बुधबार, ३० जुलाई २०२५

लेप्चा सङ्ग्रहालयको प्रवद्र्धनका लागि उद्यान निर्माण

रासस

रासस

इलाम 
News Image
सांकेतिक तस्बिर
• • •

लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि यहाँस्थित सूर्योदय नगरपालिका (सूनपा) ले उद्यान बनाउन थालेको छ। सूनपाले लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो।
 
सूर्योदय–१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको हो। तीन वर्षमा निर्माण सक्ने गरी थालिएको उद्यानको लागत रु एक करोड ८० लाख रहेको छ। गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो।

'उद्यान निर्माण गर्दा बिहान–बेलुका ताजगी महसुस गर्नसमेत स्थानीय व्यक्ति आउने भएकाले यो काम शुरु गरिएको हो' सूनपाका प्रवक्ता वीरबहादुर लेप्चाले भने, 'नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालय हेर्न पाउँछन्।' 

प्रवक्ता लेप्चाका अनुसार उद्यानको निर्माण गएको साउनदेखि शुरु गरिएको हो। अहिले यस स्थानमा भिरालो जग्गा मिलाउने काम भइरहेको छ। उद्यानको निर्माण सकिएपछि गुम्बा समितिलाई नै सञ्चालन गर्न दिइने लेप्चाको भनाइ छ।
 
ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाको भनाइ छ। 'यहाँ गुम्बा छ भन्ने यहीँका बासिन्दालाई थाहा छैन' अध्यक्ष लेप्चाले भने, 'उद्यान बनेपछि यो समस्या हट्छ भन्ने लागेको छ।' उद्यानको अधिकांश क्षेत्रमा फूलबारी बनाउने नगरको योजना छ भने अन्य क्षेत्रमा ‘जिम’ हल र घुमघाम गर्ने क्षेत्र रहने छ।

सङग्रहालयमा पुरातात्विक महत्वका सामग्री रहेको र ती सामग्रीको प्रवद्र्धन गर्न नगरले उद्यान निर्माण थालेको नगरप्रमुख रणबहादुर राईको भनाइ छ। संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि नगरले नयाँ कार्य शुरु गरेको उनको भनाइ छ। सूनपामा मात्र दुई हजार ३०० हाराहारीमा लेप्चा समुदायको बसोबास छ।

मंगलबार, आश्विन ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)