राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव किशोर बहादुर सिंहले संविधान दिवसको दिन घोषणा भएको मान तथा पदकमा राष्ट्रिय गौरव राख्ने खेलाडी तथा पदाधिकारीहरू किन पुरस्कृत भएनन् भनेर वर्तमान नेतृत्वसँग प्रश्न गरेका छन्।
उनले सोसल मिडिया फेसबुकमार्फत राष्ट्रिय खेलकुद परिषद्को वर्तमान पदाधिकारीसँग प्रश्न गरे, ‘खेलकुदमा संलग्न खेलाडी, प्रशिक्षक, कर्मचारीले राष्ट्रपतिबाट तक्मा प्राप्त गर्नु गौरवको विषय हो। तर, यसमा मेराे चित्त बुझेको छैन। पाउनुपर्ने खेलाडीले नपाएकोले के कति कारणबाट विभूषित नभएका हुन, जान्न सकिन्छ कि?’
उनले सागको इतिहासमा नेपाललाई एक्लै ४ वटा स्वर्ण दिलाउन सफल पौडी खेलाडी गौरिका सिंहलाई किन विभूषित गरिएन् भनेर प्रश्न उठाएका छन्। गौरिका नेपाली खेल इतिहासमा एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा चारवटा स्वर्ण जित्ने अहिलेसम्मकै एक्ली नेपाली खेलाडी हुन्।
उनी १३ औं सागमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी पनि बन्न सफल भएकी थिइन्। उनले सुदूरपश्चिमकी चेली भएको कारण गौरिकाले पदकबाट बञ्चित हुनुपरेको हो कि विदेशमा प्रशिक्षण लिएको कारण? यसको उत्तर परिषद्को वर्तमान नेतृत्वसँग खोजेका छन्।
यस्तै, सागमा दोहोरो स्वर्ण जित्ने तेक्वान्दोकी आयषा शाक्य र करातेका मण्डेकाजी श्रेष्ठलाई किन सम्मान गरिएन? यसको पनि प्रश्न खोजेका छन्।
नेपालको राष्ट्रिय टोलीको प्रशिक्षक नभएका र हङकङमा सेक्युरिटीको काम गर्ने तुलसी कुमार गुरुङलाई तेक्वान्दो प्रशिक्षकको नाममा पदक दिनु अचम्भित पार्ने काम भएको बताएका छन्। उनले पोखरा घर भएका कारण दिएको हो कि विदेशमा तेक्वान्दो खेलको विकास गरेबापत दिएको हो? यसको जानकारी पाउन नसकेको भन्दै प्रश्न उठाए।
उनले साफ गेम्सको सचिवालय प्रमुख भएर काम गरेका र जसको नेतृत्वमा नेपालले ऐतिहासिक स्वर्ण जितेको बेला कमल खनाललाई सम्मान नगर्नु सरासर बेइमानी भएको बताएका छन्।
उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त भएको तीन महिनाभित्र पदक जित्ने रमेश सिलवाललाई बधाई दिए। तर, जोखिम मोलेर सचिवालय प्रमुखको पदभार ग्रहण गर्दै लामो समय काम गरेका कमल खनाललाई सम्मान नगर्नु अन्याय भएको बताए।
उनले यी कुराहरू आफू पनि सोही पदमा कार्यभार सम्हालिसकेको हुनाले औल्याएको बताए। उनले नीति नियम नबनाएर हचुवाको भरमा सिफारिस हुँदा यस्तो समस्या आएको बताए। यसले खेलाडीको मनोबल गिर्ने हुनाले सम्बन्धित सबैलाई जानकारी गराएको बताएका छन्।