रेमिट्यान्सकै लागि मात्र हुन् सीमाका नेपाली ?

रेमिट्यान्सकै लागि मात्र हुन् सीमाका नेपाली ?

हामी नेपाली कति सहिष्णु छौं र उदार पनि। यो त बाउबाजेको पालादेखि भन्दै अनि भोग्दै आएको कुरा हो। गरिबै भए पनि हामीले पूर्खाको थलोभनेर शरण माग्दै आएका लाखौं भुटानी दाजुभाईलाई गक्षले भ्याएसम्म आश्रय दिएकै हाे। म्यानमारदेखि लखेटिदै अनि लुक्दैभाग्दै आएका रोहिङ्ग्यालाई पनि शरण दिएर मरणबाट जोगाएको छ, हाम्रो मातृभुमी नेपालले। 

खाडी मुलुकमा कसैले हत्याको आरोप लगाउँदा या परिबन्दमा अपराधी घोषित हाम्रो दाजुभाईलाई मृत्युदण्डको सजाय सुनाइन्छ तर चार्ल्स शाेभराज जस्ता कुख्यात अपराधीले पनि हाम्रो मातृभुमीमा मृत्यु कुर्नुपर्दैन बरु जेलमा नै उनले विवाह गर्ने अवसर पाउँछन्। 

यी माथीका प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता उदाहरण गन्दा लाग्छ, हाम्रो कानुन निकै उदार छ। यहाँ जनतालाई निकै अधिकार छ। बिडम्वना २०४६ पछि प्रजातन्त्र आयो। त्यसमा पनि पंचायती व्यवस्थाका जुका, उडुस, उपियाहरुले नै सरकार र सत्तामा हालीमुहाली गरे।

भ्रस्टाचार र रास्ट्रघाती सम्झौतामा सत्ता साटफेर गरे। फाइदा लिनेले लिए, नपाउने जंगल पसे। जब फाइदा लिने, लाभ लिने अवसर देखे सबै मिले–‘लौ प्रजातन्त्र होइन। गणतन्त्र चाहियो भन्दै।’ गणतन्त्र पनि ल्याए। अब गणतन्त्रमा पहिला चाख्न नपाएकाहरु राष्ट्रको ढुकुटीमा पौडी खेल्न थालेका छन्। 

यति बेला जनता रोग, भोक, गरिबीको कुचक्रमा फसेका छन्। नैराश्यता छाउन थालेकाे छ। अवसर शुन्य छ। रोजगारी दलीय कार्यकर्ताकाे भागबण्डामा सिमित भएकाे छ। विकासको नाममा गाउँघरमा विनास निम्तिएकाे छ। सदाचारको नाममा भ्रस्टाचार दिन दुईगुणा र रात चौगुणाकाे हिसाबले बढेको छ। तर जनतालाई राहत छैन। यस्तो विषम परिस्थितिमा जनताको अन्तिम विकल्प रोजीरोटीको लागि विदेशिन बाहेक अर्काे उपाय छैन।  

गरिबहरु न लाख तिरेर जहाजमा जान सक्छन्, न त १०–१५ हजार तिरेर पासपोर्ट नै बनाउन। बस् १०–१५ हजार कमाएर ल्याउनकै लागि छिमेकी देशमा कोही मजदुरी, कोही कोइला खानी, कोही बाटोघाटो बनाउने कामको लागि हजाराैं नेपाली राजमार्ग हुँदै सीमापारी भारत गएका छन्। केही कमाएर ल्याउँछन् भने कोही गुजारा मात्र टार्छन्। सिमानामा लुटिनेका कथा व्याथा कसलाई सुनाउनु? त्यही कमाएर ल्याएको पैसाले तिरोसम्म तिर्न नसक्ने कति छन् कति। यसरी उनीहरु विदेश जानु रहर होइन बाध्यता हो। 

ती निर्दोष र श्रमजिवि नेपालीलाई यो भवितव्य कोरोना आउला भन्ने के थाहा ? अनि सामान्य मोवाईल पनि नहुने। सञ्चार माध्यमबाट टाढा भएकालाई बाेर्डर बन्दको जानकारी हुने कुरै भएन। 

संसारमा आमा र मातृभूमी जस्तो प्यारो के होला र? सायद संसारमा नेपाली मात्र यति अभागी होलान्, जसलाई आफ्नो जन्मभूमी आउन यति मुस्किल परिरहेकाे छ र सिमानामा तड्पिरहेका छन्। उनीहरुको नियति यति बेला भारतकाे धार्चुला नाकामा त्रास र बिभेदकाे शिकार बनेकाे छ। 

कोरोनाको कारण भारतमा रोजीरोटीको लागि गएका कयौं नेपाली बेराेजगार भएका छन्। उनीहरुकाे लागि काम गर्ने ठाउँ बन्द भएकाे छ। बस्न सक्नेस्थिति पनि बनेन। बेराेजगार हुँदा कहाँबाट खर्च तिर्ने ? बरु आफ्नै देश फर्कने निर्णयका साथ कयौं दाजुभाई स्वदेश फर्किन बाध्य भए।

तर, जब उनीहरु सीमानजिक आए, आफ्नै देश र जन्मभूमी बिरानो भयो। सरकार यतिसम्म लाचार देखियाे, ती केही हजार नेपालीलाई बन्दोबस्त गर्नुको साटो उतै रोकिदियो। आफ्नो देशले आफ्नो नागरिकलाई अमानवीय व्यवहार गर्दा त्यो छिमेकी देशले के गर्ला झन् ? 

सीमामा रोकिएका नेपालीलाई देख्दा लाग्छ, उनीहरुले जघन्य अपराध गरेका छन्। राज्य नामको केही शाषकले गरिब हुनुकाे सजाय दिन खोजिरहेको छ। भारतीय सीमामा मात्र होइन, विश्वका धेरै देशमा नेपाली फसेका छन्। जो आफ्नो देश फर्कन चाहन्छन् तर सरकार उनीहरुलाई न आफ्नो देश ल्याउने ल्याकत राख्दछ, न त त्यही देशमा बस्ने व्यवस्था मिलाउनका लागि कुटनीतिक पहल चालिरहेको छ। यद्पि सरकारले भने दावी गर्न छाेडेकाे छैन। 

अब त यस्तो लाग्न थालिसक्यो, सरकारले उनीहरुबाट असुल्ने रेमिट्यान्स मात्र हो। अरु बेला त लौरो लगाउने हो। यो राज्यमा जन्मिएका हुनाले उनीहरुमाथि राज्यले जे गर्न पनि पाउँछ ? सायद ओलीराजमा यस्तै हुन्छ।

यता नेपाली जनता सीमामा अलपत्र पर्दा उता अमेरिकी नागरिक सरोज खनाललाई अमेरिकाले नेपालबाट आफ्नो नागरिक भनेर उद्दार गरेर लग्यो। सायद, यो कुरा सीमामा अलपत्र परेकाले सुने भने भन्लान्, सरोज खनाल जस्ता हजारौ नेपाली यहि कारण विदेशी नागरिकता लिन बाध्य छन्। सरोज खनाललाई अमेरीकाले उद्दार गरेर लग्यो। यो जस्तो ठूलो नैतिक झापड के होला र ? तर नैतिक शुन्य, लाज, घिन, शरम नभएकालाई यसले के नै फरक पर्ला र ?

कोरोनाको कारण सीमामा नेपाली अलपत्र छन्। तर यता गणतन्त्रका नेता मन्त्रीलाई भने चैते दसैंमा भदौरे भेलका वौरेठा छोप्ने अवसर प्राप्त भएको छ। कोरोनाविरुद्धको सामग्री चीनले हामी सहयोग गर्छाैं भन्दा कमिसनको चक्करमा उल्टो करौडौं भ्रस्टाचार गरेर नाटकीय ढंगबाट पद र पावरको दुरुपयोग गरेर सामग्री ल्याइयो। विडम्वना त्यो सामग्री पनि काम नलाग्ने निस्कियाे। 

देशको राष्ट्रिय ध्वजावाहक विमानमा पर्यटन मन्त्री साची बसिदिन्छन्। जहाज चीन उड्छ अनि करोडौं कमिसन गणतन्त्रे सरकारका टप–फाइभ नेतालाई आउँछ। लाग्दछ, भूकम्प, कोरोना, बाढीपहिरो आउनु गणतन्त्रका नेताका लागि ठूलो चाडपर्व आएसरह हाे। याे विपत्तिमा जनतालाई सास्ती भएकाे छ भने नेताहरु कमिसनकाे मस्तीमा छन्।
 

प्रकाशित मिति: Apr 08, 2020 09:09:18

प्रतिक्रिया दिनुहोस

सात दिन देखि सडकमा
  • दिलबहादुर छत्याल
सबै