सांसद प्रभु साहद्वारा आपराधिक घटनाको अनुसन्धानलाई प्रभावित तुल्याउने प्रयास

देखापढी

काठमाडौं

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवं सत्तारूढ नेकपा प्रदेश-२ का अध्यक्ष प्रभु साहले आपराधिक मुद्दाको अनुसन्धानलाई प्रभाव पार्ने गरेर अभिव्यक्ति सार्वजनिक गरेका छन्।

प्रदेश-२ प्रहरीले केही आपराधिक मुद्दामा गरिरहेको अनुसन्धानको विषयलाई लिएर उनले आपत्ति जनाउदै विज्ञप्ति नै जारी गरेका छन्।

३ चैतमा रौतहटको गरुडास्थित दाइभाई इँटा उद्योगमा भएको घटनामा इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीसहितका ४० जनामाथि सार्वजनिक आपराधिक उपद्रो मुद्दा र हेटौँडामा एम्बुलेन्सले लागूऔषध बोकेको मुद्दामा अदालतबाट पक्राउ गर्ने अनुमति लिएर खोजी भइरहेका रौतहटको ईशनाथ नगरपालिकाको मेयर सन्तोष मेहतालगायतमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर सांसद साहले कडा आपत्ति जनाएका हुन्।

सांसद साहले सार्वजनिक उपद्रो मुद्दा दायर गरेर घटना नै नभएको विषयमा काल्पनिक वारदात बनाएर अपराधिक कार्यलाई ढाक छोप गर्न झुटा मुद्दा चलाउने काम भएको दाबी गरेका छन्।

प्रहरीले अनुसन्धान गरिरहेको विषयलाई उनले २१औं शताब्दीमा प्रजातान्त्रिक अभ्यास गरिरहेको नेपालमा जंगली हर्कत भएको टिप्पणी गर्दै स्वीकार्य नहुने अभिव्यक्ति दिएका छन्। उनले घटनाको छानबिन गरी दोषीलाई तुरुन्त कारबाही गर्न माग पनि सरकारसँग गरेका छन्।

“आपराधिक कार्यमा कुनै संलग्नता नै नभएको मेयर लगायतका निर्दोष व्यक्तिलाई विना प्रमाण पक्राउ पुर्जी काटिएको स्थिति छ”, उनले भनेका छन्, “तथ्य र प्रमाण विना गलत नियतबाट नगरको मुख्य नेतृत्वलाई यसरी ह्यारेसमेन्ट गर्नु कतिको न्याय संगत छ ?”

प्रकाशित मिति: : 2020-04-16 22:50:00

प्रतिकृया दिनुहोस्