अस्पताल डुलाउदा डुलाउदै ज्यान गुमाएकी २० वर्षीया युवतीमा काेराेना

निजी अस्पतालले भर्ना नलिएपछि उपचारका लागि डुलाउदा डुलाउदै शुक्रबार ज्यान गुमाएकी २० वर्षीया युवतीमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ। 

वीरगञ्ज २ छपकैयाकी युवतीकाे गण्डक कोभिड अस्पतलामा मृत्यु भएकाे थियाे। मृत्युपछि शनिबार नारायणी अस्पतालको ल्याबमा गरिएकाे स्वाब परीक्षणमा काेराेना संक्रमण पुष्टि भएको हो।

उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भूजेलका अनुसार मृतकलाई तीन दिनदेखि ज्वरो आइरहेको थियो। 

सुरुमा सामान्य औषधीले ज्वरो ठिक भएपनि शुक्रबार राति १० बजे उनको स्वास्थ्यमा समस्या आएको थियो। तत्काल उनलाई अस्पताल लैजाँदा कोभिड पुष्टि भएकाहरुको मात्र उपचार हुने भनेर फर्काइएको थियो। 

ती युवतीलाई वीरगञ्जको एडभान्स, तराई, भवानी, वयोधा, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले उपचार गर्न नमानेको र नारायणी अस्पताल लिएर जाँदा अस्पतालले अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर लिएर जानुभन्दै फिर्ता गरेको जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमदले बताए। 

‘वीरगञ्ज हेल्थ केयर अस्पताल पुर्‍याउदा कोभिड पुष्टि भएकाहरुको मात्र उपचार हुने भनेर भर्ना लिन मानेनन्। बिरामीको अवस्था बताएर कोभिड अस्पतालका संयोजक डा‍. उदय नारायण सिंहको सहयोगमा गण्डक अस्पतालमा राती २ बजे भर्ना गरेसँगै युवतीको ज्यान गएको हो,’ उनले बिएल नेपालीसँग भने।

राती १० बजे देखि २ बजेसम्म कुनै अस्पतालले भर्ना गर्न नमानेपछि चरम लापरवाहीले ती युवतीले अकालमै ज्यान गुमाउनु परेको जसपामा नेता अहमदले बताए। 

प्रकाशित मिति: : 2020-08-09 11:07:02

प्रतिकृया दिनुहोस्