लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थप्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिए । 

यस्तै सरकारले उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए।

‘नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ, तर उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको छ’, उनले भने।

नयाँ मोडालिटीमा अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य, कृषि, दैनिक उपभोग्य सामाग्रीलगायतलाई निश्चित मापदण्ड तोकी सञ्चालनको अनुमति दिइने उल्लेखरहेको बुझिएको छ । शैक्षिक संघसंस्था, सार्वजनिक यातायात, हवाई सेवा अझै खुल्न नदिइने भएको छ हवाई सेवा २ जेठसम्मका लागि निषेध गर्ने निर्णय भइसकेको छ ।

सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन सोमबार अर्थात् वैशाख १५ गते सकिदै छ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्‍न सुझाव दिएको थियो। 

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरेको छ ।

दैनिक उपभोग्य वस्तुको आयातमा चाहिँदैन पास     

सीसीएमसीका अनुसार सरकारको निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूधजन्य सामग्री, पशुपक्षी तथा माछाको आहारा आदि ढुवानी गर्न कुनै पनि पास नचाहिने व्यवस्था गरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाको सहयोगमा महानगरभित्र विभिन्न स्थानमा तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ। 

ती बिक्री केन्द्रबाट काठमाडौंवासीले सहज रूपमा तरकारी तथा फलफूल लिन सक्ने भएका छन्।     

लामो दूरीमा ढुवानी गर्ने यातायाताका साधनका लागि तथा श्रमिकको सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारी साधन मर्मत गर्ने स्थान तथा आवश्यक होटल सञ्चालनमा ल्याइएको छ। 

प्रकाशित मिति: : 2020-04-26 19:17:05

प्रतिकृया दिनुहोस्