा निधन

कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टाेस गाेडिन्हाेकाे पोर्चुगलमा ज्यान गएको छ। 

दक्षिणी पाेर्टाेकाे ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। 

उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएकाे बताइन्छ। पाेर्चुगाली फुटबल संघले पनि उनकाे निधनमा संवेदना जनाएकाे छ। ओभरका मेयर साल्भाडोर माल्हिरोले बताएअनुसार भिक्टरलाई कोरोना भाइरस भएको पहिले थाहा थिएन। तर, जब अस्पताल भर्ना गरियो र चेकजाँचपछि उनलाई कोरोनाको संक्रमण भएको पत्ता लाग्यो। 

‘उनीमा पहिलेदेखि स्वास्थ्य समस्या थियो,’ मेयर साल्भाडोरले भने। हाल पोर्चुगलमा १ सय १९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् र ७ सय ९२ जनामा संक्रमण देखिएको छ। 

पोर्चुगलमा सबैभन्दा प्रभावित क्षेत्र उत्तर तथा लिस्बन शहर मानिन्छ। तर, विस्तारै चारैतिर संक्रमण सर्दै गइरहेको छ। अहिले अल्ग्रेभमा १ सय ८ संक्रमणका घटना देखिएका छन्। यहाँ २ जनाको निधन भइसकेको छ। हाल ५ हजार ५ सय जनामा संक्रमणको नमुना परीक्षण भइरहेको छ। ४ सय ८६ जना पूर्णलाभ गरेर घर फर्किसकेको अवस्था छ, जसमा १ सय ३८ जनालाई ‘इन्टेन्सिभ केयर’ मा राखेर उपचार गराइएको थियो।

प्रकाशित मिति: : 2020-03-30 08:20:34

प्रतिकृया दिनुहोस्