बेलायतमा १३० पछि कोरोनालाई जितेकी फातिमा

कोरोना भाइरसविरूद्ध सबैभन्दा लामो समय युद्ध लडेकी बेलायतकी फातिमा ब्राइडलले १ सय ३० दिनपछि जित हात पारेकी छिन्। 

३५ वर्षीय फातिमालाई हालै रिकवरी वार्डमा सारिएको छ। फातिमा र उनको श्रीमान ट्रेसी गत मार्चको ६ तारिख मोरोक्को यात्रा सकेर बेलायत फर्किएका थिए। पहिले उनको श्रीमान ट्रेसीमा कोरोनाको लक्षण देखा परेको थियो। यसपछि फातिमालाई सुरु भयो। 

१२ मार्चमा यी दम्पत्ति बेलायतको साउथह्याम्पटन अस्पताल भर्ना भएका थिए। श्रीमान छोटो समयमै निको भएर फर्किए तर फातिमालाई १ सय ३० दिनसम्म अस्पतालमा बस्नु पर्यो। यस अवधिमा उनी १ सय ५ दिन भेन्टिलेटरमा थिइन्।

अहिले फातिमा हिँडडुल गर्न सक्षम छिन्। स्वास्थ्य लाभ गरेपछि उनले भनिन्, ‘यो सबै सपना जस्तै छ।’ उनी ४० दिन कोमामा थिइन्। उनी आफूलाई जिवित राख्ने डाक्टर तथा नर्सप्रति आभारी छिन्। फातिमालाई अस्पतालमा भर्ना गरेपछि १८ मार्चसम्म धेरै पल्ट एन्टिबायोटिक्स दिइएको थियो। तर, यसले कुनै लाभ गरेन। यसपछि उनलाई आइसीयूमा स्थानान्तरण गरिएको थियो। फातिमा निमोनिया, कोभिड–१९ र सेप्सिस तीनवटा रोगसँग एकै चोटी लडिरहेकी थिइन्। 

फोक्सोसम्म अक्सिजन आपूर्ति गर्न उनको मुखबाट पाइप प्रवेश गराइएको थियो। यस अवधिमा उनको श्रीमानले उनलाई बाहिर सिसाबाट मात्र हेरेका थिए। ट्रेसी पेशाले सेनाका जागिरे हुन्। उनी आफ्नो श्रीमती जसरी निको भइन, यसलाई चमत्कार भन्न रुचाउँछन्। ‘म उनलाई भेट्न आफूलाई रोक्न सकिरहेको छुइन्,’ ट्रेसीले भने। फातिमा पनि आफ्नो श्रीमानसँग भेट्न आतुर देखिन्छिन्। ट्रेसीका अनुसार फातिमाको फोक्सो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। उनी फातिमाले पहिले जस्तै स्वास लिन नसक्ने बताउँछन्। ‘उनीसँग मेरो भेट २०१६ मा भएको थियो। हाम्रो ४ केटाकेटी छन्,’ उनले भने।

प्रकाशित मिति: : 2020-07-21 08:55:23

प्रतिकृया दिनुहोस्