नेपालको पहिलो व्यावसायिक फिल्ममा गीत गाउने लता आज ९१ वर्षमा

सुरकी रानी लता मङ्गेसकर सोमबार आज ९१ वर्षमा प्रवेश गरेकी छिन्। ‘भारत रत्न’ बाट सम्मानित लताले ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाएकी छिन्। 

उनले नेपालको पहिलो व्यवसायीक फिल्म ‘माइती घर’ मा पनि गीत गाएकी थिइन्। 

लताका बुवा दीनानाथ मङ्गेसकर पनि गायक थिए। उनी सानैदेखि गीत संगीतमा डुबेकी थिइन्। तर, उनले एकपल्ट अन्तर्वार्ता दिने क्रममा भनेकी थिइन्, ‘सायद मेरो बुवा जीवित भएको भए म गायिका बन्ने थिइन्। किनभने बुवाको अगाडि गीत गाउने हिम्मत मसँग थिएन।’

तर, उनी आफ्नो जीवनमा बुवाको प्रभाव धेरै भएको बताउँछिन्। किशोरी अवस्थामा बुवाको निधन भएपछि उनले परिवार पाल्न गीत गाएकी थिइन्। उनको बहिनी आशा भोषले, मिना, उषा उतुप पनि भारतका चर्चित गायकमा पर्छन। 

लताको नाममा सबैभन्दा बढी गीत गाउने कीर्तिमान छ। उनले सन् १९७४ देखि १९९१ सम्म सर्वाधिक गीत रेकर्ड गरेर ‘गिनिज बुक’ मा आफ्नो नाम दर्ता गराएकी थिइन्। 

लता सानोमा भान्छामा आमालाई सघाउन आएका महिलाहरूको अगाडि गीत गुनगुनाउने गर्थिन। यतिबेला काममा ‘डिस्टर्ब’ हुन्छ भनेर उनको आमा लतालाई भान्छा कोठाबाट बाहिर पठाउँथिन। 

लतालाई सानैमा बुवाको स्वरले तानेको थियो। पाँच वर्षको हुँदा बुवाका शिष्य चन्द्रकान्त गोखले रियाज गरिरहेका थिए। बुवा नभएको बेला लता कोठा भित्र प्रवेश गर्दै गोखलेलाई रियाज गलत भएको भन्दै सम्झाउँन थालेपछि घरका अन्य व्यक्तिहरू चकित परेका थिए। 

यो कुरा थाहा पाएपछि दीनानाथले आफ्नो छोरीलाई पुनः गाउन लगाएका थिए। यो घटनापछि दीनानाथले लता र उनको बहिनी मिनालाई संगीत सिकाउन थालेका थिए। कान्छो भाई ह्दयनाथ ४ वर्षको हुँदा दीनानाथको निधन भएको थियो। 

बुवाको निधनपछि १३ वर्षको उमेरमा लतामाथि परिवारको जिम्मेदारी आएको थियो। उनी बहिनी मिनासँग मुम्बई आएर मास्टर विनायकसँग काम गर्न थालिन। १३ वर्षको उमेरमा उनले १९४२ मा ‘पहिली मंगलागौर’ फिल्ममा अभिनय गरिन्। 

केही फिल्ममा उनले हिरो–हिरोइनको बहिनीको भूमिका पनि निर्वाह गरेकी थिइन्। तर, उनलाई अभिनयभन्दा पनि गीत गाउनमै मजा आउँथ्यो। उनको पहिलो रेकर्ड भएको गीत ‘लभ इज ब्लाइन्ड’ को थियो। तर, यो फिल्म रिलिज भएन। 

संगीतकार गुलाम हैदरले १८ वर्षकी लतालाई उनको आवाज सुनेपछि निर्माता शशधर मुखर्जीलाई भेटाएका थिए। पहिलो भेटमा शशधरले उनको आवाज मसिनो भएको भन्दै लिन मानेनन्। 

तर, मास्टर गुलाम हैदरले फिल्म ‘मजबुर’ मा लतालाई ‘अंग्रेजी छोरा चला गया’ गीतमा मुकेशसँग गाउने मौका दिए। 

यो लताको ठूलो ‘ब्रेक’ थियो। यसपछि लतालाई कामको अभाव भएन। पछि शशधरले आफ्नो गल्ती स्विकार गरें। उनले लतालाई ‘अनारकली’, ‘जिद्धी’ जस्ता फिल्ममा काम दिए। 

लताले गीत गाउनका लागि खानेकुरामा कहिल्यै सम्झौंता गरिनन्। उनी आइसक्रिम मात्र होयन, अचार, खुर्सानी सबै खान्थिन्। उनी १९७४ मा लन्डनको रोयल अल्बर्ट हलमा प्रस्तुति दिने पहिलो भारतीय हुन्।

प्रकाशित मिति: : 2020-09-28 08:45:05

प्रतिकृया दिनुहोस्