ट्रम्पभन्दा वाइडेनको पल्ला भारी!

आगामी नोभेम्बर ३ मा हुने संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनावबारे अमेरिका मात्र नभएर विश्वभर चासोको विषय हुन्छ। प्रत्येक ४ वर्षमा हुने राष्ट्रपतिको चुनावमा यो वर्ष रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले उम्मेदवारी दिएका छन् भने डेमोक्रेटिक पार्टीबाट जोसेफ आर. वाइडेन चुनावी मैदानमा छन्।

वाइडेन सन् २००८ देखि २०१६ सम्म लगातार २ अवधि राष्ट्रपति रहेका बाराक एच. ओबामाका सहकर्मी उपराष्ट्रपति हुन्। उपराष्ट्रपतिको पदमा चुनिनुभन्दा पहिले उनले करिब ३६ वर्ष (सन् १९७३–२००९) आफ्नो गृहराज्य डेलावेरबाट संघीय संसदको माथिल्लो सदन फेडरल सिनेटमा प्रतिनिधित्व गरेका थिए।

वर्तमान राष्ट्रपति ट्रम्प विशुद्ध ब्यापारी हुन्। दुवै राष्ट्रपतीय उम्मेदवारको व्यक्तित्वमा पनि एक सय ८० डिग्रीको असमानता छ। जस्तै वर्तमान राष्ट्रपति ट्रम्प स्त्री लम्पट, विवादास्पद अभिव्यक्ति दिने र अहङ्कारी छन् भने वाइडेन शान्त, शालीन र जनाधार भएको नेतामा पर्छन्।

राष्ट्रपति निर्वाचनमा जित्न यो वर्ष करिब १५ करोड ३० लाख (सन् २०१८ को तथ्याङ्कअनुसार) मतदाताले दिने प्रत्यक्ष मत (पपुलर भोट) ले मात्र नभएर देशका ५० वटै राज्यमा वितरण गरिएको कुल पाँच सय ३८ इलेक्टोरल भोटको पनि बहुमत कमसेकम दुई सय ७० मत प्राप्त गर्नैपर्ने हुन्छ। अघिल्लो चुनावमा पपुलर भोट बढी आउँदा पनि इलेक्टोरल भोटले पछि परेकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन पराजित भएकी थिइन्।

चुनावमा कसको जित होला भन्ने कुरालाई लिएर भएका विभिन्न अड्कलबाजी र मत सर्वेक्षणअनुसार हालसम्म डेमोक्रेटिक पार्टीका उम्मेद्वार वाइडेन बर्तमान राष्ट्रपति ट्रम्पभन्दा झिनो प्रतिशतले अगाडि छन्। यद्यपी यस्ता सर्वेक्षण अपवादको रुपमा धेरै पटक उत्तानो परेको उदाहरण नभएको होइन। तर पनि मत सर्वेक्षक कम्पनी, सञ्चार समूह र विश्वविद्यालयका अनुसन्धान संस्थानले गरेको यस्तो खाले मत सर्वेक्षण विश्वासिलो मानिन्छ र अधिकांश समयमा यस्ता सर्वेक्षणको नतिजा सकारात्मक नै हुन्छन्।

सन् २०१६ को चुनावमा गरेको अमेरिका र मेक्सिको सीमामा पर्खाल लगाउनेलगायतका बाचा पुरा नगरेको, आप्रवासीप्रतिको अनुदार नीति, अश्वेत नागरिकप्रति असमान ब्यवहार, स्त्री लम्पट स्वभाव र बिभिन्न स्थानमा दिने गैरजिम्मेवार अभिव्यक्तिका कारण राष्ट्रपति ट्रम्प सँधै विवादमा रहँदै आएका छन्।

हालै एउटा सभामा युद्वबाट फर्केर आएका सैनिकलाई हरूवा भन्नु, एक मोडलले यौन शोषणको आरोप लगाउनु र सर्वोच्च अदालतमा उदारवादी छवि बनाएकी न्यायाधीश रूथ बाडर गिन्सवर्गको निधनपछि बहुमत सिनेटरको बिरोध हुँदाहुँदै पनि नर्थ क्यारोलिना राज्यमा भएको चुनावी सभामा नयाँ न्यायाधीशमा मनोनयन गरेरै छाड्ने जस्ता बहुलठ्ठी कुराले ट्रम्पभन्दा चारित्रिक रूपमा पनि सफा अर्का उम्मेदवार वाइडेन लोकप्रिय छन्।

त्यस्तै कोभिड-१९ महामारीलाई हल्का रूपले लिनु, कुनै हालतमा मास्क लगाउन नमान्नु, विज्ञ र वैज्ञानिकलाई अपमानित गर्नु र कोरोनाको भ्याक्सिन चाँडै बजारमा आउने भनेर अमेरिकी जनतासँग झुठो बोल्नु जस्ता कुराले पनि वर्तमान राष्ट्रपति ट्रम्पको लोकप्रियता खस्केको छ।

यस्तै कारणले पनि उनी आगामी चुनावमा पराजित हुनसक्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

आफ्नो दोहोरो मानसिकताको कारण वर्तमान राष्ट्रपति ट्रम्प सँधै विवादमा रहन्छन्। उदाहरणको लागि चेन माइग्रेसन (छोरा छोरी नागरिक भयो भने बाबु आमा र बाबु आमा नागरिक भयो भने छोरा छोरी स्वतः नागरिक हुने नियम) को कट्टर बिरोधी वर्तमान राष्ट्रपति ट्रम्पको सासु र ससुराले यसै नियमको आधारमा अमेरिकाको ग्रीन कार्ड लिएका हुन्।

यी माथिका अनुमान पंक्तिकारको निजी विचार हो। पंक्तिकार राष्ट्रपतिको चुनावमा भोट दिने हैसियत नराख्ने भएकोले यसलाई यहीँ रूपमा लिनु हुन आदरणीय तथा प्रबुद्ध पाठक वर्गमा विनम्र अनुरोध छ। अब चुनावमा कसको विजय वा पराजय हुन्छ त्यसको लागि नोभेम्बर ४ तारिखसम्म कुर्नुपर्ने हुन्छ। तर आजसम्मको चुनावी माहौल आँकलन गर्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेन राष्ट्रपति ट्रम्पभन्दा झिनो अन्तरले भए पनि अगाडि छन्।

प्रकाशित मिति: : 2020-09-22 15:17:00

प्रतिकृया दिनुहोस्