विद्युत् सेवा अवरुद्ध ः मुगु सदरमुकाम अन्धकार

रासस

मुगु

जिल्ला सदरमुकाममा वितरित विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामलगायत आसपासका क्षेत्र अन्धकार भएको छ। 

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत गमगाड वितरण केन्द्रको विद्युत्गृहमा रहेको नोजल प्रेसर ट्याङ्कको सेटमा समस्या आउँदा बुधबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो।

 विद्युत् सेवा अवरुद्ध हुँदा छायाँनाथ रारा नगरपालिकाका १४ वडामध्ये विद्युत् सेवा पुगेका ११ वडामा रहेका दुई हजार ८०४ ग्राहक अँध्यारोमा बस्नु परेको छ भने दैनिक सरकारी कामकाज सञ्चालन गर्न समस्या भएको छ।

बुधबार राति ११ बजे विद्युत्गृहमा नोजल प्रेसर ट्याङ्कबाट तेल चुहावट भएपछि विद्युत् उत्पादनमा अवरोध आएको थियो। मुगुका करीब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना गरिएको गमगाड साना जलविद्युत् आयोजना पटकपटक बिग्रिन थालेपछि स्थानीय बासिन्दाले सास्ती बेहोर्दै आएका छन्।

करीब ३९ हजार ६०७ युनिट बत्ती खपतबाट करीब रु तीन लाख ५० हजार मासिक आम्दानी हुने गरेको गमगाड साना जलविद्युत् आयोजनाले जनाएको छ। कूल ४०० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको विद्युत् उत्पादन केन्द्रको नोजल प्रेसर सेट मर्मत तथा नयाँ सेट खरिदका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको र उक्त सामग्री चीनमा मात्र पाइने हुँदा खरिदका लागि केही समय लाग्ने भएकाले बत्ती आउने समय यकिन भन्न नसकिने आयोजनाका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताए।

प्रकाशित मिति: : 2020-08-07 15:49:09

प्रतिकृया दिनुहोस्