प्रधानमन्त्री ओलीसँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगे

भारतविरुद्ध अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाडे बहुमतका बलमा हटाउने तयारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेपछि नेकपाभित्र गम्भीर संकट पैदा भएको छ।  

यहि संकटलाई टार्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदैछ। बिहीबारको स्थायी कमिटी बैठकले शुक्रबार एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड आज दिउँसो १२ बजे बालुवाटार पुगेका छन्।

दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ।

प्रचण्ड– माधवकुमार नेपाल पक्ष बहुमतका आधारमा प्रधानमन्त्री हटाउने निष्कर्षमा पुगेकाे छ। ओली पक्षले भने विधानको दुई अध्यक्षको सहमतिमा पार्टी चल्ने व्यवस्थालाई टेकेर प्रधानमन्त्री र अध्यक्ष  पद नछाड्ने बताउँदै दुई अध्यक्ष बसेर निकास खाेज्न दबाब बढाएको छ। 

प्रधानमन्त्री ओलीलाई पार्टी निर्णय मानेर अघि बढ्ने भने एक मात्र विकल्प भएको अन्यथा पार्टी नै छाड्नुपर्ने अवस्थामा पुर्‍याएको ‘प्रचण्ड’–माधव समूहको विश्वास छ। प्रधानमन्त्री ओलीले भने प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने गरी मात्र सहमति हुनसक्ने ‘बटम लाइन’ प्रचण्डलाई बताएका छन्। 

प्रधानमन्त्री ओली, नेकपा सचिवालयका सदस्यसहरु, स्थायी कमिटी सदस्य र मन्त्रीहरुको बिहीबारको पूरै दिन नेकपाको यसै विवादबाट प्रभावित भएर बितेको छ। विकसित घटनाक्रमभन्दा दुई अध्यक्षको एक–अर्कोप्रतिको आशंकाले नेकपालाई बढी गाँजेको छ।

प्रचण्डलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमको पनि साथ दिएपछि अब कि पार्टीको निर्णय स्वीकार गर्नुपर्ने वा पार्टी फुटाएर जानुपर्ने अवस्थामा पुर्‍याएको सो समूहको बुझाइ छ। ओलीलाई हटाएपछि कसले के पाउने भन्नेबारे चार नेताहरु प्रचण्ड, नेपाल, खनाल र गौतमबाहेक अरुलाई जानकारी छैन। 

 

प्रकाशित मिति: : 2020-07-03 12:41:34

प्रतिकृया दिनुहोस्