संसारभरिको ध्यान आज ‘प्रेसिडेन्सियल डिबेट’ मा

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकामा ३ नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि आजदेखि ‘प्रेसिडेन्सियल डिबेट’ सुरु हुँदैछ। अमेरिकी मिडिया सीएनएनका अनुसार ओहायो राज्यमा हुने डिबेट ९० मिनेटको हुनेछ र यसमा ६ वटा मुद्धा समावेश गरिएको छ। 

राष्ट्रपतिका उम्मेदवारले डिबेटलाई १५–१५ मिनेट गरेर समाप्त गर्नुपर्नेछ। फक्स न्युजका क्रिस वालेसले डिबेट सञ्चालन गर्नेछन्। क्रिस यही च्यानलका एंकर पनि हुन्। डिबेटको बेला ब्रेकको समय हुने छैन। 

द टेलिग्राफ पत्रिकाले यसअघि नै क्रिस वालेसलाई डेमोक्रेटिक पार्टीको बफादार भनेर ‘ट्याग’ लगाइसकेको छ। केही दिनअघि राष्ट्रपति ट्रम्पले टेलिग्राफलाई अन्तर्वार्ता दिइसकेका छन्। 

‘प्रेसिडेन्सियल डिबेट’ अन्तर्गत दोस्रो डिबेट फ्लोरिडा र तेस्रो टेनिसीमा हुनेछ। यसलाई विश्वभरिका मानिसले चासोका साथ हेर्ने गरेका छन्। अमेरिकामा ‘प्रेसिडेन्सियल डिबेट’ को सुरुवात १ सय ६२ वर्ष पहिले सुरु भएको थियो। 

राष्ट्रपति पदमा उठ्ने उम्मेदवारले ४ वर्षको आफ्नो भावी योजनालाई जनतामाझ सविस्तार पु¥याउने माध्यमका रूपमा ‘प्रेसिडेन्सियल डिबेट’ लाई लिने गरिन्छ। सन् १८५८ मा अब्राहम लिंकन र स्टिफन डगलसबीच सबैभन्दा पहिले ‘प्रेसिडेन्सियल डिबेट’ भएको थियो। यतिबेला यी दुुईबीच सातवटा डिबेट भएको थियो, जसमा एक जना पनि ‘मोडरेटर’ समावेश थिएनन्। 

सबैभन्दा पहिले रेडियोमा डिबेट सन् १९४८ मा भएको थियो। यतिबेला थोमस डेवे रर हेरल्ड स्टेसेन समावेश भएका थिए। यो डिबेटलाई ४ करोड व्यक्तिले रेडियोबाट सुनेका थिए। 

अमेरिकामा टेलिभिजनको पहिलो प्रसारण २ जुलाई १९२८ देखि सुरु भएको हो। तर, टेलिभिजनमा ‘प्रेसिडेन्सियल डिबेट’ को प्रसारण १९६० बाट हुन थालेको हो। पहिलो पल्ट मानिसहरूले जोन एफ केनेडी र रिचर्ड निक्सनलाई डिबेटमा समावेश भएको आफ्नो आँखाले देखेका थिए। 

यतिबेला अमेरिकाको कूल १८ करोड जनसंख्यामध्ये ६ करोड ६४ लाख मानिसले बहस हेरेको अनुमान गरिन्छ। अहिले पनि भन्ने गरिन्छ, डिबेटको समय निक्सन बिरामी थिए। मञ्चमा आउनुअघि उनले मेकअप पनि गरेका थिएनन्। 

सन् १९६४ मा राष्ट्रपति लिन्डन जोनसनले पहिलो पल्ट डिबेटमा सहभागी बन्न अस्विकार गरेका थिए। सन् १९६८ र १९७२ मा पनि डिबेट हुन सकेन। पछिल्लो दुईवटा डिबेटमा रिचर्ड निक्सनले बहसमा समावेश हुन अस्विकार गरेका थिए। 

तीन पल्ट बहस हुन नसकेपछि एकैपल्ट सन् १९७६ मा आएर रोनाल्ड रेगन र वाल्टर मोन्डेलबीच डिबेट भएको थियो। रेगनको उमेर त्यतिबेला ७३ वर्ष थियो। 

केही मानिसले उनको उमेरलाई लिएर प्रश्न पनि उठाएका थिए। यसको जवाफमा रेगनले हाँस्दै भनेका थिए, ‘म उमेर बढी भएको फाइदा उठाउने छुइन। किनभने मोन्डेल (राष्ट्रपतिका विपक्षी उम्मेदवार) युवा र अनुभवहीन छन्।’

सन् १९९२ मा भएको डिबेटमा तीन जना प्रतिस्पर्धी सहभागी भएका थिए। यतिबेला जर्ज बुस सिनियर, बिल क्लिन्टन र स्वतन्त्र उम्मेदवार रोस पेरटले डिबेटमा भाग लिएका थिए। यस चुनावमा क्लिन्टनको जित भएको थियो। 

एक रिपोर्टअनुसार सन् १९८० मा रोनाल्ड रेगन र जिमी कार्टरबीच भएको बहसलाई करिब ८ करोड २ लाख मानिसले प्रत्यक्ष प्रसारणमार्फत हेरेका थिए। अहिले पनि यसलाई ‘प्रेसिडेन्सियल डिबेट’ को सबैभन्दा धेरै हेरिएको तथ्यांक मानिन्छ। 

सन् १९८८ मा ‘प्रेसिडेन्सियल डिबेट’ का लागि एउटा कमिसन नै स्थापना गरिएको थियो। कमिसन अफ प्रेसिडेन्सियल डिबेट्स (सीपीडी) ले नै मोडरेटर, डिबेट हुने ठाउँको वातावरण तथा प्रश्नहरू बनाउने गर्छ। सन् २००८ मा डिबेटका लागि मतदाताले युट्युबमार्फत सीपीडीलाई प्रश्न पठाएका थिए। 

सन् २०१६ मा ट्रम्प र हिलारी क्लिन्टनको डिबेट युट्युब र ट्वीटरबाट लाइभ स्ट्रिम भएको थियो। 

प्रकाशित मिति: : 2020-09-29 17:30:04

प्रतिकृया दिनुहोस्