प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लेखे- सिंगो नेपाल र नेपालीजन मनिषाकाे साथमा

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि समर्थमा ट्वीट गरेकी अभिनेत्री मनिषा कोइरालाका विषयमा विभिन्न तर्कहरु आइरहेका छन् ।

मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय।’ भन्दै ट्वीट गरेका थिए।

याे पनि–
नेपालको पक्षमा बोलेको भन्दै मनिषामाथि खनिए भारतीय मिडिया र समर्थक, भारतबाट लखेट्न माग

सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

उनले गरेको ट्वीटलाई लिएर नेपालीहरुले मनिषाको उच्च प्रसंशा गरेका छन् । तर नेपालमा मनिषाको समर्थन भइरहँदा भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विरोध जनाइरहेका छन् ।

भारतीय मिडियाहरुले खेदो खनिरहेका बेला नेपालीहरुले उनको साथ र समर्थन रहने जनाएका छ्न् । यस विषयमा भारतका सानादेखि ठूला मिडियाहरुले त्यसको प्रतिरोध गरिरहेका छन् । 

एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ। चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो। तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन्। नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ।

मनिषाको उक्त भनाइपछि सञ्चार माध्यममा मात्र होइन सामाजिक सञ्जालमा समेत जाइलागेका छन् । 

कतिले मनिषाले नेपालको समर्थन गरेको भन्दै निकै गालीसमेत गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको  र गाइरहेकी छे भिन्न राग। यसलाई भारतबाट लखेट। यसको फिल्म बहिष्कार गर। ’

यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक हराम’।’

एकजनाले लेखेका छन्, ‘नेपाल चीनसँग सतर्क रहनुपर्छ, नभए नेपालको पनि हालत तिब्बतको जस्तै होला।’

भारतीय मिडियाहरुले विरोध जनाए पनि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने मनिषाको उच्च प्रशंसा गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मनिषाा कोरइरालाको साथमा भन्दै लेखेका छन् –

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशनको निर्णयका निम्ति नेपाल सरकारलाई धन्यवाद दिदैं ट्वीट् गर्नुभएकी विख्यात नायिका मनिषा कोइरालाको भर्त्सना गर्ने भारतीय संचार जगतको रवैया खेदजनक छ । 

बलिउडकी स्थापित अभिनेत्रीले आफ्नो देशको राजनीतिक नक्सा प्रकाशित हुँदा खुशी र हर्षका साथ वास्तवमा आफ्नो सरकारलाई धन्यवाद दिनु शतप्रतिशत सही काम हो ।

भारतीय संचार माध्यम दुष्प्रचार, एकोहोरो खेदाइ र अतिरञ्जित सम्रेषणका लागि आफै विश्वस्तरमै बदनाम छन्, यसपटक फेरि एकपटक स्वयं उदाङ्गो भएको अवस्था मात्रै हो । तिनले विनासकारी भूकम्पका बेला नेपालको हुर्मत लिएर गरेको दुष्प्रचार नेपालीहरूले अझै बिर्सन सकेको पाइँदैन । यसखालको रोइलो प्रदर्शन नानीदेखि लागेको त्यस बानीकै नयाँ संस्करण मात्र हो ।

आफ्नो मातृभूमिको हक, हित र अधिकार अनि स्वाभिमानको पक्षमा उभिएर मनिषाजीले गरेको यो उल्लेखनीय सद्कर्म, राष्ट्रसेवा र देशभक्तिको अभिव्यक्ति हो । भारतीय सिने क्षेत्रमा उहाँले आफ्नो सिंगो योग्यता र उर्वर जीवन लगानी गरेर हासिल गरेको लोकप्रियता र ख्याती सामान्य छैन ।

अहिलेको उहाँको बोली त्यही उचाइ सुहाउँदो, शिष्ट र सचेत छ । सिङ्गो नेपाल र नेपालीजन मनिषाको साथमा छन् ।

पूर्व प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी रहनुको नाताले पनि मनिषाले आफ्नो सचेत, जागृत र राष्ट्रप्रतिको माया ममतालाई अटुट र अक्षुण राख्नै पर्दथ्यो ! क्या बात !
धन्यवाद ।

प्रकाशित मिति: : 2020-05-21 07:52:12

प्रतिकृया दिनुहोस्