कीर्तिपुरलाई खाद्यान्न सहयोग

रासस

कीर्तिपुर

कीर्तिपुर नगरपालिकालाई खाद्यान्न सहयोग भएको छ। नगरपालिकाको विपद् व्यवस्थापन शाखाका अनुसार नगरपालिकाभित्र सञ्चालित शिखर दीप बहुउद्देश्यीय सहकारी संस्थाले चामल, तेल तथा दाल सहयोग गरेको हो।
 
उक्त सहकारीका प्रबन्धक लीलानाथ गौतमले सोमबार शाखालाई रु डेढ लाखका सामानमा २५ किलोको ७० बोरा चामल, एक सय किलो बराबरको दाल र एक सय ५० लिटर बराबरको तेल हस्तान्तरण गरेको उपप्रमुख एवं प्रवक्ता सरस्वती रिजालले जानकारी दिइन्।

त्यस्तै नगरपालिकाले सुख्खा बन्दरगाह चोभारमा कार्यरत कामदारलाई खाद्यान्न सहयोग गरेको छ। प्रवक्ता रिजालका अनुसार चोभारमा कार्यरत सात कामदारलाई चामल, तेल, चिनी, चिउरा र दालमोठ दिइएको छ। त्यस्तै नगरपालिकामा रहेका महिला दुई छात्रावासलाई चामल, तेल र दाल सहयोग गरियो।

नगरपालिकाले नगरभित्रका दैनिक मजदूरी गर्ने कामदार तथा बाहिरी जिल्लाबाट आएका र विपन्न स्थानीयवासीलाई राहत वितरणको तयारी गरेको छ। नगरापालिकाका दशै वडाका चार हजार १६ घरपरिवारलाई बिहीबार रु २४ लाख बराबरको खाद्यान्न वितरण गर्ने तयारी गरेको छ। त्यस्तै नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष स्थापना गरेर रु ५० लाख  जम्मा गरिसकेको छ।

 चार हजारलाई राहत दिइने

 नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने, बाहिर जिल्लावाट आएका र नगरपालिकाभित्र रहेका विपन्न चार हजार घरपरिवारलाई राहत वितरण गर्ने भएको छ।

 कोभिड–१९ को सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका चार हजार १६ घरपरिवारलाई राहत वितरणको तयारी भएको नगरपालिकाले जनाएको छ।

दशै वडामा रहेका उक्त घरपरिवारमा १६ हजार ६४ जना रहेको नगरपालिकाका  उपप्रमुख रिजालले जानकारी दिए। 'हामीलाई वडावाट विवरण आउँदा नै संख्या थपिन सक्छ भन्ने जानकारी आएको छ, चैत २७ गतेसम्म राहत वितरण हुने घरपरिवारको संख्यामा वृद्धि हुन सक्छ', उनले भने।

सो सङ्ख्यामा ज्याला मजदूरी गर्ने, अन्य जिल्लाबाट आएका र स्थानीय विपन्न परिवारलाई मात्रै समावेश गरिएको प्रवक्ता रिजाल बताउछन्। 
उनका अनुसार विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई राहत वितरणमा समावेश नगरी छुट्टै व्यवस्थाको तयारी भएको छ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले गरेको लकडाउनका अवधिमा समस्यामा परेका नागरिकलाई नगरपालिकाले यही चैत २७ गतेदेखि राहत वितरण गरिने जनाएको छ।

राहत वितरणका लागि नगरपालिकाले साल्ट ट्रेडिङबाट रु २३ लाख ६३ हजार बराबरको खाद्यान्न लिइसकेको छ। नगरपालिकाले दिएको तथ्यांकअनुसार रु ३७ हजारको नुन, रु तीन लाख २० हजारको तेल, रु १५ लाख ३० हजारकोे चामल, रु तीन लाख ३० हजारको दाल र रु एक लाख ४६ हजारको चिनी खरीद गरिएको छ।

नगरपालिकाले परिवार संख्याका आधारमा राहत वितरणको तयारी गरेको छ। प्रवक्ता रिजालका अनुसार एक जनालाई एक साता पुग्ने अनुमान गरी तीन किलो चामल र परिवार संख्याका आधारमा तेलचिनीलगायत खाद्य पदार्थ वितरण गरिने छ। 

प्रकाशित मिति: : 2020-04-07 18:18:25

प्रतिकृया दिनुहोस्