‘इनफ इज इनफ’का अभियान्ता ईः र पुकारलाई भेट्न अस्पताल पुगे पूर्वयुवराज पारस

निरज बाडे

काठमाडाैं

पूर्वयुवराज पारस शाहले कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाव दिँदै अनशन बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः (इशान अधिकारी) र पुकार बामलाई अस्पतालमै पुगेर भेट गरेका छन्। 

शुक्रबार दिउँसो पूर्वयुवराज शाहले सत्याग्रहीलाई भेट्न राजधानीको मण्डिखाटारस्थित ह्याम्स ‍अस्पताल पुगेका हुन्।

अनशन बसेका सामाजिक अभियन्ता ईः र बामको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार अस्पताल लगिएको थियो।

उनीहरु गत १२ गतेदेखि पाटन दरबार स्क्वायरमा सत्याग्रहमा थिए। इनफ इज इनफका अभियान्ता ईसँगै सुदन गुरुङ र सुवानी सिंजापति पनि अनशन बसेको आज ८ दिन भएको छ।

ह्याम्स ‍अस्पताल पुगेका पूर्वयुवराज शाहले ईः का बुवाआमासँग उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए।

यसअघि बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेका इनअफ इज इनफका अभियान्तालाई ह्याम्स अस्पालमा पुगेर भेटेका थिए। 

प्रधानमन्त्री ओलीले उनीहरुलाई कोरोना भाइरस संक्रमणको उपचार खर्चलाई सरकारले पारदर्शी बनाउने प्रतिवद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका छन्। 

तर उनीहरुले पीसीआर परीक्षण वृद्धि,आरडीटी परीक्षण रोक्नु पर्ने कोरोना महामारी रोकथाम र उपचारमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षा, कमजोर अवस्थाका मजदुर, कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत र सम्मान गर्नुपर्ने, स्वास्थ्य उपचार क्षमता बढाउनुपर्ने आदि माग राख्दै सरकारविरुद्ध आन्दोलन जारी राखेका छन्।
 

प्रकाशित मिति: : 2020-07-03 14:45:11

प्रतिकृया दिनुहोस्