गोसाई आब केलाई चाहियो पर्देश सरकार?

गोसाई आब केलाई चाहियो पर्देश सरकार?

स्थानीयका खल्ती छनाइ पर्देशका मुख छनाइ
गुना (लङ्गुर) बानर रुख गए चढ्नाखि रुख छनाई

बिहानको घामका पाइलाले डाँडाकाँडा छाइसकेको थियो। सेती किनारको गर्मी। डोटी गोपघाटस्थित झोलुङ्गे पुल मुनि ७ जना लाहुरे पसिना पुछ्दै काक्रा खाइरहेका थिए। स्थानीय पुष्पराज ओझाले पानीका बोतल र आफ्नै बारीबाट टिपेर पाँच सात किलो काँक्रा लगेर दिएका थिए खानको लागि। त्यस्तै कमला बलायरले पनि दिएकी थिइन खानलाई केही काँक्रा। उनीहरु भनिरहेका थिए, ‘आज तेस्रो छाक भयो खाना खान नपाएको।’ जेठ ७ गते राति कैलाली पुगेका उनीहरु मिसिए ठूलो समूहमा। सुरक्षित घरपुग्न सकिन्छ कि भन्ने सोचले ३५ जना मिलेर ७५ हजार भारूमा गाडी रिजर्भ गरेर भारतको पलिया पुगे। पलियामा पनि उनीहरुको समूह अलग्गै सुरक्षित ढंगले बास बस्यो। पलियाबाट गौरीफन्टा नाकासम्म युपी सरकारले पुर्‍याइदियो। राति बस्ने व्यवस्था भयो कैलालीस्थित भन्सार रोडको नवदुर्गा माविमा। जहाँ ४ सयको हाराहारीमा थिए भारतबाट आएकाहरू। राति १२ बजे खाना खान पाए, करिव चार सय जनाले।

ती सात जनाको समूहमा थिए डोटी पुगेपछि भेटिएका चक्र बोहरा। २३ जना नेपालीहरुले समूह बनाएर १ लाख ७५ हजारमा मिनि टाटा रिजर्भ गरी प्रतिव्यक्ति ७६०९ रुपैया भारू तिरेर आएका थिए राजस्थानबाटै उनी पनि। तर नेपाल पुगेर निराश बन्न पुगेछन्। हजारौंको भीडमा सामेल हुनुपर्दा दिकदारी बढ्न थालेछ। उनी सुनाउँछन्, ‘तीन दिनसम्म भोकभोकै आइयो। आउनुअघि मुख्यमन्त्रीका स्वकीय सचिवसँग कुरा भएको थियो। तपाईहरु आउनुहोस् भनेको थियो। नेपाल पुगेपछि वास्ता गरेन। बाजुरा जाने बसमा आएँ। दुई बजे राति शिखर नगरपालिका नजिकै सडकमा उत्रिएँ। किनारमा बसेर रात बिताएँ। बाटोमा चाउचाउ मिलेको थियो, तर मूल्य थियो ५० रुपैयाँ। बाटोमा कोरोना आयो। कोरोनाको गाडी आयो भनेको सुनिन्थ्यो। हामी गरिवले हरेक मोडमा अवहेलित हुनुपर्ने। गरिबका न नेता हुँदा रहेछन् न त सरकार नै।’

सीमामा कैलालीका सिडिओ यज्ञराज बोहरा र धनगढी उपनगरपालिकाका मेयर नृप ओड खटिएका छन् दिनरात। उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उद्योगी समाजसेवी श्याम तायललगायतले खानाको व्यवस्था मिलाइरहेका छन्। चौलानी डिपार्टमेन्ट सेन्टरले चिउरा, बिस्कुट, फुलन्दाना आदि खाजाको रुपमा उपलब्ध गराइरहेको छ। जसको संयोजन कार्यमा खटिएका छन् पश्चिम टुडेका सम्पादक दीर्घ उपाध्याय। आँखाले नदेखिने भीड छ सीमामा। महिला बालबालिका बोकेर आइरहेका छन् भारतबाट दिनहुँ ठूलो संख्यामा लाहुरेहरु। सीमामा चेकजाँचको नाममा थर्मामिटर गन प्रयोग भैरहेको छ। त्यो पनि सबैको तापक्रम चेक गर्नसकिरहेका छैनन्। तर सुतिरहेको छ प्रदेश सरकार।

सुदूरपश्चिम वर्षौदेखि पीडाको खालमा छटपडाइरह्यो। प्रशव पीडाले व्याकुल बनेकी महिलाझैं भिजेका परेली टल्काउँदै दाँतमुनी जिब्रो टोक्न थाल्यो बारम्बार। हजारौ प्रश्न तेस्र्यायो बिभिन्न माध्यम मार्फत। अह ! सुनेन कहिल्यै नैपालले। नैपालको भण्डार चलाउने भण्डारीहरुले। राणाकालदेखि पञ्चायति व्यवस्था हुँदै गणतन्त्रसम्म जे जति व्यवस्था आए ती व्यवस्थाका तालुकदारदेखि व्यवस्थापकसम्मका सबै गोसाईहरुले हैकम जमाए आफ्नै किसिमको। जति जोगी आए कानै चिरेका भनेझैं सबै उस्तै गरी देखापरे कमाउनिष्ट बनेर। फाट्न थालेका तुना टुटेका चप्पल लगाएर भोटमाग्दै गरेका देखिन्थे जो हिजोका दिनमा आज आएर पजेरो, मर्सिडिज गाडीका झ्यालबाट कालो चश्मा देखाउन थाले। छोडिदिए सर्वसाधारणलाई चिन्न पनि।

विकासको आश भरोशामा बसेका जनताका रात लम्बिदै गए। बेरोजगारी बढ्दै गयो। जनताले भारीसँगै हिँड्ने अकालो सम्झेँ। मुद्दामामिला जेसुकै पर्दा पनि घूस खुवाउन चाहिने पैसा र फुर्ति लडाउन मिल्ने बालुवाटारका गोसाईको जत्रो स्वरको आयतन सम्झे। अनि रचिए डेउडा गीतका यी पंक्तिहरुः

भारीमा उकालो ठूलो दुःखमा रात ठूलो

मुद्दामा धनपैसा ठूलो वार्तामा वात ठूलो...

 समय परिवेश अनुसारका गीत रचना गर्छन् सुदूरपश्चिमबासी र गुनगुनाउँदै चित्त बुझाउछन्। जीउ ढाक्न र पेट पाल्न देश जानु, देशीको कमौया बन्नु मध्य तथा सुदूरपश्चिमेलीको नियति नै बनिसकेको छ। पछिल्लो समयमा चैत वैसाखमा देखापर्ने अलासिने बतास जस्तै गरी देखा पर्‍यो कोरोना भाइरस। विदेशीको प्लेन चढेर आएको भाइरस चलचित्रमा नायकनायिकाले पहिरन र परिवेश बद्लेझैं बदल्न थाल्यो रुप। उता परदेश गएका दाजुभाइलाई घरदेशको यादले सताइरह्यो। बिभिन्न समस्याले गाँजिरह्यो। मरे पनि आफ्नै भूमिमा मरौंला बरु फर्किउँ भन्ने भावना पलाउन थाल्यो। यता नैपालबाट गोसाईले लगाएको डाको सुनिन थाल्यो, ‘सुदूरपश्चिम कोरोनारहित प्रदेश भयो है।’ डाको लगाउन हतारिए गोसाई। कहिले सुदूरपश्चिमवासीलाई उत्ताउला भनिदिए त कहिल्यै कोरोनारहित प्रदेश।

सुदूरपश्चिमका झण्डै ९ लाख मानिस देश गएका छन्। तिनलाई समयमै सकुशल फिर्ता बोलाउनुपर्छ भन्ने सोच पलाएन गोसाईको मनमा। घरदेश फर्किन खोज्नेहरुका लागि सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउनदेखि क्वारेन्टाइन र संक्रमितको उपचारार्थ अस्पतालको समस्या कहाँ कसरी समाधान गर्ने कुनै कुरा सोचेनन्। कोरोनाले रुप बद्लेझैं बद्लिरहे तिनले पनि मात्र आफ्ना भाषणहरु,उखानटुक्काहरु। अनि बनाइरहे केवल आफ्नो बात ठूलो। गोसाईका भाइभारदारहरु उनकै डाको सुनेर हो कि कुन्नि कैलालीको गर्मीमा एसी चलाएर सुरक्षित बनेर मस्त निदाए।

उता सुदूरपश्चिमभरिको एक मात्र कोरोना अस्पतालका रुपमा चिनिएको कैलालीको धनगढीस्थित सेती अस्पतालका प्रवक्ता डा. जगदिश जोशीका अनुसार अस्पतालमा जम्मा २४ बेड छन् जसमा आइतबारसम्म २२ वटा बेडमा बिरामी भर्ना भैसके। पिसिआर ल्याबमा जनशक्तिको कमी छ। चाहिने जति चिकित्सक छैनन्। नजिकै प्रदेश सरकार छ। प्रदेश सरकारका मन्त्रीहरुका चिल्ला गाडी दौडिन्छन् सडकमा। जनता हेरेका हेरेइ छन्।

यी सारा बात सुनिसकेकी रहिछन् देउसराले पनि। नेताले उनीजस्ता गरिव सिमान्तकृतलाई कहाँ चिन्नु, किन उनका कुरा सुन्नु। त्यसैले कतै केही सुन्दा वा मनमा प्रश्न उब्जिँदा बह पोख्ने हिसाबले उनी प्रश्न गर्छिन् । यस पटक पनि भेटमा तेस्र्याइन प्रश्न, ‘गोसाई सदाइ सिएकोसिएइ (सुतेकोसुतेइ) हुने पर्देश सरकार केलाइ चाहियो आब? हिट आन्दोलन गद्द जाउँ।’ मैले सम्झाउँदै भनेँ, ‘यस्तो बेला आन्दोलन गर्नु राम्रो हैन देउसरा।’ अनि त नैपालका गोसाईको झैं स्वरको आयतन बढाएर भन्न थालिन्, ‘अरूका भत्ता काट्ट खोद्दे  सरकारका भुँडेहरु आफू केलाइ खाना छन् भत्ता? तिनको तलब घट्टु पड्ड्या होइन ब? अर्थमन्तरीले बजेट भाषण गरेको भत्ता लिने भए कि नाई? प्रदेशका सांसद, मन्तरीलाई खसी बोका पाले जन केलाइ हो पालेको?’

यत्तिकैमा सुनियो कुनै अपरिचितले शिरानीमा राखिएका डेउडा गीतका पंक्ति गुन्गुनाइरहेको।

स्थानीयका खल्ती छनाइ पर्देशका मुख छनाइ ................

भौतिक सम्पत्तिमा र्‍याल चुहाइरहेछ मान्छे। पैसाको पछि बेइमानीपूर्ण ढंगले दौडिरहेकै छ मान्छे। त्यही मान्छेको पछाडि पछाडि दौडिरहेका छन् कोरोनारूपि भाइरस पनि। स्थानीय सरकार चलाउने गोसाईहरुमा होडबाजी चलेको छ यतिखेर ससाना योजनाहरु लागू गर्न। आषाढ नआउँदै सिध्याउने हेतुले पाँच दश लाखका कयौं कार्यक्रम रातका रात लागू हुँदैछन्। लकडाउनको कुनै पर्वाह छैन। हतारहतारमा काम सिध्याउँदैछन् ठेकेदारहरू। त्यस्ता कार्यक्रम पाउनेहरु नेताका ओसेपासे र हरेक पार्टीका झोलेहरु नै देखिन्छन्। कमसलखाले सामग्रीको प्रयोग गरेर बचेको रकम बाँडिचुँडी खाने प्रथा चलेको छ। खल्ती भर्ने कार्यक्रम छन् स्थानीय सरकारका गोसाईहरुसँग। मुखले ठुल्ठुला कुरा गर्ने उपलब्धीबिहिन आवाज छ प्रदेशका गोसाईहरुसँग। केन्द्रका गोसाईहरूको त के कुरा भयो र ती त महारथी नै भैसके। संसद विकास कोषको मोटो रकम बोकेर अहंकाररूपि रुखमा चढेर दृष्टि लगाउँदैछन् यताउति। पचाउँदै छन् जनताले तिरेको कर। पुगेको छैन् त्यतिले मात्रै पनि। सुनिएकै छ दिनप्रतिदिन समाचार– अवसर पाउने बित्तिकै पौडिएकै छन् कतिपय भ्रष्टाचारको तलाउमा। दश पन्ध्र जना सुरक्षाकर्मीको बीचमा जुँघा मसारेर ब्रम्हलुट गरिरहेकै छन् छोटे राजनहरू। मुकदर्शक बनिरहेकै छन् सर्वसाधारण जनताहरु। सुदूरपश्चिममा एउटा उखान छ, ‘मर्नु मर्नु मीतकै छोरो मरोस्।’ विगतका शासकहरुको स्वार्थी, मपाइत्वपन र सामन्ती व्यवहार देख्दा बनाइएको थियो यो उखान। आफू सुरक्षित भएपछि, टन्न कमाउन थालेपछि, विगत बिर्सिदै गएका अहिलेका छोटेराजनहरुका व्यवहार र क्रियाकलाप पनि त्यस्तै देखिन्छन्, ‘मरे जनताकै छोराछोरी मरून्।’ मानवीयता मरेको राज्यमा अझै खुल्न सकेको छैन तिनको होस्। बुझ्ने चेष्टासमेत गरिरहेका छैनन् तिनले – गरिव, निमुखा र सिमान्तकृतलाई व्यवस्था गर्दै गएपछि, भोलि कस्तो परिणाम  निस्किन्छ। हजारौं देउसराहरुका औंला उठ्न थाल्दा के हुन्छ?

स्वदेशमा रोजगारीको व्यवस्था गर्न नसक्ने, पुस्तौनी देशतिरै जान बाध्य बनाएर दाष तुल्याउने शासकले देखेर पनि सधैं नदेखेजस्तो गरिदिए परदेशीने युवाहरुका पाइला। दया माया स्नेह र उत्सुकताले भरिएको मन लिएर बाटो छेउको घरबाट हेर्न थालेका थिए मान्छेहरु ती लाहुरेलाई। कयौंले आँखा नझिम्क्याई एकतमासले बाटोमा हिँडिरहेका ती लाहुरेहरुलाई हेरिरहेको देख्दा भन्न मन लाग्थ्यो –ए सिंहदरवार, ए शितलनिवास, ए नैपालका छोटे राजनहरु हो, कयौं छाक भोकभोकै हिँडिरहेका, मनभरि चिन्ताका धर्सा फिजाइरहेका तिनीहरु के कतै अर्कै ग्रहबाट आइरहेका छुट्टै खाले मान्छे त हैनन्? जो तम्रो नजरमा कहिल्यै परेनन् तर तम्रो आवश्यकता पुरा भैरह्यो तिनैले पठाएको रेमिट्यान्सले।

यो पनि हेर्नुहोस्-  लकडाउन, सेतीका छाल र फैलिँदै गरेको जाल

प्रकाशित मिति: May 29, 2020 09:50:48

प्रतिक्रिया दिनुहोस