लकडाउनको नयाँ मोडालिटी तयार, प्रधानमन्त्री ओलीले आज विज्ञहरुसँग छलफल गर्दै

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीसहितका विषयमा विज्ञहरुसँग छलफल गर्ने भएका छन्। 

प्रधानमन्त्री ओलीले छलफलका लागि विज्ञहरुलाई बुधबार अपराहन्न चार बजे बालुवाटार बोलाएका हुन्। आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई उनले छलफलका लागि बालुवाटार बोलाएका छन्।

सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो हुने गरी नयाँ कार्ययोजनाको खाका बनेको छ। अहिले याे खाकाबारे छलफल गरिदै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कायालय स्रोतका अनुसार नयाँ खाका समितिबाट पारित भए यसलाई अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा लगिने छ। स्रोतका अनुसार कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी कार्ययोजना तयार पारिएको छ। 

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लककडाउन लम्ब्याए पनि नेपालमा संक्रमितको संख्या बढिरहेको छ। ७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ। देशमा संक्रमणको दोस्रो केस देखिँदा चैत ११ गतेबाट लकडाउन थालिएको थियो।

संक्रमित भएकाको संख्या २ हजार नाघिसकेको छ। अहिले लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ।

प्रकाशित मिति: : 2020-06-03 11:31:45

प्रतिकृया दिनुहोस्