नक्सा सार्वजनिक ‘युगकै स्मरणीय क्षण’: भूमिसुधारमन्‍त्री अर्यालको ऐतिहासिक सम्बोधन (पूर्णपाठ)

नेपालको नयाँ नक्सा सार्वजनिक गर्नु युगकै सर्वाधिक स्मरणीय क्षण भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् । बुधबार नेपालको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । 

‘नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्ने यो सुनौलो अवसर यो युगको सर्वाधिक स्मरणीय क्षणका रुपमा मैले लिएको छु’, नक्सा सार्वजनिक गरेपछि सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन् ।  एउटा ऐतिहासिक क्षणको अवसरमा मन्त्री अर्यालले गरेको सम्बोधनको पूर्णपाठ जस्ताको तस्तै ।

भिडियोमा हेर्नुहोस्

मन्तव्यको पूर्ण पाठ
 

आदरणीय आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरु
सञ्चारकर्मी मित्रहरु
सर्वप्रथम म सबैमा हार्दिक अभिवादन गर्दछु ।
लामो समयपछि नेपालको सीमाका विषयमा रहेको समस्यालाई सम्बोधन गर्दै मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग समेटिएको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्न पाउँदा यस घडीमा हामी सबै गौरवान्वित र पुल्कित भएका छौ । नेपाल सरकारको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट घोषणा भए बमोजिम त्यसको एक हप्ता भित्रै नेपालको राजनैतिक एवम् प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक गर्न पाउँदा आज मलाई अत्यन्त खुशी लागेको छ ।

यस अवसरमा यो गौरवशाली इतिहास निर्माण गर्न आम नेपाली जनताले देखाएको चासो र दिएको साथप्रति म आभार व्यक्त गर्दछु । नेपाली जनताको यही मर्म र भावनाको जगमा उभिएर हामीसँग उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यले देखाएको सत्यको पथमा समर्पण भावनाका साथ अघि बढ्ने प्रेरणा मिलेको यहाँहरु समक्ष स्मरण गर्न चाहान्छु । नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने यो अवसरमा सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण हो । जुन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारको काँधमा आइपुगेको तपाइहरुसामु छर्लङ्ग छ । साथै नेपालको अद्यावधिक (राजनितिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्ने यो सुनौलो अवसर यो युगको सर्वाधिक स्मरणीय क्षणका रुपमा मैले लिएको छु । नेपालमा मात्र होइन सिंगो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मन पनि बदलिएको छ । त्यतिमात्र होइन नेपालको बदलिएको मानचित्रले जनताको मनोबललाई अझ उच्च बनाएको छ । सीमाका विषयमा सिंगो राष्ट्र एक ढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ठ प्रमाणहरुका आधारमा यस अघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने विन्दुमा आइपुगेका छौं ।

यस्तो छ नेपालको नयाँ नक्सा

प्रकाशित मिति: : 2020-05-20 15:56:08

प्रतिकृया दिनुहोस्