निःशुल्क खानाको सट्टा रोजगारी

बन्दाबन्दीको क्रममा तनहुँको दमौलीमा निःशुल्करुपमा सञ्चालन गरिएको खाना खुवाउने कार्यक्रम स्थगित गर्न प्रस्ताव आएको छ ।  

रोजगारमा लगाएर खाना खुवाउने व्यवस्था सञ्चालन गर्नुपर्ने आवाज उठेको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सधैँभरि खाना खुवाइरहनुभन्दा यसलाई स्थगित गरेर नयाँ ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताए ।

‘जिल्लाकै शुक्लागण्डकी नगरपालिका–८ ले प्रभावित मजदुरलाई रोजगारीमा खटाएर पारिश्रमिक दिने व्यवस्था शुरु गरेको छ, अन्य ठाउँमा पनि यस्तै गरी सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्छ’, उनले भने । खानाको व्यवस्थापन गरिरहेको उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइलाई अगामी जेठ १ गतेदेखि खाना खुवाउने कार्यक्रम स्थगित गर्न आग्रह गरेको  प्रमुख वाग्लेले जानकारी दिए ।

‘सधैँ खानामात्रै खुवाउनेभन्दा पनि स्थानीय तहको पहलमा उनीहरुलाई काममा खटाउन सकिन्छ’, उनले भने । सो एकाइले  प्रभावित भएकाहरुलाई खाना खुवाउन  व्यवस्थापन मात्रै गरेको सङ्घका अध्यक्ष एवम् एकाइ सभापति राजकुमार श्रेष्ठले जानकारी दिए । 

एकाइको व्यवस्थापनमा व्यास नगरपालिका–२ र व्यास नगरपालिका–४ मा बिहानको समयमा खाना खुवाइन्छ । उनका अनुसार बन्दाबन्दीपछि वडा नं २ र ४ मा गरेर करिब चार हजारजनाले खाना खाइसकेका छन् । 

प्रत्येक दिन बिहानको एक छाक खाना खुवाउने गरिएकामा खानाका लागि सहयोगी व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्ने गरेका छन् । विपन्न तथा मजदुरलाई खाना खुवाउँदा हालसम्म रु दुई लाख ४० हजार खर्च भइसकेको छ भने रु एक लाख ५० हजार सङ्कलन भएको छ । 

प्रकाशित मिति: : 2020-05-11 14:27:30

प्रतिकृया दिनुहोस्