पाकिस्तानी ब्याट्सम्यान उमर अकमलमाथि तीन वर्षको प्रतिबन्ध

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानका ब्याट्सम्यान उमर अकमलमाथि तीन वर्षको प्रतिबन्ध लागेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले भ्रष्टाचार विरोधी नियम अनुसार दुई भ्रष्ट रणनीतिबारे सूचित नगरेकोमा दोषी ठहर गर्दै कारवाही गरेको हो । 

२९ वर्षका अकमललाई अनुशासन समितिको सुनुवाईपछि सोमबार प्रतिबन्ध लगाइएको हो।  उनलाई क्रिकेटका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी तीन वर्षका लागि प्रतिबन्ध लगाइएको जनाइएकाे छ।

अकमलले १९ वर्षकै उमेरमा सन् २००९ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए र डेब्यु खेलमै उनले शतक प्रहार गरेका थिए। उनले पाकिस्तानबाट १६ टेस्ट, १२१ एकदिवसीय तथा ८४ ट्वान्टी–ट्वान्टी क्रिकेट खेलेका छन्।

अकमलमाथि प्रान्तीय क्रिकेटमा गएको फेब्रुअरीमै प्रतिबन्ध लागेको थियो। 

अनुशाषन कमिटीका अध्यक्ष पूर्वन्यायाधीस फजल ए मिरान चौधरीले भने, ‘उमर अकमललाई सबै फरम्याट र घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाट तीन बर्ष प्रतिबन्ध लगाइएको छ।’ उनको प्रतिबन्ध २० फेब्रुअरीदेखि सुरु हुनेछ। 

प्रकाशित मिति: : 2020-04-28 06:55:27

प्रतिकृया दिनुहोस्