सुदूरपश्चिममा कोरोनाविरूद्ध लड्न साढे ५४ करोड छुट्याएका छौं– अर्थमन्त्री बोहरा (भिडियाे)

सुदूरपश्चिम प्रदेशका अर्थ मन्त्री झपट बोहराले कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न पैसाको कुनै कमि नहुने बताएका छन्।

उनले बिएल नेपाली सेवासँग विशेष कुराकानी गर्दै सुदूरपश्चिमेली नागरिकलाई ढुक्क रहन आश्वस्त पारेका छन्। उनले कोरोनाविरूद्धको लडाईंमा सरकारलाई सहयोग गर्न स्थानीयवासीसँग अपील पनि गरेका छन्। कोरोनाविरूद्धको लडाईंलाई प्रभावशाली बनाउन मंगलबारदेखि पहाडी जिल्लामा सेनाको सहयोगमा स्वाब परीक्षणको नमुना संकलन गर्न हेलिकोप्टर पठाइएको जानकारी उनले दिए। 

‘कोरोनाविरूद्ध लड्न जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा साढे ११ करोड पठाइएको छ। गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा ३ करोड पठाइएको छ,’ उनले बिएल नेपाली सेवालाई बताए। उनले कोरोनाविरूद्धको लडाईंमा प्रदेशमा ४० करोडको कोष स्थापना गरिएको र राष्ट्रिय वाणिज्य बैकमा रहेको खातामा इच्छुकलाई दान गर्न पनि आव्हान गरेका छन्। 

कोरोनाविरूद्ध अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीको उच्च मूल्याकंन गरिनेसमेत उनले बताए। ‘सेती प्रादेशीक अस्पताललाई कोरोना उपचारको प्रमुख केन्द्र बनाएर ल्याब परीक्षण सुरु भइसकेको छ। अब पहाडमा बैतडी र डोटीमा ल्याब स्थापनाका लागि टेण्डर आव्हान भइसकेको छ,’ उनले भने। 

उनले प्रदेश सरकारसँग पैसाको कमि नभएको र परेको खण्डमा कोषमा एक अर्ब पनि थप्न सकिने बताए। भने, ‘यदी प्रदेशलाई आवश्यक परेमा विकाश खर्च रकमान्तर गरि पुरक बजेट ल्याउनसम्म प्रदेश सरकारपछि पर्ने छैन।’

उनले जनताको सुरक्षा नै अहिले राज्यको प्रमुख चिन्ताको विषय बनेको भन्दै सबैलाई सुरक्षित बस्न अनुरोधसमेत गरे।  
 

प्रकाशित मिति: : 2020-04-07 17:28:10

प्रतिकृया दिनुहोस्