कोरोना कहर : तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात 

नेपालमा तीन महिनादेखि बन्द तातोपानी नाकाबाट सामग्री भित्रिएको छ।

कोभिड –१९ सम्बन्धी स्वास्थ्य सामग्री १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर चीनको खासाबाट बुधबार अपराह्न नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

ती सामान पहिले नै चीनको खासामा आएर रोकिएको थियो। अत्यावश्यक सामान विशेष सतर्कता अपनाई चीनबाट झिकाउन पाउनुपर्छ भन्ने मान्यता राखी सबै पक्षसँग समन्वय गरिएकाले अन्य सामान पनि आयात हुने  गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

झिकाइएका सामान र भन्सार क्षेत्रमा कीटनाशक औषधि छर्कनाका साथै संक्रमणबाट जोगिन विशेष सतर्कता अपनाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताए।

माघ १५ गते नाकामा स्वास्थ्य सहायता कक्ष राखिए पनि भरपर्दो नभएको भनी जनगुनासो बढेपछि भोटेकोशी गाउँपालिकाले विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त सामान उपलब्ध गराएको थियो।

अध्यक्ष पौडेलका अनुसार हाल एक  चिकित्सकसहित तीन  स्वास्थ्यकर्मी रहने गरी कक्ष सञ्चालनमा ल्याइएको छ। चीनको हुबेई प्रान्तको वुहान शहरमा गत डिसेम्बर अन्तिममा शुरु भएको नोबेल कोरोना भाइरस संक्रमण भएपछि गत माघ १३ गतेदेखि उक्त नाका बन्द भएको थियो।  

प्रकाशित मिति: : 2020-04-09 18:24:35

प्रतिकृया दिनुहोस्