फेरि स्थगित भयो ‘हाइप्रोफाइल’ बाघ तस्कर लोडु डिमेको मुद्दा, ५ वर्ष कैद सजाय तोकिएका डिमे किन छन् जेल बाहिर ?

बाघका अंगको अवैध व्यापारमा संलग्न रहेको अभियोग लागेका काठमाडौंका लोडु डिमे सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका ‘हाइप्रोफाइल’ मध्येका अभियुक्त हुन्। उनलाई २०७१ सालमा उच्च अदालतले पाँच वर्ष कैद हुने फैसला सुनाए पनि उनले जेल बस्नुपरेको छैन।

डिमेले सर्वोच्च अदालतको आदेश अनुसार कारागारमा नबसी उच्च अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने सुविधा पाएका हुन्। त्यस्तो सुविधापछि उनले सर्वोच्च अदालतमा दिएको पुनरावेदनको निवेदनमा भने सर्वोच्चले पछिल्लो दुई वर्षदेखि सुनुवाइ नै गरेको छैन।

उनको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको थियो, तर फेरि पनि सुनुवाइ भएन। अब उनको मुद्दाको पेशी कहिलेलाई तोकिन्छ भन्ने निधो छैन।

८ वर्षअघिको त्यो घटना

२८ पुस २०६९ साँझ काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा २ ख ७५०४ नम्बरको गाडीबाट प्रहरीले बाघको छाला पाँच थान, हड्डी ५१२ थान र दाह्रा १२२ थान बरामद गर्‍यो। गाडी धनी सुकबहादुर तामाङ र चालक नकुल तामाङ पक्राउ परे।

सुकबहादुरले काठमाडौं–६ बौद्ध तीनचुलीका लोडु डिमेको सामान आफूले रु. १ लाख पाउनेगरी स्याफ्रुसम्म लगिदिन लागेको बताए। त्यसपछि प्रहरीले डिमेको काठमाडौंस्थित घरमा छापा मारेर वन्यजन्तुका थुप्रै अंग, तीबाट बनेका सामान, ८ थान राहदार्नी तथा नेपाली, भारतीय, चिनियाँ, बाङ्लादेशी र इन्डोनेसियन मुद्रा बरामद गर्‍यो।

लोडु डिमे भागिसकेका थिए। उनकी पत्नी छिरिङ डिकी पक्राउ परिन्। उनले ती वन्यजन्तुका अंग आफू विवाह गरेर उक्त घरमा आउनु अघि देखि नै त्यहाँ रहेको बयान दिइन्।

यो पनि पढ्नुहोस् - कानूनी छिद्रबाटै उम्कन्छन् 'हाइप्रोफाइल' बाघ तस्कर, के फुत्किएलान् त कुन्जोक लामा पनि?

जिल्ला वन कार्यालय नुवाकोटमा उनीहरु विरुद्ध मुद्दा चल्यो। १३ असार २०७० मा जिल्ला वन अधिकृत प्रेमप्रसाद खनालले मुद्दाको फैसला गर्दै डिमेकी पत्नीलाई सफाइ दिए। मुख्य अभियुक्त डिमेलाई भने रु. १ लाख मात्रै जरिवाना फैसला गरे। जिल्ला वन अधिकृतले गरेको उक्त फैसलामा रसुवामा बरामद वन्यजन्तुका अंगको ओसारपोसारमा डिमेको संलग्नता नखुलेको तर काठमाडौंस्थित घरमा अनुमति नलिई लोपोन्मुख वन्यजन्तुको अंग र तीबाट बनेका सरसामान राखेकोमा दोषी पाइएको उल्लेख छ।

प्रकाशित मिति: : 2020-08-12 23:28:42

प्रतिकृया दिनुहोस्