सरकारका प्रवक्ता भन्छन्– लकडाउनमा जानेबारे अहिले सोचेका छैनाैँ (भिडियो)

सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउनको सम्भावना नरहेको बताएका छन्। 

बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकारले गरेको निर्णय सुनाउँदै उनले उक्त कुरा बताएका हुन्। 

‘चैत १० गते सरकार जुन हिसाबले लकडाउनमा जाने निर्णयमा पुगेको थियो त्यो तरिकाले अहिले सोचिएको छैन,’ उनले भने, ‘अहिलेको अवस्थामा जनताको स्वास्थ्यलाई मात्र नभएर आर्थिक अवस्थालाई पनि हेर्नुपर्ने स्थिती छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले पछिल्लो ६ महिनाको तथ्यांकमा मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा देखाएको समेत बताए। ‘अहिले कोरोनाका कारण मरिरहेका मान्छे अरु नै कारणले मरिरहेका छन्,’ अर्थमन्त्रीसमेत रहेका खतिवडाले भने।

उनले कोरोना संक्रमण बढी भएको ठाउँमा कडाइ गरिने समेत बताए। यसका लागि सरकारले जिल्ला प्रशासन र स्थानीय निकायलाई निर्देशन दिएको समेत बताए। 

नेपालमा बिहीबार थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । यसमध्ये बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
योसँगै नेपालमा  कुल संक्रमितको संख्या २१ हजार ७५० जना पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ। बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन्।

हालसम्म ६५ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: : 2020-08-06 17:13:24

प्रतिकृया दिनुहोस्