निगालोले धानेको जीवन –१: ‘साहनी’ बाडो विकासको एक प्रेम कहानी (भिडियाे)

निगालोले धानेको जीवन –१: ‘साहनी’ बाडो विकासको एक प्रेम कहानी (भिडियाे)

 मुगु डायरी –१३ 

टोप्लाबाट ओरालो झरेर फेरि उकालो लाग्दा रात पर्दै थियो। ‘पिनामा साहनी टोल रहेको र उनीहरू निगालोको सामाग्री बुनेर गुजारा गर्छन्,’ भनेर हिरा बिजुलीले हामीलाई जानकारी गराएका थिए। उनीहरूको जीवनबारे जान्ने उत्सुकता बढेर आयो। अनि हामी साहनी टोलतिर आकर्षित भयौं।

यसरी नापिएको यात्राले उकाली ओराली र टेडा, बांगा बाटा, डाँडा र खाप्टाहरू (खोल्सा) काटेर रात पर्न आँटेको बेला पिना गाउँ भेटिन थालेको थियो। बाली भित्र्याउने सिजन थियो। कोदो काटिसकिएको थियो। मुगुको कोदाका रोटी निकै मिठा हुन्छन् भनेर मुगु आउजाउ गर्नेले बेलाबेलामा सुनाएका थिए। फापर पाक्नै आँटेको थियो। फापरबारी हुँदै हामी बाटो काटेर गाउँ पुग्ने लागेको बेला अँध्यारो भइसकेको थियो।

पिनासम्मको गन्तव्य बनाएर यात्रा गरेका हामीलाई त्यहाँ बासको व्यवस्था गर्नुपर्थ्यो। जुन उस्तो गाह्रो काम होइन तर नयाँ ठाउँमा यस्ता कुराले पिरोल्दा रहेछन्। होटल होलान् कि होइन होलान मनमा प्रश्न जागिरह्यो। नभए राति कसको घरको ढोका ढकढकाउन जानु? ‘बेलाको पाउना कुबेलाको चोर’ उखानै छ।

हिरा बिजुलीले सम्पर्कको लागि भनेर नम्बर दिएका साथी लेकको बारी जोत्न गएका रहेछन्। उनलाई सम्पर्क गर्दा फोन अफ थियो। अनि लाग्यो कतै हामी उखानको जस्तो ‘चोर’ भइजाने पो हौं कि! टर्च लगाएर गाउँको वरालो झरिरहेका एक दुई जनालाई होटलको बोरमा बुझ्दा सडकको छेऊमा दुई होटल भएको जानकारी भयो। एउटा होटलमा बुझ्दा खाना त जसोतसो भइहाल्ने तर सुत्नलाई भने समस्या थियो। अर्कोमा साहुजीका छोरीहरूले प्रयोग गरिरहेको कोठामा सुन्ने व्यवस्था गरेपछि त्यो साँझको बसाइँ ठिकै भयो।

 

सेवा, सुविधाविहिन भए पनि नामले भने होटल नै थिए। तीनमा केही पोका चाउचाउ र केही पोका सूर्ति झुन्डिएका थिए। जो रारा जाने यात्रुलाई डोरीदेखि नै निहालिरेहेका थिए। यात्रुले उनीहरूतिर नजर लगाए लगाएनन्, त्यो त भन्न सकिँदैन। तर तिनीहरुले भने यात्रुलाई निहाल्दा निहाल्दा सडकको धुलोले नचिनिने भएका थिए। 

खाना खाइसकेपछि थाकेको थाङ्ने जीउमाथि निन्द्राले राज गर्न केही समय लगायो। पाठकहरुलाई अँध्यारोको कुरा गरेर अलमल के गराउनु, रातलाई थाति राखेर उज्यालो तिरै जान मन छ। बत्ति गतिलो भए भित्तामा मुस्कुराइरहेका राजेश हमाल र साहिद कपुरसँग दोस्ती हुने रहेछ। अँध्यारोमा उनीहरुले देखेनन्, हामी पनि त्यसै सुतिहाल्यौं। बिहानै मुलाकात भइहाल्यो।

बिहान जब साहनी बाडा (टोल) मा पुग्यौं, तब सुरूमै थाहा लाग्यो, साहनीबाडाको बस्ती विकासको एक मिठो प्रेम कहानी।

ठिक यति भनेर भन्ने सक्ने मान्छे कोही रहेनछ। जतिलाई भेटियो उनीहरू सबै हातका औंला भाच्दै अनुमानको आधारमा भन्थे। जे होस् आजभन्दा छ, सात पुस्ता अघि मुगु खत्याड गाउँपालिका लुईंमा एक कामीकी छोरी असाध्यै राम्री थिई।

साँच्चै राम्री। सफा, कला (केराउ) का कोसा जस्तो नाक, गुलेलीको मुठा जस्तो ढाड, धोबिनीको मुग्रा जस्तो पुको (पिंडौला), दारिमको बीयाँ जस्ता दाँत, पिपलको पात जस्तो चिउँडो, सिन्की चिरा जस्ता ओठ, कम्मर पुग्दा रुगा (कपाल), नालीको पानी जस्ता आँखा, माउरीको पोला (चाका भित्रको पदार्थ) जस्ता खुट्टा, सरग (आकाश)को पाटी जस्तो चाँदो (निधार) र सारंगीको बिनायो (सारंगी, बिना)को जस्तो डाँको (स्वर) भएकी, उभ्याएको देवल जस्ती, खोस्याएको ओखर जस्ती।

उसलाई त्यहीँको कार्कीले मन परायो। उसले कमिनी राम्री देखेर फसाउन खोजेको थिएन। चोखो माया गर्‍यो। कमीनीले कार्कीको मायामा जालसाँज देखिन। त्यसपछि हावा चल्न थाल्यो। उसले ओडेको खास्टो (पछ्यौरी/दोपट्टा) सिरसिर हावामा ताल मिलाउँदै उड्न थाल्यो। 

राज्य विकासको चरित्र नै प्रेम बर्जित भएकोले कार्की परिवार कमीनीलाई बुहारी स्वीकार्न तयार भएन। त्याग र समर्पणलाई पहिलो प्राथमिकतामा राखेर लाएको माया पिरती रातैभित्र फूलेर ओइलाई जाने ओखरको फूल जस्तो थिएन। तराईको वन जस्तो सदाबाहार थियो। उनीहरुको माया चैत वैशाखमा आउने बसन्त मात्रै थिएन। बाह्रैमासे मायाको हरियालीयुक्त बसन्त थियो।

यत्ति भएपछि कसले रोक्नु मायाको गुलावी बिरूवा रोप्न? तर कार्की गाउँले गुलाब फूल्न र फक्रन दिएन। बरू उखेली दियो।

मनुस्मृतिमा आधारित हिन्दु सामन्तवादी वर्ण व्यवस्थाको प्रभाव हिमालसम्म पनि परेको थियो। कार्कीको ठाउँमा कामी भए ज्यानै लिने वा लिंग काटिदिनेसम्मको सजाय हुन सक्थ्यो। कार्की थियो, लिंग जोगियो। ज्यान बच्यो। कमीनीलाई गाली बेइज्जति त कति हो कति। अपशब्द त कपालका रौं भन्दा बढी सुनी। तर चोखो प्रेमका अगाडि यी सब फिक्का थिए।

कथित माथिल्लो जातको केटाले कथित तल्लो जातको केटीसँग विवाह गर्‍यो भने उसको जात खसेर ‘बिटालु’ भनिने गरिएको पाइन्छ। ‘डुमिनी (कथित तल्लो जातकी केटी) सँगको करणीमा बिग्रेको वा आफ्नो जातबाट अछुत जातमा खसेको चोखा जातको पुरूषलाई ‘बिटालु’ भन्छन्। ‘बिटालु’ जुनसुकै चोखा जातबाट खसे पनि यीनलाई ‘डुम’ वा अछुत जातमा नै सरिक गर्छन्।’ (हेर्नुस्, स्थिर जंग बहादुर सिंह, कर्णाली लोक संस्कृति, भौगोलिक दृष्टिकोण, पृष्ठ १९५)

छोइछिटो र वैवाहिक सम्बन्धको दृष्टिकोणबाट ती बिटालुहरूले क्रमशः कामीहरूको समूहमा प्रवेश गरेका छन्। (बिहारीकृष्ण श्रेष्ठ, कर्णाली लोक संस्कृति, जन जीवन, दियार गाउँका ठकुरीहरु, पृष्ठ १०८)

कमीनीसँग विवाह गरेको कार्की ‘बिटालु’ भएर अलग्ग बस्नुपर्ने नियम थियो। तथापी उनीहरूलाई गाउँ निकालाको अस्त्र प्रयोग गरियो। लुईं गाउँले उखेलेको गुलाबलाई कार्की र कमीनी जोडीले ज्यान जाला सुक्न नदिने अठोट गरे। उनीहरु गाउँ छोडेर हिँडे।

गाउँबाट निकालिएका उनीहरू विस्तापित भएपछि पिनामा आए। त्यहीँका एक निसन्तान रहेका बुढाथोकीले उनीहरूलाई बस्ने व्यवस्था गरिदिए। उनले आफूसँग भएको जग्गा उनीहरूलाई दान गरेपछि पिनामा छुट्टै साहनी बाडाको विकास भएको हो।

यो कथा हामीलाई साहनीबाडाका बलराम साहनीले सुनाएका हुन। उनी हाल ४७ वर्षका भए। टोलका सबैभन्दा टाठा उनी नै थिए। उनी राजनीति पनि गर्छन्। नेकपाको जिल्ला समितिका सदस्य छन्। यसभन्दा पहिला पनि उनी नेकपा एमालेको जिल्ला स्तरका नेता थिए। साहनी टोलले प्राप्त गरेको सबैभन्दा ठूलो राजनीतिक उपलब्धि नै बलराम साहनीको जिल्ला स्तरसम्मको नेतृत्व र अगुवाइ हो। उनी जिल्ला स्तरको नेता भएको दिन गाउँलेले भने, ‘आइ (आज) बलराम जिल्ला नेता भयो।’

उनी गाउँको मुद्दा पार्टीको जिल्ला स्तरसम्म पुर्‍याउने भएका छन्। कांग्रेस होस् या कम्युनिष्टमा कथित तल्ला जातको राजनीतिक यात्रा इतिहासदेखि जिल्ला स्तरसम्म मात्र हुने गरेकोमा यसपाली दानसिंह परियारले प्रदेश सभाको चुनाव जितेपछि ब्रेक भएको छ।

बलरामका अनुसार आजका साहनी कार्कीका सन्तान हुन्। कथित ठूलो जातबाट खसेर कथित सानो जात भएको हुनाले साहनी भनियो। कथित सानो जात भएको हुनाले सबैले सानो वा सानी भन्दा–भन्दा साहनी भएको भन्ने गरिएको हो। तर योगी नरहरी नाथको इतिहासप्रकाश भाग दुई अंक एकको पृष्ठ ५२ मा साहनी भनेको लोहार, सुनार, सार्की, दमाइ, प्रभृति, कटुवाल आदिलाई इंगित गरिएको छ। 

साहनी मुगु जिल्लाभरी कँही पनि छैनन्। एक जना मुगुबाट बसाइँसराइ गरी जुम्लाको तातोपानीमा बसेका छन्। उनीहरु अरू दलितहरुको जस्तो राष्ट्रिय दलित आयोग अन्तर्गत सुचिकृत पनि छैनन्। जो नेपाल सरकारबाट पाउने समावेशी सुविधाको हकदार पनि छैनन्। ‘अरुले हामीलाई दलित नै भन्छन्। तर हामी आरक्षण सुविधा पाउँदैनौं। हामीलाई सुनारकै तहमा राखिएको छ,’ बलरामले भने।

साहित्यकार तथा राजनीतिज्ञ आहुतिको अध्ययन अनुसार निगालोको काम गर्ने साहनीहरु सुनार अन्तर्गत नै पर्छन्। उनी भन्छन्, ‘कृषि, प्रविधि, संगीत तथा मनोरञ्जन, सफाइ, सेवा र विभिन्न शिल्पकारीताका काम नै नेपालका दलितहरुको परम्परागत पेशा हो। जात शब्दले पेशालाई जनाउँदछ। जस अन्तर्गत कामी जातकाले फलामका ज्यावल, सुनको गहना, काठ र बेतबाँसका काम, बस्त्र बुन्ने काम हो।’ (हेर्नुस्, आहुति, नेपालमा वर्णव्यवस्था र वर्ग संघर्ष, पृष्ठ ८३–८४)

‘हामी अरु दलितहरुको जस्तो भाँडा बर्तन बनाउने होइनौं,’ बलरामले थपे, ‘हाम्रो परम्परगत पेशा निगालोको सामग्री बुन्ने हो। त्यसैबाट गुजारा गर्ने हो।’

मुगु पिनाको साहनीले निगालोको सामग्री डोको, स्याँकु, नांलो, छाब्री, थुन आदि बुन्छन्। यीनलाई बेचेर गुजारा गर्दै आएको उनीहरुको जीवन बारे हामी बिएल नेपाली सेवामा मुगु डायरीको आउँदा शृङ्खलाका पस्कने छौं।

  यो पनि हेर्नुहोस्  

प्रकाशित मिति: Jul 09, 2020 23:51:03

प्रतिक्रिया दिनुहोस

सबै