पिरो अचारसँग मःमः खाँदा चीनमा एक पुरुष अस्पताल भर्ना 

एजेन्सी

बेइजिङ

चीनमा पिरो अचारसँगै मःमःका स्वाद लिइरहेका एक पुरुषमा शारीरिक समस्या देखिएको छ। ६३ वर्षीय वाङले डिनरमा अत्याधिक पिरो अचारसँग मःमः खाएका थिए। उनको पेट दुख्न थालेपछि अस्पताल पुर्‍याइएको थियो। 

अस्पतालमा अधिक पिरो र मसालावाला खाना खाएको कारण वाङको पेटको नलीभन्दा माथिको भाग फाँटेको पुष्टी भएको थियो। उनको छातितिरको भागमा दुलो देखिएको थियो। 

उनको उपचार पूर्वी चीनको एक अस्पतालमा भएको थियो। डाक्टरका अनुसार निकै पिरो अचार र मसाला मिसाइएको मःमः खाने क्रममा उनको पेटमा ग्यास भरिएको थियो। डाक्टरहरूले प्रेशर बढेर मुटुतर्फ सर्दै ब्लास्ट भएको बताएका छन्। घटना जियाङ्सु प्रान्तको भएको चिनियाँ अखबारले बताएको छ।  

वाङले डिनरको रूपमा मःमः खाने क्रममा उनको पेट दुख्न थालेको र जीउँबाट खलखल पसिना आएको बताए। ‘मैले पेटमै केही फुटेको अनुभव गरेँ,’ उनले बताए। घटनालगत्तै परिवारले उनलाई अस्पताल पुर्‍याएको थियो। परिवारका सदस्यले वाङ पछिल्लो वर्षदेखि नै मुटुको समस्याबाट पीडित रहेको बताएका छन्।

चिकित्सकहरूले उपचारका क्रममा वाङको पेटबाट ३ हजार मिलिलिटर मल र पानी निकालेको बताएका छन्। पेटलाई २३ हजार मिलिलिटर पानीले सफा पनि गरिएको थियो। डाक्टरले सर्जरीका क्रममा उनको मुटुमा डेढ इन्चीको दुलो भेटिएको बताए। अहिले उनको अवस्था सामान्य भएको बताइएको छ। यसको चर्चा अहिले सोशल मिडियामा व्यापक छ।

प्रकाशित मिति: : 2020-08-04 18:24:17

प्रतिकृया दिनुहोस्