जासुस बन्न हिँडेका पुटिन कसरी भए शक्तिशाली राष्ट्रपति (भिडियो)

जासुस बन्न हिँडेका पुटिन कसरी भए शक्तिशाली राष्ट्रपति (भिडियो)
पुटिन न एकदमै ठूलो विद्धान थिए, न उनी राजनीतिक परिवारसँग सम्बन्ध राख्थे। तर, यति हुँदाहुँदै पनि उनी रूसमा स्टालिनपछि सर्वशक्तिमान मानिन्छन्। विश्व राजनीतिले पनि उनलाई सशक्त र बलियो राजनेताको रूपमा स्वीकार गरिसकेको छ। अझ उनलाई त सोभियतकालिन रूसको राजनीतिक उत्कर्षलाई पुनः फर्काउने नेताको रूपमा व्याख्या गर्न थालिएको छ।

सन् १९६७ तत्कालिन सोभियत संघको मस्कोस्थित लेनिनग्रादमा रहेको रूसी जासुसी संस्था (केजीबी) को कार्यालय। जहाँ कम्युनिस्ट शासनको प्रभावलाई विश्वब्यापी बनाउन हजारौं रूसी जासुस दत्तचित्त भएर सक्रिय थिए। त्यही एक १५ वर्षीय किशोर युवा जासुस बन्ने उत्कट अभिलाषा बोकेर पहिलो पल्ट केजीबी कार्यालय पुग्यो।

जुडोमा निपूर्ण, सानोदेखि जासुसी किताब पढेर हुर्किएको र रूसी टेलिभिजनबाट हरेक दिन आउने जासुसी टेलिशृंखलाबाट प्रभावित ती किशोर थिए, रूसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन। जो अहिले आफ्नो खुफिया योजनाका कारण विश्वब्यापी रूपमा चर्चित छन्।

स्कुल पढ्दै गरेका पुटिनलाई त्यति बेला केजीबीका अधिकारीले कडा परिश्रम गर्न र कानुन विषय पढ्न सुझाव दिएका थिए। नभन्दै उनी जुडो खेलका ब्ल्याक बेल्टधारी मात्र बनेनन्, उनले लेनिनग्राद स्टेट विश्वविद्यालयबाट कानुन विषयमा स्नातक पनि गरे।

पत्रकार बेन जुद्धाहले ‘फ्रागिल अम्पायरः हाउ रसिया फल इन एण्ड आउट अफ लभ विथ भ्लादिमिर पुटिन’ भन्ने किताबमा लेखेका छन्, ‘पुटिनको जन्म सामान्य परिवारमा भएको हो। उनको बुवा विश्व युद्धका लडाकु हुन् भने एउटा फ्याक्ट्री मजदुर थिए। पुटिनको बाल्यकाल सोभियत शैलीमा बनेको कम्युन अपार्टमेन्टमा अन्य दुई परिवारसँगै बितेको थियो।’

१७ वर्ष केजीबीका लागि काम गर्ने क्रममा उनी पूर्वी जर्मनीको ड्रेसडेनमा बसेर सोभियत संघ विघटनको अन्त्यसम्म सक्रिय थिए। सन् १९८९ मा बर्लिनको पर्खाल भत्किँदा उनी त्यही कार्यरत थिए। सोभियत संघको पतनताका ड्रेसडेनमा केजीबीको कार्यालय अगाडि कम्युनिस्ट शाषनविरूद्ध नारा लगाउँदै ठूलो भीड जम्मा भयो।

त्यो भीडलाई तह लगाउन उनीलगायत तत्कालिन पदाधिकारीले मस्कोको आदेश कुरेर बस्नु परेको थियो। तर, मस्कोबाट कुनै आदेश आएन। यसपछि उनलाई लाग्यो, अब रुसमा कम्युनिस्ट सत्ता रहँदैन!

पुटिन न एकदमै ठूलो विद्धान थिए, न उनी राजनीतिक परिवारसँग सम्बन्ध राख्थे। तर, यति हुँदाहुँदै पनि उनी रुसमा स्टालिनपछि सर्वशक्तिमान मानिन्छन्। विश्व राजनीतिले पनि उनलाई सशक्त र बलियो राजनेताको रूपमा स्विकार गरिसकेको छ। अझ उनलाई त सोभियतकालिन रुसको राजनीतिक उत्कर्षलाई पुनः फर्काउने नेताको रूपमा व्याख्या गर्न थालिएको छ।

कुनै बेला राजनीतिक महत्वकांक्षा नै नपालेका पुटिन कसरी यति शक्तिशाली नेता बने? यो सबैका लागि कौतुहलको विषय हुन सक्छ।

सन् १९९९ मा राष्ट्रपति बोरिस येल्तसिनले आफ्ना थुप्रै अनुयायीलाई छोडेर उनलाई एक्कासी प्रधानमन्त्री पद सुम्पिदा रुसी जनता पनि चकित परेका थिए। त्यति बेला धेरैको प्रतिक्रिया थियो, पुटिनलाई ‘पपेट’ को रूपमा अगाडि सारिएको हो। रूसमा प्रधानमन्त्री पद राष्ट्रपति पछि दोस्रो ठूलो मानिन्छ। उनी सन् १९९६ मा क्रेमिलिनको प्रमुख प्रशासकको रूपमा राष्ट्रपति कार्यालय प्रवेश गरेका थिए।

४ वर्षको अवधिमा पुटिनले त्यस्तो के जादु चलाए, सोभियत संघको विघटनपछि रुसको सर्वेसर्वा बनेका येल्तसिनले आफ्नो उत्तराधिकारीको रूपमा केजीबीको पूर्व कर्मचारीलाई अगाडि सार्नु पर्‍यो? यसको उत्तर अझै खोजिने गरिएको छ।

सन् १९९१ मा केजीबीको जागिरबाट राजीनामा गरेपछि पुटिनलाई उनका गुरु प्रोफेसर आनाटोली सोब्चकले राजनीतिमा ल्याएका थिए। सोब्चक मस्कोका पहिलो प्रजातान्त्रिक मेयर हुन्। उनले नै विश्वविधालयमा पुटिनलाई कानुन विषय पढाएका थिए।

सोब्चक विद्वान त थिए तर सङ्गठनीक कौशल फिटिक्क थिएन। जुन पुटिनमा थियो। उनले ९४ मा पुटिनलाई उपमेयर बनाए। भनिन्छ–यही उनले राजनीतिको गुण सिके। हैकमवादी चरित्र पनि। उनी आफ्ना मान्छेहरू प्रति पहिलेदेखि इमान्दार थिए। त्यसैले उनले ९६ मा आफ्ना गुरू सोब्चकलाई हराएर चुनाव जित्ने भाल्दिमिर याकोभ्लेभले आफूसँग काम गर्न गरेको प्रस्तावलाई यसो भन्दै अस्विकार गरेका थिए–‘कसैको समर्पणमा झुन्डिनु मलाई रुचिकर छ, धोका दिएर पुरस्कृत हुनुभन्दा।’

सोभियत संघको विघटनपछि रुसमा चरम आर्थिक विचलन देखियो। प्रायः सधै नसामा धुत देखिने येल्तसिन देशलाई एकजुट राख्न सकिरहेका थिएनन्। हरेक दिन रुसबाट टुक्रिएर नयाँ देश बनिरहेका थिए। सामारिक महत्वका राज्य पनि विभिन्न बहानामा निहुँ खोजिरहेका थिए। वैदेशिक सहयोग (एनजीओ) का नाममा देशभित्र ठूलो चलखेल भइरहेको थियो।

पहिलो चेचेन युद्धमा सम्झौंता गर्नु परेपछि येल्तसिनको ‘इमेज’ मा ठूलो धक्का लागेको थियो। फेरि उनीमाथि भ्रष्टाचार र कुलीनवर्गको हिमायती भएको आरोप छदैथियो। यस्तो अवस्थामा रुसी आर्मीको खस्किँदै गरेको मनोबललाई उकास्न उनलाई सैनिक संरचना बुझेको र दह्रो योजना बनाउने सहयोद्धाको आवश्यकता थियो। जुन उनले पुटिनमा देखे।

हेलिसिन्कीमा रुसी रणनीति अध्यापन गराउने प्रोफेसर भाल्दामिर गेल्मन पुटिनलाई ‘म्यान अफ एक्सन’ भन्न रुचाउँछन्। पुटिनले आफू प्रधानमन्त्री नियुक्त हुनासाथ चेचनियामा आफ्नो सैनिक मात्र पठाएनन्, लडाकु विमानद्धारा चेचन विद्रोहीहरूको मनोबल तहसनहस पारे। प्रधानमन्त्रीको छोटो कार्यकालमै रुसी अर्थतन्त्रमा सुधारको संकेत देखा पर्न थाल्यो।

प्रोफेसर गेल्मनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘यदि देशको अर्थतन्त्र राम्रो भयो भने जनताले नेतालाई पनि स्विकार गर्छ। यसमा पुटिन पनि अपवाद रहेनन्।’

पुटिन प्रधानमन्त्री नियुक्त भएपछि रुसको जिडिपी माथि उक्लिएको थियो। उनको एकपछिको अर्को सफलतासँगै येल्तसिनले सन् २००० मा आफ्नो उत्तराधिकारीको रूपमा उनलाई कार्यवाहक राष्ट्रपतिको पद सुम्पिएर राजनीतिबाट बिदा लिएका थिए।

केही पश्चिमा मिडियाले येल्तसिनले राष्ट्रपतिबाट राजीनामा गर्नुको कारण उनीमाथि बढ्दो नैतिक तथा राजनीतिक दबाबलाई लिएका छन्।

पुटिनले सत्ताको साँचो पाएपछि केन्द्रीय सत्तामा प्रभाव पार्ने कुलीनवर्गसँग सम्झौंता गरेको, उनीहरूले आफ्नो विरोध नगर्ने, यसको सट्टा उनीहरूको व्यापार व्यवसायमा हस्तक्षेप नगर्ने नीति लिएको आलोचकहरूको भनाई छ।

सन् २००० मा भएको राष्ट्रपतिको निर्वाचनमा ५३ प्रतिशत मत ल्याएर पुटिन रुसी सत्तामा स्थापित भए। पहिलो कार्यकालमा उनले रुसको तेल भण्डारको खुब उपयोग गरे। सुध्रिँदो अर्थव्यवस्थाका कारण सन् २००४ मा पुनः अर्को कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भए।  यसअवधिमा रुसको जिडिपी ७० प्रतिशतले उकालो लाग्यो। यस्तै लगानी १ सय २५ प्रतिशतले बढ्यो। विस्तारै उनको छवी नायकको बन्न थाल्यो।

रुसमा पहिले अमेरिका झैं दुई कार्यकालका लागि मात्र राष्ट्रपति बन्न पाउने नियम राखिएको थियो। सन् २००८ मा राष्ट्रपतिमा आफ्नो दोस्रो कार्यकाल पुरा भएपछि उनले आफ्ना सहयोगी तथा प्रधानमन्त्री डिमेट्री मेडभेडेभलाई राष्ट्रपतिको रूपमा उतारे र आफू प्रधानमन्त्री बने।

यसअवधिमा राष्ट्रपतिको केही अधिकार आफूले लिए। सन् २०१२ मा डिमेट्रीको कार्यकाल पुरा भएपछि उनी नै दोस्रो कार्यकालका लागि निर्वाचित हुने धेरैको अपेक्षा थियो। तर, पुटिनले राष्ट्रपतिको कार्यकाल ४ बाट ६ बर्षमा पुर्‍याएर डिमेट्रीको स्थानमा आफैं चुनाव लड्ने निर्णय गरे।

उनको यो निर्णयको आलोचना भयो। प्रतिद्धन्द्धीले उनीमाथि ‘सवैधानिक ठगी’ को आरोप लगाए। तर, १२ वर्ष रुसी राजनीतिलाई आफ्नो वरिपरि घुमाइसकेका पुटिन राजनीतिका यति माहिर खेलाडी बनिसकेका थिए, उनलाई प्रतिद्धन्द्धीको आरोपले खासै असर गरेन। उनले यसअवधिमा आफ्ना थुप्रै प्रतिद्धन्द्धीलाई सखाप पारिसकेका थिए।

राष्ट्रपतिको तेस्रो कार्यकालका लागि भएको निर्वाचनमा उनले ६४ प्रतिशत मत प्राप्त गरे। राष्ट्रपतिको तेस्रो इनिङमा उनले युक्रेनलाई आफ्नो अधिनमा ल्याए। चीनसँगको सम्बन्ध विस्तार गरे। अमेरिकाको कडा आलोचनाका बीच विश्व कप प्रतियोगिताको सफलताका साथ आयोजना गरे। अहिले उनले रुसी जासुसीतन्त्रलाई सोभियतकालिन अवस्थामा पुर्‍याएका छन्। सैनिक अभियानलाई पूर्वी युरोपदेखि मध्य एसियासम्म फैलाइरहेका छन्। रुसको साइबर अभियानलाई विश्वकै खतरनाक अभियानको रूपमा वासिङ्टनले आलोचना गर्दै आइरहेको छ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदा डोनाल्ड ट्रम्पलाई जिताउन पुटिनको ठूलो हात रहेको अमेरिकी मिडियाले बताउँदै आइरहेका छन्। ट्रम्पले पनि चुनावी अभियानका क्रममा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुस र बाराक ओबामा भन्दा पुटिनले आफ्नो देशका लागि धेरै काम गरेको आरोप लगाउँदै आइरहेका थिए।

विश्व अहिले पुनः आणविक होडबाजीमा लागेको बेला पुटिनले आफ्नो सैन्य क्षमतालाई पनि बढाउँदै लगेका छन्। उनको २०३६ सम्म राष्ट्रपति बन्ने अभियानलाई प्रोफेसर गेल्मन भन्छन्, ‘सन् २००० मा उनी राष्ट्रपति बन्दा कसैले पत्याएका थिएनन्। अहिले उनी फिनिस राष्ट्रपति उर्हो केकोनेन जस्तै २६ वर्ष सत्ता चलाउने अभियानमा छन्।’

 यो पनि 

सीको बाटोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

प्रकाशित मिति: Jul 05, 2020 09:22:35

प्रतिक्रिया दिनुहोस

सबै