पीसीआर मशिन खरिदमा अनियमिताको गन्ध, सरकारी कागजात कीर्तेका अभियुक्तलाई ठेक्का

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने आरटी–पीसीआर मशिन सहितका आवश्यक उपकरण खरिद प्रक्रियामा अनियमितताको गन्ध आएको छ।

सार्वजनिक खरिद ऐन अनुसार कम मूल्यमा वस्तु उपलब्ध गराउने टेन्डरलाई ठेक्का दिनुपर्नेमा बढी मूल्य कबुल गर्ने सरकारी कागजात कीर्ते गरी टेन्डर हत्याउँदै आएका अभियुक्त व्यवसायीलाई ठेक्का पारिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कम कबोल रकममा मशिन सहितका उपकरण आपूर्ति गराउने भनेर परेको टेन्डरलाई उपेक्षा गर्दै बढी कबोल रकम उल्लेख गरेको व्यवसायीको फर्मलाई छनोटमा पारी आपूर्ति सम्झौता गरेको छ ।

आपूर्ति व्यवस्थापन केन्द्रले आह्वान गरेको बोलपत्रमा सरकारी काजजात कीर्ते मुद्दामा मुछिएका व्यवसायी दृष्यन्त बस्नेतले सञ्चालन गर्दै आएको डीबी मेडिसिन सेन्टर धनगढी छनोटमा पारिएको छ । आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीकुमार श्रेष्ठले बायोसेफ्टी लेवल–२ प्रयोगशाला उपकरण खरिदका लागि डीबी मेडिसिन सेन्टर छनोटमा परेको र आपूर्ति पनि थालिसकेको जानकारी दिए ।

 

डीबी मेडिसिन सेन्टरले टेन्डरमा ४ करोड २७ लाख ९२ हजार (करबाहेक) मा सामग्री आपूर्ति गर्ने भनेर कबोल रकम उल्लेख गरेको थियो । डीबीभन्दा कम रकम कबोल गरेका २ टेन्टरलाई छनोट गरिएन । आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार २ प्याकेजमा बायोसेफ्टी लेवल–२ प्रयोगशालाका लागि उपकरण खरिदको विद्युतीय बोलपत्र आह्वान गरिएको थियो । पहिलो प्याकेज अन्तर्गत आरटी–पीसीआर, अटोमेटेड नुक्लिक एसिड अक्सट्रक्सन सिस्टम र आरएनएन अक्सट्रक्सन किट खरिद गर्नुपर्ने थियो ।

दोस्रो प्याकेज अनुसार ल्याबोरोटरी इक्युपमेन्ट र कन्जमबलस् खरिद गर्नु भनिएको थियो । जसमा सेरो डाइग्नोस्टिक टे«डर्स नेपालले पहिलो प्याकेजको लागि मात्रै भनेर २ करोड ७६ लाख ४३ हजार ६८७ कबोल रकम राखेको थियो भने बायोमेड इन्टरनेसनल प्रालिले २ वटै प्याकेजका लागि भन्दै ३ करोड ३६ लाख ९० हजार ९५० रुपैयाँ कबोल रकम उल्लेख गरेको थियो तर दुई वटै प्याकेजको लागि भन्दै व्यवसायी बस्नेतको फर्म डीबी मेडिसिनले ९१ लाख १ हजार ५० रुपैयाँ बढी रकम ४ करोड ८३ लाख ५४ हजार ९६० (१३ प्रतिशत मूल्य अभिवृद्धि करसहित) कबोल रकम राखे पनि छनोटमा पारिएको छ ।

प्रकाशित मिति: : 2020-07-03 21:37:29

प्रतिकृया दिनुहोस्