शनिबार, ०३ अक्टोबर २०२६

उच्च अदालतको परमादेशपछि रास्वपा सांसदविरुद्ध मुद्धा दर्ता

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद चन्दनकुमार सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्धा दर्ता भएको छ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको परमादेशपछि सांसद सिंहमाथि गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय बारामा मुद्धा दर्ता भएको हो।

बाराकै देवताल गाउँपालिका– ५ बस्ने ३१ वर्षीय गनपतकुमार महतोको जाहेरीले सांसद सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहार मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका एसपी नरेन्द्र कुँवरका अनुसार अदालतको परमादेशपछि सिंहमाथि मुद्धा दर्ता भएर अनुसन्धान सुरु भए पनि पक्राउपुर्जी भने जारी भएको छैन।

जाहेरीमा दाबी गरिएअनुसार बाराको देवताल गाउँपालिकामा सुपरभाइजर पदमा कार्यरत महतोले समाजमा भएका गलत गतिविधिलाई विरोध गरेकै कारण २०८१ सालको कात्तिक २७ गते सिंहले अरु व्यक्तिहरूबाट महतोलाई सामाजिक बहिष्कार गर्ने निर्णय गराएका थिए।

जाहेरीमा सांसद सिंहसँगै रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पसवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोलाई पनि विपक्षी बनाइएको छ।

उनले जाहेरीमा जाहेरीमा आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने, अपमानित गर्ने तथा गाउँघरमा आफ्नो चरित्र र व्यक्तित्वमा आँच आउने गरी प्रचार–प्रसार गर्ने काम भएको आरोप लगाएका छन्।

गाउँघरमा हुने विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा आफू तथा आफ्नो परिवारका सदस्यलाई सहभागी हुन नदिने, सार्वजनिक स्थान तथा धार्मिक स्थलमा समेत बहिष्कार गर्न लगाउने, आफूलाई अपमानजनक व्यवहार गर्ने र गाउँघरमा आफूविरुद्ध विभिन्न किसिमका कुरा प्रचार–प्रसार गर्ने गरिएको महतोले दायर गरेको जाहेरीमा उल्लेख छ।

सिंहलगायतले आफूलाई ‘ठूलोबडा’ व्यक्ति भन्दै गाउँघरका दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका मानिसलाई पैसा तथा अन्य प्रलोभन दिएर आफ्नो विरोधमा प्रयोग गरेको महतोको आरोप छ।

आफू र परिवारका सदस्यले गाउँघर तथा समाजमा अपहेलना र अपमानको सामना गर्नुपरेको भन्दै उनले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!