विचौलियाले पार्टी कब्जा गरेको अवस्थामा घनश्याम भुसाल नै नेतृत्वमा आए पनि केही हुँदैन : रामकुमारी झाँक्री (अन्तर्वार्ता, भिडियोसहित )

नेकपा केन्द्रीय सदस्य हुन्– रामकुमारी झाँक्री । उनी सडक आन्दोलनबाट स्थापित भएकी युवा नेतृ हुन् । ०६३ को जनआन्दोलनका बेला अनेरास्ववियूकी अध्यक्ष थिइन् । अहिले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्य र  अर्थ समितिकी सदस्य पनि हुन् ।

सत्तारुढ नेकपाको शीर्षतहमा पद र प्रतिष्ठाको द्वन्द्व तीव्र छ । यसै लडाइँका कारण फूटको संघारमा पुगेको नेकपाले पुनः एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । युवानेतृ झाँक्री यसलाई अस्थायी युद्धविरामको संज्ञा दिन्छिन् । नेतृत्वप्रति कुनै आशा बाँकी नरहेको बताउने उनी शीर्ष नेतृत्वले विश्वास गुमाइसकेको बताउँछिन् ।

नेकपाले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । उनी महाधिवेशनले पार्टीको गन्तव्य तय गर्न विचारमा स्पष्टता र त्यही अनुसारको नेतृत्व चुन्नुपर्ने बताउँछिन् । पार्टी दलाल पूँजीवादको कब्जामा परेको र नेतृत्व पैसादेखि पैसासम्मको गोलचक्करमा फसेको प्रष्ट बताउने उनले नयाँ पुस्तालाई नेतृत्व दाबी गर्न आह्वान पनि गरिन् । सत्ता–शक्तिको होडमा फसेको नेकपाको आगामी महाधिवेशन, यसले तय गर्नुपर्ने मार्ग र नेतृत्वमा केन्द्रित भएर नेकपा नेतृ रामकुमारी झाँक्रीसँग  माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता :

पार्टी फुट्छ भनिएको नेकपा विवाद आश्चर्यजनक ढंगले अन्त्य भयो । फुट्न सक्ने तहको विवादको कारण केवल पद र शक्तिमाथिको आधिपत्यबाहेक अरु केही थिएन । तपाईं पनि नेकपाको केन्द्रीय सदस्य, यसलाई कसरी हेर्नुभएको छ ?

पार्टी दुई कारणले फुट्छ– एउटा, एकदमै ठूलो सैद्धान्तिक विषय चाहिन्छ । सिद्धान्त, विचार, कार्यक्रमले त्यस्तो पार्टीमा सम्झौता गरेर बसेर क्रान्तिको अविभारा पूरा गर्न सकिन्न भन्ने जब निष्कर्ष निस्कन्छ, त्यस्तो पार्टीमा बसिरहनु हुन्न । अनि पार्टी फुट्छ ।

अर्को, चरम व्यक्तिवाद भयो भने पार्टी फुट्छ । ०५४ सालमा मुद्दाले फुटेको थियो– पार्टी (एमाले) । हामी फुटेको पार्टीतिर लाग्यौँ । यो बेला चरम व्यक्तिवाद छ ।

पार्टी फुट्नसक्छ भन्ने शंका हामीलाई पनि लागेको थियो । मलाई फुटि चाहिँ हाल्दैन भन्ने किन लाग्थ्यो भने नयाँ बनाउनसक्ने सामथ्र्य फुटाउनेसँग छैन । जो–जो पात्रले फुटाउँछन् भन्ने अनुमान गरिएको थियो, उहाँहरुको इच्छा, रुचि, चाहना, तत्परताले पार्टी बनाउनसक्ने सामथ्र्य राख्दैनथ्यो । त्यसैले मलाई पार्टी फुट्दैन भन्ने नै लाग्थ्यो ।

कि सबै एकै डुङ्गामा सवार छौँ, सँगै डुब्छौँ भन्ने लागेर नफुटेको हो ? फुट्दा त त्यसपछि बन्ने दुवै पार्टी सँगसँगै बिलाउने खतरा पो महसुस गरे कि नेताहरुले ?

मलाई भएन भने तँलाई पनि हुन्न भनेर पोखिने स्थिति थियो त्यो । एउटा ‘डमी’ पार्टी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) दर्ता भएको, उदाउँदो सूर्यलाई चुनाव चिन्ह बनाएको, एउटा गैरसरकारी संस्थामार्फत् पार्टीका वडासम्म समानान्तर कमिटी गठन गरेको अवस्था छ ।

अब आ–आफू गरिखाऊँ भनेर गयो भने पार्टी फुट्न सक्छ । यो ध्वंशका लागि पार्टी फुट्न सक्छ भनेर हामी अलि सचेत थियौँ । पार्टी नफुट्नका लागि उहाँहरुले आफ्नो स्वार्थको व्यवस्थापन गर्नुभएको छ ।

पार्टी फुट्ने तहसम्मै त नजाला । नेताहरुको कुरा सुन्दा कुनै ‘साइड’ को कुरा पनि धेरै कन्भिन्सिङ लाग्दैन । उहाँहरुभन्दा हामीले नै अलि फरक ढंगले सोच्छौँ जस्तो लाग्छ । जे भए पनि अहिलेलाई यो टरेर गएको छ । 

यो युद्धविराम मात्रै हो कि दिगो होला त अहिलेको एकता ?

सहमतिमा पार्टी सञ्चालन गर्ने, नेताको नामबाट समानान्तर गुटका गतिविधि नगर्ने भनेर स्थायी कमिटी बैठकले जेजति निर्णय गरेको छ, त्यसले जारी गरेको ‘अपानि’ (अन्तर–पार्टी निर्देशन) पार्टी सदस्यसम्म नपुग्दै सहमतिमा आयोजना गरेको सचिवालय बैठकै सारियो ।

नेताका नामबाट समानान्तर गतिविधि नगर्ने भनिएको छ, मदन भण्डारी फाउण्डेसनका नाममा सप्ताहव्यापी संविधान दिवश मनाउने काम भइरहेको छ । त्यो गुटगत गतिविधि नै भइहाल्यो । एउटा गैरसरकारी संस्थामा सबै मान्छे हुने कुरा भएन ।

त्यसपछाडि नियुक्तिलगायत सबै सहमतिमा गर्ने भनिएको छ । उहाँहरुको स्वार्थको व्यवस्थापनको कुरा हो । मलाई त्यस्ता नियुक्तिमा कुनै रुचि छैन । त्यो पनि उहाँहरु एकलौटी नै गरिरहनुभएको छ । 

सहमति गर्ने केका लागि त भन्दा उल्लङ्घनका लागि भन्ने भएको छ । हाम्रो नेतृत्व मण्डलले जनताबीच विश्वसनीयता गुमाउनुभएको छ। यसरी विश्वसनीयता गुमाए राजनीतिमा रहिरहिन्छ भन्ने कुरा मलाई ताजुब लाग्छ ।

नौ लाख सदस्यको पार्टी नेकपा, नौ जनाको सचिवालय मात्रै सर्वेसर्वा छ । अरु कुनै पनि कमिटी नै सक्रिय छैन ?

प्राविधिक रुपमा उहाँहरुले ‘होल्ड’ गर्नुभएको हो । उहाँहरुप्रति त्यस्तो विश्वसनीयता छैन । आज पार्टीले के निर्णय गर्छ भन्दा जेसुकै गरोस्, मलाई केही मतलबै छैन । मसँग कुनै आशा नै छैन । कुनै उर्जा नै आउँदैन ।

आज प्रधानमन्त्रीको सम्बोधन छ भन्दा केही उत्साहित गर्दैन । बरु राजाको प्रत्यक्ष शासनका बेला राजाको सम्बोधन आउँछ भन्दा धेरै महत्वपूर्ण लाग्थ्यो । हामी उनीविरुद्ध लडिरहेका थियौँ । केही सुधार गरे कि त जस्तो लाग्थ्यो किनभने सडकमा लड्न सजिलो थिएन । केही निकास पो भइहाल्छ कि जस्तो लाग्थ्यो ।

प्रधानमन्त्रीको सम्बोधनले कुनै आशा नै जगाउँदैन । कुरा एकातिर छ, व्यवहार अर्को छ । अहिले स्वार्थको व्यवस्थापन गरेर एउटा युद्धविराम भएको छ। आन्तरिक समस्या ज्यूका त्यूँ छन् । अझ डरलाग्दो भएको छ ।

मूलतः विचारधाराको प्रश्न छ । सिद्धान्तको छ । संगठनको छ । कार्यशैलीको छ । प्रवृत्तिको छ । यति धेरै बग्रेल्ती समस्याका चाङलाई माथिबाट सफेद कपडाले ढाकेर हामी सफेद छौँ भनिएको छ।

माघमा केन्द्रीय कमिटी बैठक बस्यो । साह्रै सफल भनिएको थियो । त्यसको निर्णय कार्यान्वयनमै लगिएन । चैतदेखि नयाँ विवाद सुरु गरियो । पार्टी फूटको संघारमा पुगेर फर्किएको छ । के अब शीर्षनेतासँग आशा गर्नै नसकिने अवस्था हो ?

केन्द्रीय कमिटीको बैठक धेरै सफल भएको थियो । बैठक सकिएपछि तुरुन्तै त्यसका निर्णयहरुलाई कार्यान्वयन नगरी असफल बनाउन पार्टी संस्थापनबाट शक्तिशाली संस्थागत प्रयास भयो । त्यसपछि यो हालतमा आएको हो । त्यसदेखि अध्यादेशसम्मका प्रकरणहरु त्यसबाट आउँछ ।

नेतृत्वसँग एकदमै विश्वसनीयता छैन । उहाँहरुले चैतमा महाधिवेशन गर्नुहुन्छ भन्ने मलाई विश्वासै लाग्दैन । गरिहाल्नुभो भने पनि यो संयोग मात्र हुनेछ ।

उहाँहरुले बैठक राखे पनि के निर्णय गर्नुहुन्छ ? निर्णय गरिहाले पनि के कार्यान्वयन गर्नुहुन्छ ? आखिर निर्णयको कपी एकातिर, कार्यान्वयन अर्कातिर भएपछि ? नेतृत्वप्रति यति धेरै अविश्वास भएको यस्तो संकट मलाई थाहा थिएन ।

नेतृत्वप्रति आशा हुन्थ्यो । नेतृत्वले उठेर बोलेपछि सम्बोधन भयो भन्ने हुन्थ्यो । अहिले चाहिँ छैन ।

सचिवालयका नौ जनाको छलफल, छ जनाको कार्यदलको प्रतिवेदनबाट महाधिवेशनमा पुग्ने बाटो नै होइन । हामी महाधिवेशनमा जाने हो भने यहाँभित्रको इञ्जिन अर्कै छ । त्यो इञ्जिनले बटारेर त्यहाँसम्म पुग्ने हो । त्यो इञ्जिन पनि हामीले सही–सलामत राख्नु प¥यो ।

महाधिवेश सहमतिमा गर्ने भन्नुभएको छ । सहमतिमा गर्ने भनिएको महाधिवेशन अहिलेको नेतृत्वलाई सुरक्षित राख्ने भन्ने त होला नि, हैन ?

सहमतिमा गर्ने भनिएको महाधिवेशनको के अर्थ छ ? खल्तीबाट प्रतिनिधिहरु निकालेर ल्याउने अनि त्यहाँ लगेर सहमतिमा महाधिवेशन गर्नुको के अर्थ हुन्छ ? त्यसको कुनै अर्थ हुँदैन । त्यसले कुनै ‘भाइब्रेसन’ (तरंग) सिर्जना गर्दैन ।

तपाईंको भनाइ अब महाधिवेशनका लागि बहस खुला गरिनुपर्छ । क्षमताका आधारमा महाधिवेशनबाट चुनिएर नेतृत्व चयन गरिनुपर्छ भन्ने हो ?

हामीसँग मुख्यतः विचारधारको मुद्दा छ । हामी कहाँ जाने त ? हामी जाने बाटोमा लानका लागि कस्तो पार्टी चाहिन्छ ? कसले नेतृत्व गर्छ ? त्यसको सदस्य र पार्टी स्वयम् कस्तो हो ? त्यो बनाउने प्रक्रिया कस्तो हो ?

हामी निकै राजनीतिक सैद्धान्तिक विषयबाट जान्छौँ । अहिले नेकपाको जुन मुख्य इञ्जिन छ, त्यो इञ्जिन यसमा रुझान राख्छ । हामी त्यो प्रयत्न गर्दैछौँ ।

त्यसो गर्दा बाहिर समाजमा देखिने पुस्तान्तरणका मुद्दा छन् । एउटा व्यक्तिले कतिपटक उही पदमा जाने भन्ने पनि छन् । थुप्रै मुद्दाहरु त्यहाँ जोडिएर आउँछन् । सतहमा आउने यी मुद्दालाई पनि मुखरित गर्न हामीले इञ्जिन ठीक बनाउनुप¥यो । नट–बल्टु कस्नुपर्‍यो ।

मार्गदर्शक सिद्धान्तका प्रश्न पनि होलान् । अब नेकपाको मार्गदर्शक सिद्धान्त हिजो एमालेले भनेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) वा माओवादी केन्द्रले भन्ने गरेको ‘२१सौँ शताब्दीको जनवाद’ के हुनुपर्छ ?

मैले एउटा अनौपचारिक कार्यक्रममा वामदेव कमरेडको कुरा सुनेँ– जबज मार्गदर्शक सिद्धान्त होइन, त्यो त कार्यक्रम हो, म महाधिवेशनमा ‘डकुमेन्ट’ लान्छु भन्दै हुनुहुन्थ्यो  ।

विचारधारको प्रश्नमा कस्तो कार्यक्रम ल्याउने भन्नेमा हामी कस्तो समाज, कस्तो व्यवस्थामा छौँ भन्ने हेर्नुपर्छ । कस्तो व्यवस्थामा कस्तो कार्यक्रम चाहिन्छ भनेर हेर्नुपर्छ । हाम्रो नेताहरु जसले सहमति गर्छन्, उनीहरुले सामाजिक चरित्रको विश्लेषण नगर्ने, त्यो चरित्रलाई बदल्ने कार्यक्रम बोक्ने सिद्धान्त बनाउन प्रयत्न नगर्ने । उहाँहरुले त्यो एउटा धार्मिक ग्रन्थजस्तो सिद्धान्तका पोथ्रालाई बोकेर हिँड्नुभएको छ ।

मूलतः राख्ने चाहिँ ‘जनताको बहुदलीय जनवाद’ वा नौलो जनवाद वा ‘ह्वाट इभर’, हिँड्ने चाहिँ पूरा दक्षिणपन्थी बाटो र पूरापूर निम्न पूँजीवादी चिन्तनको बाटो ! आजको नवउदारवादी कार्यक्रम लागू गर्न हिँड्ने तरिकाबाट हामी कहीँ पुग्दैनौँ । यसले सिर्जना गरेका समस्या हामीले देखेकै छौँ ।

हाम्रो समाज कस्तो छ ? हाम्रा क्रान्तिले के–के गरे ? अब परिवर्तन के हो ? अब कसरी जाने ? भन्ने कुरा नै यो समाजको विश्लेषणपछि यो विश्लेषण गरेर जुन चरित्र निर्धारण भएको छ भन्ने हाम्रो जुन ठम्याइ छ, त्यसलाई परिवर्तन गर्नका लागि चाहिने विचार हो । त्यो विचार के नामको हुन्छ ? अहिले नै भनिरहन जरुरी छैन । छलफल भएर निर्धारण गर्न सकिन्छ । त्यो समाजवादी बाटोतर्फै जान्छ ।

अर्को कुरा, ‘जनवाद’ भनिएको पूँजीवादी क्रान्तिका लागि जनताको जनवादी क्रान्ति गरेको हो । क्रान्तिपछि पनि फेरि उही क्रान्ति हुँदैन ।  समाज विकासको नियम पनि ‘युनिलाइनर’ अगाडि बढ्छ । समाज हिजो दासयुग, सामन्ती युग हुँदै यसरी अगाडि बढेको छ । फेरि यो पछाडि फर्कन्न । यो अगाडि जानुपर्छ । दूरदर्शी हुनुपर्छ ।

यो सबलाई टुंग्याउने विचारधारको प्रश्न हो । यो काम चाहिँ आजको नेकपाको इञ्जिनले गर्नुपर्छ । त्यसका लागि हाम्रा साथीभाइहरु मन्त्री वा नियुक्तिमा अल्झिनु भएन ।

नेकपा (एमाले) को नवौँ महाधिवेशनले पास गरेको उमेर ७० वर्ष, पार्टीको कार्यकारी प्रमुखमा दुई कार्यकाल मात्र रहने थियो, जुन खारेज भइसक्यो । प्रधानमन्त्री भइसकेका नेता फेरि कार्यकारी सदस्य भएर फर्कने कि नफर्कने भन्ने जस्ता प्रश्न पनि होलान् ?

विचारधाराले  माग गर्छ– एउटा मान्छे कतिचोटी प्रधानमन्त्री केका लागि हुने ? जब विचारको प्रश्न आउँछ भने यो विचार बोक्ने जो भए पनि हुन्छ । एउटा मान्छे कति चोटी पार्टी अध्यक्ष केका लागि हुने ? यो विचार बोक्नुहुन्छ भने त जसले गरे पनि हुन्छ । एउटा मान्छे कतिचोटी सांसद् हुने ? कतिचोटी मन्त्री हुने ? कतिचोटी केन्द्रीय सदस्य हुने ? केका लागि हुने ? अब मानकहरु बन्दै जान्छन् ।

सिद्धान्तको कुरा टुंगो लगायौँ भने बल्ल यो सिद्धान्त बोक्ने मान्छे त ८० वर्षको मोहनचन्द्र अधिकारी आए पनि हुन्छ, सिद्धिलाल सिंह आए पनि हुन्छ अथवा, मभन्दा पछाडिको ‘इनफ इज इनफ’ भन्दै हिँड्ने भाइबहिनीमध्येबाट २५ वर्षका केटाकेटी आए पनि हुन्छ ।

त्यस कारण हामीजस्ता मान्छेको सवाल के हो भने नेताका वरिपरि ऐजेरु लाग्ने होइन, समाजलाई रुपान्तरणको बाटोबाट अलिकति पर यात्रा गर्न विचार चाहियो । त्यो विचारलाई बोक्ने जो पनि नेता हुन्छ । मलाई भन्नुहुन्छ भने त त्यहाँ कुनै उमेर, लिङ्ग, जातजाति, क्षेत्रलाई म प्राथमिकता नै दिन्नँ ।

त्यो कुराका लागि आउने महाधिवेशन त्यो कारणले धेरै महत्वपूर्ण छ । मैले देशैभरिका युवा साथीहरुलाई पनि के भन्दै छु भने मदन भण्डारी नै स्वयम् ३५–३६ वर्षमा महासचिव हुनुभएको थियो । पुष्पलालले २५ वर्षको उमेरमा  पार्टी स्थापना गर्नुभएको थियो । अलिकति सामाजिक पारिवारिक व्यावधानरहित एउटा उर्जाशील उमेर समूहकै साथीहरु राजनीतिमा आउनुपर्छ ।

भनेपछि विचारलाई प्रष्ट पार्नुपर्‍यो ? अनि पुस्तान्तरणका लागि नेतृत्वसँग ‘च्यालेञ्ज’ गर्नुप¥यो ?

पुस्तान्तरण गर्नुस्, तपाईंहरु छाड्नुस् भन्दैमा कसैले शक्ति र बैभव छाड्छ ? राजनीति यति निर्मम चिज हो, तपाईं छाड्नुस् भनेर अनुनय गरेर हुँदैन । त्यहाँ रक्तपात गरेर भए पनि बसिराख्छ ।

हामीले छोड्न बाटो बनाइदिनुप¥यो । माथि बसेकालाई त्यहाँ टिक्न नसक्ने वातावरण बनाऊँ न, ती झरिहाल्छन् नि ! यति तीव्र ओरालो लागेको छ,  झरिहाल्छ । अड्याउन लागेर उसले झारिदिन्छ र खाउँला भनेर बसिरहेका छौँ । यो दुर्भाग्य हो ।

पार्टीभित्रको त्यत्रो ठूलो शक्ति आज ‘डेडलक’ भएर बसिरहेको छ, पार्टी सञ्चालन नहुँदा, यति धेरै बेथिति हुँदा पनि प्रश्न नउठाउनु, आश गरिएका मान्छेले अरुसँगै आश गरेर तमासा देखाउनु चाहिँ मलाई दुर्भाग्यपूर्ण लाग्छ ।

बुझ्ने गरी भनिदिनुस् न, महाधिवेशनपछिको नेतृत्व सचिवालयभित्रबाटै आउला कि त्योभन्दा तल स्थायी कमिटीसम्म पुग्ला ?

त्यो इञ्जिन सही ढंगले चलेर विचारधारा सही बनायाँै, बाटो सही बनायौँ भने यो सचिवालयले नेतृत्व गर्छ कि नयाँले गर्छ ? हाम्रोजस्तो पुस्तामा आउँछ कि त्यसले कुनै अर्थ राख्दैन ।

अब हामीले दलाल पूँजीवाद, विचौलियावादका विरुद्ध के गर्ने ? पार्टीलाई विचौलियाले कब्जा गरेर थिलोथिलो भएर नचलेको यस्तो अवस्थामा जो नेता आए पनि फरक पर्दैन । घनश्याम भुसाल आए पनि केही हुनेवाला छैन ।

पहिला कहाँ जाने, कस्तो पार्टी बनाउने भन्ने टुंगो नगरी को नेता हुने भन्नुको अर्थै रहन्न । प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ, वामदेव, बादल, नारायणकाजी वा यतिसम्म कि घनश्याम भुसाललाई नै नेता बनाए पनि केही फरक पर्दैन । यो संरचना, थिति यस्तै राख्दै जानुभयो भने केही हुनेवालै छैन । त्यस कारण नेतृत्व नौ जनाले गर्छन् कि कसले गर्छन् भन्ने महत्वपूर्ण होइन ।

चिनियाँ कम्युनिष्ट पार्टीले केही मान्छेलाई पहिलैदेखि योजनाबद्ध ढंगले नेताका रुपमा ‘ग्रुम’ गर्छ । त्यसैले अहिले सी चिनफिङ जस्ता देशलाई महाशक्ति बनाउन दृढ नेता निस्किन्छन् । हाम्रोमा पाँच वर्ष म अध्यक्ष, तिमी प्रधानमन्त्री, फलानो चाहिँ भोलिको नेता भन्ने ढंगका सम्झौता भइसके । यो अवस्थामा महाधिवेशनले तपाईंले भनेजस्तो परिवर्तन गर्न संभव छ ?

यो त पूरै निम्न पूँजीवादी चिन्तन, बुर्जुवा कार्यशैलीलाई चिनिया कम्युनिष्ट पार्टीसँग तुलना गरेको त केही पनि मिलेन । बुर्जुवा तानाशाही कार्यशैलीमा त्यो तुलनै हुँदैन ।

चीनको नेतृत्व, प्रणाली, विकास सुविचारित छन् । हामीकहाँ केही व्यक्तिका तानाशाही निम्न पूँजीवादी चिन्तन प्रणालीद्वारा त्यो आशक्ति र सत्ता कब्जा गरेर वैभवमा बसिरहने खतरनाक बुर्जुवाशैलीले घर गरेको छ । त्यही कारणले लेनदेन मिलेको छ । त्यसैले म यो विषयतिर जानै चाहन्न ।

दुई अध्यक्ष, दुई वरिष्ठ नेता, उपाध्यक्ष र महासचिव जो छ जना नेता हुनुहुन्छ, उहाँबाट नेता हुने संभावना देख्नुहुन्छ कि हुन्न त्यसो भए ?

यही थिति राख्नुहुन्छ, यही ‘जनताको जनवाद’ भन्नुहुन्छ । एउटा अनुकूलतामा उहाँहरुलाई विचार चाहिएन । सिद्धान्त, संगठन चाहिएन । पार्टी एकता गर्नुभो ।

अहिले अर्को स्वार्थमा सिद्धान्तको जामा लगाएर सिद्धान्तका गफ गर्ने यी पात्रहरु जो भए पनि यो पार्टी चल्दैन । पहिला कहाँ जाने, कस्तो पार्टी बनाउने भन्ने टुंगो नलागी तपाईंले मान्छेका बारेमा गफ गरेर सही ठाउँमा पुगिन्न । त्यस कारण कुरा गर्नै चाहन्न ।

भनेपछि दोस्रो पुस्ताबाट पनि आशा गर्न सकिन्न ?

दोस्रो पनि त्यही हो । व्यक्तिमा म जाँदै जान्न । यो संरचना राखेर यहाँ कोही व्यक्तिले पनि केही गर्दैनन् ।

हामीकहाँ नेतृत्वको विकास गर्ने, त्यसलाई व्यवस्थित ढंगले ‘ग्रुम’ गरेर लाने व्यवस्थित प्रणाली छैन । हामीकहाँ निष्पक्ष चुनाव होस् । सबै सदस्यलाई विचारमा छलफल गर्न उत्तिकै स्वतन्त्रता दिऊँ । चुनावमा जाऊँ, त्यहीँबाट जे आउँछ, लोकतन्त्रले गरेको निर्णय मान्ने हो । चुनावमा जान हामीले राजनीतिक विचारको काम गर्दै जाने हो ।

नेकपाको सचिवालयमै सात जना त वर्तमान र पूर्व पार्टी प्रमुखहरु, चार जना प्रधानमन्त्री भइसकेका नेता हुनुहुन्छ । एउटाले अर्काेलाई निषेध गर्ने प्रयासमा नेतृत्व गतिहीन भएको देखिन्छ । दोस्रो पुस्ता चाहिँ सचिवालयकै नेताको समर्थन गर्दै एक कार्यकाल चाहिँ अझै उहाँ नै हुनुपर्छ भनिरहेको छ । नयाँ पुस्ताले म नेतृत्व गर्न सक्छु भनेर दाबी नै गर्दैन भने कसरी परिवर्तन हुन्छ ?

जसले थापेर बसेका छन्, झार्देला र खाउँला भनेर बसेका छन्, उनीहरुले गर्दैनन् भन्ने त बुझेकै करा हो । यो सबै प्रवृत्तिलाई पराजित गर्नका लागि अरु कसैले पहलकदमी गर्‍यो भने त्यहाँबाट आउन सक्छ । गरेनन् भने आउँदैनन् । नचाहेर पनि उहाँहरु नै नेता हो ।

खराबहरुबाट शासित हुने कि असल शासन दिने, रोजाइ हाम्रै हो । त्यो हामीले जनआन्दोलनका बेला पनि उठाएका थियौँ । आज पार्टीमा पनि उठाउँछौँ ।

अन्ततः शासन गर्ने पार्टीले हो । पार्टीमा खराब मान्छे छन् भने शासन पनि खराबै हुन्छ । त्यस कारण तपाईं झार्देलान् र खाउँला भन्नेमा पर्खिने हो भने खराबहरुबाट शासित हुनुहुन्छ । खराब प्रवृत्ति र पात्रविरुद्ध लड्नुहुन्छ भने सुशासन र जवाफदेहीतासहितको राज्यसत्ता सञ्चालन गर्ने ल्याकत राख्नुहुन्छ भने नयाँ ढंगले जानुस् । जो कोहीलाई यो प्रश्न हो ।

के त्यसो भए मेची–महाकाली अभियान थालौँ, पार्टीभित्र परिवर्तन ल्याऊँ भनेर नेतृत्वभित्रै केही पहल हुँदैछ ?

प्रचण्ड, माधव नेपाल, झलनाथ यिनैले गरेका छन् या सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरु कसैले गरेनन् भने पनि कसैले त गर्छ । अहिले कसैले देखिने गरी गरेको छैन । कसैले गरेन भने यही दुर्गती हुने छ ।

संविधानमा धेरै राम्रा कुरा लेखेका थियौँ । कार्यान्वयन गर्न त मान्छे नै चाहिने रहेछ । मान्छे राम्रा हुन दल नै ठीक हुनुपर्ने रहेछ । त्यही दल सरकारमा गएपछि प्रभावकारिता हुनुपर्ने रहेछ । सिद्धान्तको किताब लेखेर मात्र हुने रहेनछ, पात्रै ठीक हुनुपर्ने रहेछ ।

ठाउँ खाली छ । म त २०–२२ वर्षमा पुग्दै गरेका भाइबहिनीहरुलाई आह्वान गर्छु– आफ्नो ठाउँको नेतृत्वका लागि दाबा गरेर लडौँ । अमेरिका जस्तो महाशक्ति राष्ट्रमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने कानूनी व्यवस्थाले नयाँ–नयाँ मान्छे आउने संभावना छ । नेपालमा बाँचुञ्जेल सत्ता कब्जा गरेर आफ्नो सत्तालाई चरम दुरुपयोग गरेर जनतालाई निराश बनाउने जे नामका पार्टी आए पनि जे सिद्धान्तको फेटा लगाए पनि यस्तै मान्छेलाई पराजित गर्न पुस्तान्तरणलगायतका थुप्रै विषयमा युवा साथीहरुले हस्तक्षेप गरेनन् र लम्पटहरु त्यसको पछि लागे भने पार्टी यस्तै रहन्छ ।

त्यसो भए ७० वर्ष उमेर, दुई कार्यकाल अध्यक्ष, अरु के–के हुनसक्छन्, त्यसका लागि उपयोगी व्यवस्था ?

छलफल गर्दै जाँदा तमाम विषय हुनसक्छन् । सबभन्दा पहिला प्रधानमन्त्री कतिपटक हुने, फेरि किन हुने ? पार्टी अध्यक्ष वा प्रमुख भइसकेको मान्छे फेरि किन हुने, ऊ भएर यसअघि के गर्‍यो ? ३०–४० वर्षदेखि पार्टीको केन्द्रीय कमिटीमा भएका मान्छे अब किन बसिरहने ? एउटा मान्छे २५–३० वर्षसम्म पाँच–सात पटकसम्म चुनाव किन लडिरहने ? एउटै मान्छे पाँच–छ पटकसम्म मन्त्री किन भइरहने ? यी प्रश्न त होलान् नि त ?

एउटा मान्छेको पार्टी शासन प्रशासन भनेको जनताप्रति उत्तरदायी हुने मामिला होइन, खाली उसको अवसरको लागि मात्रै हो त ? आज यो देखिएको छ । यी विषय जब हामीले महाधिवेशनको ‘फ्लोर ओपन’ गर्छौँ, त्यसपछि छलफल हुँदै जान्छ ।

महाधिवेशनमा जाने निर्णय भइसकेको छ । के आह्वान गर्नुहुन्छ– नयाँ पुस्तालाई ?

पार्टीको संरचना कब्जा गर्ने, विभिन्न बिचौलियाहरुबाट पैसा ल्याउने र सदस्यहरु एकमुष्ट बनाउने, तिनै बिचौलियाबाट ल्याएको पैसाले केही सदस्यबीच भोटिङ गर्ने पार्टी कब्जा गर्ने, पार्टी कब्जा गरिसकेपछि पैसाले मतदाता कब्जा गर्ने, त्यही विचौलियाबाट पैसा ल्याउने र तिनैलाई मन्त्री बनाउने अनि फेरि सत्ता कब्जा गर्ने, सत्ता किन भन्दा फेरि पैसा कमाउन, फेरि पैसा किन कमाउने भन्दा फेरि चुनाव जित्न । फेरि चुनाव किन जित्ने भन्दा फेरि पैसा कमाउन । यो गोलचक्करमा जाने हो भने जनताले तपाईंलाई किन भोट हाल्ने ? मैले किन भोट हाल्ने, हामी किन लड्ने ? जीवन रुपान्तरण हुनु परेन ? समाज बदलिनु परेन ? एउटा दलाल विचौलियाको नाइकेलाई चुनावदेखि चुनावसम्म मालिक बनाउन, पैसादेखि पैसासम्म मालिक बनाउन हामी साराको जिन्दगी बर्बाद गर्न मिल्छ र ?

त्यस कारण मौका छ । हरेक संकटले मौका दिन्छ । म यो आह्वान गर्छु– हामी र हामीभन्दा पछिका साथीहरुका लागि मौका छ । आउनुस्, हाम्रो पार्टीमा एकपटक ‘बमबाडी’ नै गर्नुपर्छ । सानोतिनो तागतले यो भत्कन्न । स्वार्थहरुको ‘क्लस्टर’ बनाएर यत्ति मिलेर बसेका छन् कि यिनको स्वार्थमा यत्ति सजिलै गरी हान्न सकिन्न ।

हामी निश्वार्थ ठूलो पंक्तिले ‘बमवाडी’ गर्‍यौँ भने संभव छ । धेरै ठूलो अप्ठेरामा पनि लडेर जितेर आएका छौँ । यहाँभित्र किन जितिँदैन ? त्यस कारण म अनुरोध गर्छु– आउनुस्, हामी ठूलो शक्तिलाई गोलबन्द गरेर लागौँ । विचार सिद्धान्तका फरक जामा लगाएर नेतृत्व सतहमा जे देखिन्छ, भित्र ती हुँदै होइनन् । त्यस कारण आज परिपञ्च मिलाई–मिलाई जनतालाई दोहन गरेर खाने, देशलाई लुटेर आफ्नो स्वार्थ पूरा गर्ने यस्तो पनि राजनीति हुन्छ ? यिनका मालिक अरु नै छन् । उनीहरुका मालिकको सेवा गर्न जनतालाई लुटेर खाने यो व्यवस्था चाहिँदैन ।

यो पनि,

कुलमान घिसिङलाई रामकुमारी झाँक्रीको आग्रह– ‘नेकपामा आउनुस्, सँगै लडौँला’ (अन्तर्वार्ता, भिडियाे)

गहभरि आँशु पार्दै झाँक्रीले भनिन्– हिजो मजदुर, खान नपाउने र निमुखाको कुरा गर्थ्याैं, आज लकडाउनमा हजार किलोमिटर भोकभोकै पैदल यात्रा गर्ने अवस्था किन आयो? ( भिडियोसहित) 

 

प्रकाशित मिति: : 2020-09-25 15:06:00

प्रतिकृया दिनुहोस्