छत्तिसगढ सरकारले प्रतिकिलो डेढ रुपैयाँ भारुमा गोबर किन्ने

भारतको छत्तिसगढमा सरकारले किसानका गोठहरुबाट गाइवस्तुको गोबर किन्ने भएकाे छ।

सरकारले प्रतिकिलो डेढ रुपैयाँ भारु दरले गाइवस्तु पालक किसानहरुबाट गोबर किन्ने भएकाे हाे।

छत्तिसगढका मुख्यमन्त्रीका अनुसार पशुपालनलाई व्यवसायिक रुपले फाइदाजनक बनाउने, सडकमा छाडा पशुको समस्या निर्मूल पार्ने तथा पर्यावरणको सुरक्षाका लागि गोबर खरीद गर्ने योजना अघि सारिएको हो।

गोबर खरीद गर्नका लागि सरकारले मन्त्रीमण्डलीय उपसमिति गठन गरेको थियो र सोही उपसमितिले किसानबाट खरीद गरिने गोबरको मूल्य निर्धारण गरेको हो। यद्यपि हरेक दिन खरीद गरिने गोबरको परिमाण, गोबर खरीदका लागि छुट्टाइएको कूल बजेट लगायतका विषयमा चाहीँ खुलाइएको छैन।

छत्तिसगढका कृषिमन्त्री तथा उपसमितिका अध्यक्ष रविन्द्र चौबेले आगामी जुलाई २१ मा पर्ने हरेली पर्वको दिनदेखि किसानबाट गोबर खरीद गरिने घोषणा गरेका छन्। राज्य सरकारले गोधन न्याय योजना अन्तर्गत किसानबाट गोबर खरीद गर्न लागेको हो।

सरकारले खरीद गरेको गोबरबाट कम्पोष्ट मल तयार पारी त्यसलाई कृषकहरुलाई नै सुपथ मूल्यमा बिक्रि गरिनेछ।

हालका लागि ५ हजार वटा केन्द्रहरु मार्फत गोबर खरीद तथा मलखाद निर्माण गरिनेछ। यसबाट झण्डै साढे ४ लाख मानिसले रोजगारी पाउनेछन्।

एक तथ्यांक अनुसार छत्तिसगढमा १ करोड ११ लाख ५८ हजार ६७६ वटा गाई तथा भैँसी रहेका छन्। एउटा गाईभैँसीले औषतमा दिनमा १० किलो गोबर उत्सर्जन गर्दछ। 

यस हिसाबले एक करोड गाईभैँसीको गोबर खरीद गर्दा समेत हरेक दिन १५ करोड भारु खर्च हुनेछ। जस अनुसार एक महिनामा ४५० करोड भारु तथा एक वर्षमा ५४ अर्ब भारु गोबर खरीदमा खर्च हुनेछ। 
 

प्रकाशित मिति: : 2020-07-07 08:10:33

प्रतिकृया दिनुहोस्