गायिका कनिका कपूरको पाँचौँ काेराेना परीक्षण पनि ‘पोजेटिभ’

बलिउडकी गायिका कनिका कपूर यतिबेला कोरोना भाइरससँग लड्दै छिन्। ९ मार्चमा लन्डनबाट फर्किएकी कनिकालाई एयरपोर्टमा ‘थर्मल स्क्रीनिंग’ गर्दा कोरोनको संक्रमण देखा परेको थिएन।

लण्डनबाट फर्किएको केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो बीचमा उनले लखनऊमा कलाकारहरुको दुई(तीन ठूला पार्टीहरूमा रूपमा भाग लिएकी थिइन् जसमा ठूलो संख्यामा व्यक्तिहरू उपस्थित थिए।

तर पछि अचानक उनले  सामाजिक संजालमा आफू कोरोनाबाट संक्रमित भएको जानकारी दिएकी थिइन्।

मंगलबार कनिकाको पाँचौँ परीक्षण पनि पोजेटिभ आएको छ। ११ दिनदेखि उत्तर प्रदेशको राजधानी लखनऊमा रहेको पीजीआई अस्पतालमा उपचाररत उनको पाँचौँ पटकको परीक्षणमा पनि कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाएको छ। पीजीआई अस्पतालका निर्देशक आरके धिमानका अनुसार कनिकालाई कोरोनाका गम्भीर लक्षणहरु देखिएका छैनन् भने उनको अवस्था सामान्य रहेको छ।

निर्देशक धिमानका अनुसार उनी सामान्य रुपमा खाना खाइरहेकी छिन्। उनको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएको छ।

उनीहरुले चार–चार घण्टाको सिफ्टमा काम गरिरहेका बिबिसी हिन्दीले जनाएको छ। 

कोरोनाको संक्रमण देखिएपछि उनलाई मार्च २० मा अस्पताल भर्ना गरिएको थियो। विदेशबाट आएर केही दिन क्वारेन्टाइनमा बस्नुपर्नेमा त्यसलाई वेवास्ता गरेको भन्दै भारतमा उनको चर्को आलोचना भएको थियो।

प्रकाशित मिति: : 2020-04-01 08:07:39

प्रतिकृया दिनुहोस्