क्वारेन्टाइनमा हामी कसरी सुरक्षित बस्ने?

कोरोना भाईरस संक्रमण (कोभिड–१९) को महामारी रोकथामका लागि सबैभन्दा महत्वपूर्ण उपाय नै क्वारेन्टाइन हाे। आजको दिनसम्म करिब नौ हजार बढिलाई देशको विभिन्न स्थानमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएको छ भने बाँकी हामी आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ बसेका छौं।

हालको परिस्थिमा बिहान उठेदेखि बेलुका नसुतेसम्म हामी कोरोनाकाे महामारीकै विषयमा चाहेर वा नचाहेर भए पनि चर्चा गरिरहेका हुन्छौं। क्वारेन्टाइनमा हाम्रो बसाइँ कत्तिको सुरक्षित छ, त्याे भने विचारणीय विषय हो। 

अहिलेको आपतकालीन अवस्थामा ध्यान दिनुपर्ने तर कतै छुटिरहेको कुरा के छ भने, क्वारेन्टाइनलाई कोरना भाइरस महामारीको एउटा महत्वपूर्ण रोकथामको उपाय मानेर जताततै स्थापन गर्ने लहर चलिरहेको छ। तर के त्यहाँ गुणस्तरीय क्वारेन्टाइन स्थापना एवम् निर्देशिका बनएर सोही अनुसार संचालन गरिएको छ त? सबैभन्दा विचारणीय विषय नै यही हो।

पक्कै पनि हामी शंङ्कास्पद व्यक्तिलाई छुटै क्वारेन्टाइनमा राख्छौं र शंङ्कास्पद भन्ने बित्तिकै उक्त व्यक्तिमा कोरोना संक्रमण भएकाे निस्कर्ष निकाल्छाैं। हामीले विचार पुर्‍याउनु पर्ने अर्काे विषय भनेकाे संक्रमित व्यक्तिद्वारा क्वारेन्टाइनमा रहँदा दैनिक रुपमा निस्केको फोहरको व्यवस्थापन कसरी भइरहेको छ? कतै त्यही संक्रमित फोहरपछि संक्रमणको स्रोत त बन्ने होइन?

यस्तै छाँयामा परेको अर्काे विषय भनेकाे मानसिक स्वास्थ्य हाे। हामी कतिपय आफ्नो घरमा विभिन्न सुबिधा उपभोग गर्दै परिवारसँग बसिरहेका छौ। त्यही पनि बिचलित छौं। घर बाहिर क्वारेन्टाइनमा बसाेबास गर्ने व्यक्तिको मानसिक स्वास्थ्यको बारेमा कसले सोचिदिने? जसले केही सोचिरहेको छ, उसले केही गर्न सकिरहेको छैन। र जसले केही गर्न सक्छ. उसले यहाँसम्म सोच्नै भ्याएको छैन।

क्वारेन्टाइनमा रहँदा ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण विषय हाे, पोषण। घरमै रहँदा वा अन्य स्थानमा क्वारेन्टाइनमा रहँदा कत्तिको महत्व पाइरहेको छ त पोषणले? एक पटक यसको बारेमा पनि सोच्ने हो कि?

 विश्व स्वास्थ्य संगठनले हालै नयाँ निर्देशिका जारी गरेको छ। जसमा क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने, कति र कसरी खाने लगायत विषय उल्लेख छ। जसको पालना गर्दा क्वारेन्टाइनमा रहेका हरेकलाई स्वस्थ रहन मद्धत गर्नेछ। तर हामीमध्ये कति यसको बारेमा जानकार छौ र कतिले यसको अनुसरण गरेका छौ? याे पनि मनन् गर्ने विषय हाे।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत २० मा सार्वजनिक प्रतिवेदनअनुसार सातै प्रदेशमा गरि जम्मा २४ हजार ६ सय ३९ क्वारेन्टाइन बेड स्थापना गरिएको छ। यसमा चैत १९ सम्म ८ हजार ५ सय ५ लाई क्वारेन्टाइनमा राखिएको जानकारी आएकाे छ। यि सबै स्थानमा सरकार नपुग्न पनि सक्छ किनकि सरकारलाई अहिलेको अवस्थामा स्वास्थ्यकर्मीका लागि सुरक्षाका उपकरण र औषधीको व्यवस्थापन गर्नै भ्याईनभ्याई छ।यस्तो अवस्थामा हामी राष्ट्र सेवक र आम जन समुदायको पनि केही महत्वपूर्ण भुमिका रहेको हुन्छ।

पहिलो कुरा क्वारेन्टाइन हाम्रौ लागि हो भन्ने बुझ्न जरुरी छ। यो कुनै सजाय नभएर कोरोना महामारी रोकथामको महत्वपूर्ण उपाय हो। यसले परिवारका सदस्य एवम् समुदायमा रोग फैलनबाट रोक्न मद्धत गर्दछ। त्यसैले यो उपायलाई प्रभावकारी बनाउन हामी आफू पनि रचनात्मक तरीकाले प्रस्तुत हुन जरुरी छ।

कमजोरी देखाएर खोट मात्र लगाउनेभन्दा पनि आफ्नो दायित्व वहन गर्ने समय पनि हो यो। सरकारले केहि गर्न सकेन भनेर आरोप लाउनु मात्रभन्दा सरकारले गरेका निर्णयहरु पालना गर्दै सुरक्षित बसेका छौ कि छैन एकचोटी त्यता पनि विचार गर्नु जरुरी छ। समाचारमा पनि क्वारेन्टाइनमा राख्न खोज्दा आत्महत्याको प्रयास, क्वारेन्टाइनबाट भाग्ने प्रयास जस्ता समाचार बन्द गर्ने हो कि?

अन्त्यमा, एक जनाको प्रयासले मात्र यो महामारी रोक्न गाह्राे छ। यसकाे उल्टाे बरु एक जनामात्रले महामारी निम्त्याउन सक्छ। याे कुरालाई सबैले राम्रोसँग मनन् गर्नु जरुरी छ। सरकारलाई मात्र दोष दिने र स्वास्थ्यकर्मीको मनोवल घटाउने काम बन्द गरौ। आफू सुरक्षित रहनु एकदमै राम्रो कुरा हाे।

यसैले कोरोना भाइरस रोकथाम तथा सुरक्षाका उपाय सबैले अपनाउनु पर्छ। ‘होम क्वारेन्टाइन’ होस् वा सरकारद्भारा निर्मित क्वारेन्टाइन जहाँ भए पनि सुरक्षित भएर बसौ। कोहि महामारीको कारण नबनाेस्। बरु क्वारेन्टाइनको कथा सफल बन्न सकोस्।

लेखक: एमपीएच अध्यनरत विधार्थी हुन्।
 

प्रकाशित मिति: : 2020-04-06 16:00:00

प्रतिकृया दिनुहोस्