फेसबुक र जुममा बोलेर 'होस्ट' होइन्छ, पत्रकार हैन

फेसबुक र जुममा बोलेर 'होस्ट' होइन्छ, पत्रकार हैन

आमसञ्चारले समाचारको विषयवस्तुलाई बुझ्ने भाषामा इस्यु भन्ने गर्छ। यसको नेपाली अनुवाद गर्दा ठ्याक्कै सर्वसाधरणले बुझ्ने खालको शव्द भेटिदैन। विषय वा मुद्दा भन्न त सकिन्छ तर यी दुबै शव्दले फेरि पनि ठ्याक्कै इस्युको भाव बोक्न सक्दैनन्। 

आमसञ्चारमा इस्युको जीवनचक्र तीन अवस्थाबाट गुज्रन्छ-  इमर्जिङ इस्यु, करेन्ट इस्यु र फलिङ डाउन इस्यु। कुनै पनि सम्भावित इस्यु जसमा पाठकको अत्याधिक रूचि हुन सक्छ, त्यस्तो विषयवस्तु नै इमर्जिङ इस्यु हुन्छ। जब त्यो इस्युमा जनचासो अभिवृद्ध हुन्छ या त्यसको महत्व बढ्दै जान्छ त्यो करेन्ट इस्यु हुन्छ र सञ्चारमाध्यममा छाउँछ। समयक्रमसँगै जव त्यो करेन्ट इस्युमा कुनै नयाँपन आउँदैन या अर्को कुनै इमर्जिङ इस्युमा जनचासो बढ्छ तब त्यो इमर्जिङ इस्युले करेन्ट इस्यु प्रतिस्थापित हुन्छ। अनि त्यो इस्यु आफ्नो जीवनचक्रको तेस्रो चरण अर्थात् फलिङ डाउन इस्युमा प्रवेश गर्छ। 

यो इस्युको प्राकृतिक जीवन चक्र हो। तर, यदाकदा समाचार स्रोत र मिडियाले अप्राकृतिक किसिमले इस्युमाथि आक्रमण गर्छन् र इस्यु नै फेरबदल गर्ने पनि प्रयत्न गर्छन्। कहिलकाही त्यसले काम गरे पनि अधिकांश समय त्यसले काम गर्दैन। काम नगर्दा समाचार स्रोत र मिडियाले गम्भीर क्षति ब्यहोर्नुपर्ने पनि हुन्छ। त्यो क्षतिलाई कम गर्न अर्को उपाय अपनाइन्छ जसलाई ट्रायल बलुन भन्ने गरिन्छ। 

ट्रायल बलुन भनेको कुनै पनि इस्युको पूर्वपरीक्षण हो। यसका लागि समाचार स्रोतले कुनै पनि इस्युमा यसो गर्दा कसो होला भनेर आफैं इस्यु चुहाउँछ। यदि त्यो इस्यु आफ्नो पक्षमा देखियो भने त्यसैलाई निर्णयका रूपमा बाहिर ल्याउँछ र वाहवाही कमाउँछ। यदि त्यसले काम नगर्ने रहेछ भने आधिकारिक रूपमा त्यसको खण्डन गरिन्छ र शाख जोगाउँने काम गरिन्छ।

आमसञ्चारमा सधैंभरी इस्यु मात्र सम्प्रेषण हुदैनन्, कहिलेकाँही कुनै स्वार्थ समुहको कारण अनावश्यक विषयवस्तु पनि समाचार बन्ने अवस्था सिर्जना हुन्छ। यस्ता अनावश्यक विषयवस्तुलाई नन-इस्यु भनिन्छ। 

कुनै पनि विषय इस्यु हो कि नन-इस्यु हो भनेर मापन गर्ने आधार चाँहि सन्दर्भ हो। आमसञ्चारमा सन्दर्भ समय र स्थान मिलेर बन्छ। अर्थात् कुनै कगल विषयवस्तुको उठान कहाँ र कहिले उपयुक्त हुन्छ, त्यसको हेक्का आमसञ्चारमा हुनैपर्छ। यदि कुनै विषयवस्तु सान्दर्भिक हुन्छ भने त्यो इस्यु हुन्छ, असान्दर्भिक हुन्छ भने नन-इस्यु। 

तर, आमसञ्चारमा सधैंभरी यस्तो हुदैन। मिडिया मिलेर मिडिया स्वार्थ/विचार समुह बनाउँछन् या बनाएका हुन्छन् जसलाई सिन्डिकेट भनिन्छ। यस्तो सिन्डिकेटले यदाकदा नन-इस्युलाई पनि इस्यु बनाउँने प्रयत्न गर्छ। त्यस्तो प्रयत्नलाई आमसञ्चारले एजेन्डा सेटिङ भन्छ।

एजेन्डा सेटिङ दुई प्रकारको हन्छ- सकारात्मक र नकारात्मक। इस्युमा हुँदा सकारात्मक परिणाम आउँछ सकारात्मक इस्यु भनिन्छ। नन-इस्युमा हुँदा त्यसले एक किसिमको मिडिया दादागिरीको अवस्था पनि सिर्जना हुन पुग्छ र समाज त लाभान्वित हुदैन नै, मिडिया पनि अलोकप्रिय हुने सम्भावना रहन्छ। त्यस्तो एजेण्डा सेटिङलाई नकारात्मक एजेन्डा सेटिङ भनिन्छ।

अब माथि प्रयोग गरिएका आमसञ्चारका शव्दावलीलाई अहिलेको अमेरिकी सन्दर्भमा जोडेर हेरौं । केही समयअघि अमेरिकामा कोरोना महामारी करेन्ट इस्यु थियो। त्यही समयमा अमेरिकामा केही काला रंगका मानिसमाथि विभेदका घटना बढ्न थाले, ती अन्डर-करेन्ट इस्यु इमर्जिङ हुदै थिएँ। त्यही बीचमा जर्ज फ्लोइड मृत्युप्रकरण आयो। यो प्रकरणले अश्वेत विभेदको त्यो इमर्जिङ इस्यु करेन्ट इस्यु बन्यो भने कोरोना इस्यु फलिङ डाउन इस्यु बन्न पुग्यो। अहिलेको करेन्ट इस्युको अवस्था परिवर्तन भएपछि मात्र यो चक्रको इस्यु समीकरणमा फरक आउँछ, त्यसका लागि अर्को जबर्जस्त इमर्जिङ इस्यु सिर्जना भएर करेन्ट इस्यु बन्नुपर्छ। अनि मात्र अहिलेको जर्ज फ्लोइड मृत्युप्रकरण फलिङ डाउन इस्युमा धकेलिन्छ।

अब नन-इस्युको कुरा गरौं, राष्ट्रपति ट्रम्पले यही बेला विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई बाहिर ल्याउने निर्णय गरे। अमेरिकामा हिंसा भड्केर यो अवस्थामा पुगेको छ, कोरोनाले दिनहुँ एकहजारभन्दा बढी अमेरिकी मरिरहेका छन्- यस्तो अवस्थामा ट्रम्पको यो निर्णय नन-इस्यु हो। उनले  यसलाई करेन्ट इस्यु बनाउन र वास्तविक करेन्ट इस्युलाई विस्थापित गर्ने प्रयत्न गरेका हुन्। तर, उनको त्यो प्रयत्न सफल भएन। उनले चाहेर पनि त्यो नन इस्युलाई इस्यु बनाउन सकेनन्। मिडियामा त्यो समाचारले खासै त के ठाउँ नै पाएन भने पनि हुन्छ।

जुम र फेसबुकमा बोलेर 'होस्ट' होइन्छ,  पत्रकार हैन । यसो भन्दा जुम र फेसबुकका 'सेलिब्रेटी होस्ट' भैसकेका मित्रहरूको भावनामा चोट पर्न सक्छ। प्रतिउत्तरमा 'आफू सक्दैन अनि अर्काको रिस गर्छ' भन्ने ओठेजवाफ पनि आउँन सक्छ। तर, प्रश्न त्यो हैन, प्रश्न आमसञ्चार र पत्रकारिता यथार्थमा के हो भन्ने हो। त्यो सत्य स्विकार्न समय लाग्ला तर अस्विकार गरेर कँही पुगिदैन।

ट्रायल बलुनको कुरा गर्दा, राष्ट्रपति ट्रम्पले मिनियापोलिसमा विरोध प्रदर्शन गर्नेलाई ठग्स भन्दै 'द लुटिङ स्टाट्स द सुटिङ स्टाट्स' भनेर ट्विट गरे। तर, उनको त्यो ट्विटले बहुसंख्यक अमेरिकीको समर्थन पाएन, उल्टै आलोचनाको शिकार हुनुपर्यो। अब उनी कुनै न कुनै वहाना निकालेर त्यसको फेस सेभिङ गर्छन् या मैले भन्न खोजेको त्यसो हैन भनेर आफूलाई फाइदा हुने खालको व्याख्या गर्छन्। यो ट्रायल बलुनले नकरात्मक परिणाम दियो। तर, सधैंभरी यस्तो हुदैन, कहिलेकाँही ट्रायल बलुनले सकारात्मक परिणाम पनि दिन्छ।

सिन्डिकेट र एजेन्डा सेटिङको कुरा गर्दा अमेरिकाका अधिकांश मूलधारका मिडिया राष्ट्रपति ट्रम्पविरूद्ध सुरूदेखि नै जुटेका छन्। उनीहरू यो वा त्यो वहानामा ट्रम्पका हरेक नीति र निर्णयमा खोट देखाउँछन् र उनीमाथि जाई लाग्छन्। यो अवस्था सिर्जना हुनमा ट्रम्पका नीति र उनको व्यवहार पनि कारक छन्। उनी आफूलाई मन नपरेका मिडयालाई सिधै फेक मिडिया भन्छन् र तँ तँ म म कै अवस्थामा ओर्लिन्छन्।धेरै अमेरिकीलाई यो आफ्नो राष्ट्रपतिको लागि सुहाउँदो व्यवहार नभएको ठान्छन्।   

अमेरिकाका मूलधारका बहुमत मिडिया र ट्रम्पवीच ३६ को सम्वन्ध छ। यही कारण मिडिया ट्रम्प अमेरिकी चरित्रअनुकूल नभएको भनेर संकथन निर्माण गर्न लागेका छन् र उनको छवि मिडिया विरोधीका रूपमा प्रक्षेपण गरिएको छ। यो एक किसिमको एजेण्डा सेटिङ हो।  

आमसञ्चार एक गतिशील प्रयोगात्मक समाजशास्त्र हो। यो एक तथ्यमा आधारित समाज विज्ञान पनि हो। यसको एक तर प्रभावकारी अभ्यास हो- पत्रकारिता। त्यसैले यसको सैद्धान्तिक अध्ययन नगरी योसँग सम्बन्धित अभ्यास गर्न सकिन्न। त्यसमा पत्रकारिता पनि आउँछ। तर, दुर्भाग्य हामी नेपाली जातिको संकथन 'अपठित पण्डित' जस्तो हुन पुगेको छ। त्यसमा पनि पत्रकारिताको पण्डित त जो पनि हुन थालेको छ। यस्तै 'अपठित पण्डित'का कारण नेपाली समुदायले जे पत्रकारिता हैन, त्यसैलाई पत्रकारिता ठान्न थालेको छ भने जे पत्रकारिता हो त्यसका बारेमा पण्डित्याइँ छाँट्न कखरा थाहा नहुँदा पनि हुने विडम्वनापूर्ण स्थिति सिर्जना हदैछ। तर, सधैंभरी यस्तो अवस्था रहने छैन। किनकि यो सत्य हैन। 

सत्य चाँहि के हो भने सूचना प्रविधिको क्षेत्रमा भएको विकासले आमसञ्चारका सिद्धान्तमै ठूलो फेरबदल ल्याएको छ। त्यसले पत्रकारिताको आयाम र पत्रकारको भूमिका परिवर्तन गरिदिएको छ। यो बुझ्नका लागि सैद्धान्तिक अध्ययन र त्यही अनुसारको अभ्यास आवश्यक हुन्छ। तर, यतिबेला खासगरी नेपाली डायस्पोरिक पत्रकारिता जुम र फेसबुकमा बोल्न जाने पुग्ने योग्यतामा सिमीत हुदैछ। यद्यपि, बुझ्न के जरूरी छ भने बोल्न जान्दा 'होस्ट' हुन सकिएला तर त्यही आधारमा मात्र चाँहि पत्रकार हुन सकिदैन

यसो भन्दा जुम र फेसबुकका 'सेलिब्रेटी होस्ट' भैसकेका मित्रहरूको भावनामा चोट पर्न सक्छ। प्रतिउत्तरमा 'आफू सक्दैन अनि अर्काको रिस गर्छ' भन्ने ओठेजवाफ पनि आउँन सक्छ। तर, प्रश्न त्यो हैन, प्रश्न आमसञ्चार र पत्रकारिता यथार्थमा के हो भन्ने हो। त्यो सत्य स्विकार्न समय लाग्ला तर अस्विकार गरेर कँही पुगिदैन।

आगे यहाँहरूकै मर्जी । 

(यो लेखकको निजी विचार हो । यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित नहुन सक्छ : सम्पादक)

प्रकाशित मिति: Jun 01, 2020 02:55:16

प्रतिक्रिया दिनुहोस