काठमाडौं महानगर-१५ : स्वास्थ्यकर्मी नहुँदा समस्या भयो

आयोमेल

काठमाडौं

काठमाडौं महानगरपालिका वडा नम्बर १५ कि स्वास्थ्य संयोजक उमा बस्नेतले वडामा स्वास्थ्यकर्मी नहुँदा काम गर्न समस्या भएको गुनासो गरेकी छिन्।

उनले वडामा कोरोना भाइरस संक्रमण निरन्तर बढ्दै गइरहेको भए पनि स्वास्थ्यकर्मी अभावले स्वाब संकलन तथा कन्ट्याक्ट टे«सिङमा समस्या भएको बताइन्।

‘वडामा भाइरस संक्रमण तीव्र गतिले बढ्दै गइरहेको छ तर स्वास्थ्यकर्मीको अभावले काम गर्न समस्या भएको छ, स्वास्थ्य संयोजक बस्नेतले आयोमेलसँग भनिन्, ‘समस्या समाधानका लागि वडा सदस्य, स्वयंसेविका सबै मिलेर काम गरिरहेका छौं।’

वडामा अहिलेसम्म भाइरसक संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ४ सय ७ जनामा संक्रमण  पुष्टि भएको उनले जानकारी दिइन्।

स्वास्थ्यकर्मी बस्नेतका अनुसार संक्रमितमध्ये १ सय ४१ जना होम आइसोलेसनमा, ३ सय ९ जना अस्पताल तथा संस्थागत आइसोलेसनमा ४८ जना निको भएका छन्।

वडाले अहिलेसम्म २ सय ४१ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ भने ३ सयजनाको पिसिआर परीक्षण गराएको छ।

स्वास्थ्यकर्मी बस्नेतका अनुसार कोरोना भाइरस संक्रमितले फोन नउठाउँदा र गलत सूचना दिएका कारण संक्रमणको जोखिम बढ्दै गएको छ।

‘वडाभित्र छाउनी अस्पताल रहेको र सेनाका करिब २ सय जवानमा भाइरस संक्रमण रहेको छ। तीमध्ये कतिपयको नाम त कतिपयको नम्बर छैन,’ उनले भनिन्, ‘कसैले फोन उठाउँदैनन्, कसैको सम्पर्क नम्बर नै छैन।’

वडाभर एकमात्रै स्वास्थ्य चौकी छ, जसमा एकमात्रै स्वास्थ्यकर्मी बस्नेत छिन्।

प्रकाशित मिति: : 2020-09-14 08:32:00

प्रतिकृया दिनुहोस्