अस्ट्रेलियामा नाकमा प्रयोग गर्ने कोरोनाविरूद्धको स्प्रे तयार हुँदै

नाकमा प्रयोग गरिने भ्याक्सिनले कोरोना भाइरसको संक्रमणलाई ९६ प्रतिशतसम्म रोक्न सकिने दावी अस्ट्रेलियाको औषधि बनाउने एउटा कम्पनीले गरेको छ। 

अस्ट्रेलियामा यतिबेला मानिसको शरीरमा लगाइने भ्याक्सिनको खोपदेखि लिएर नाकबाट दिइने स्प्रेको तयारी भइरहेको छ।  

अस्ट्रेलियाली कम्पनी एना रेस्पिरेट्रीले हालै एउटा दावी गरेको छ, नाकबाट दिने स्प्रे प्रभावशाली हुने कारण यसको परीक्षण भइरहेको छ। 

कम्पनीका अनुसार जनावरमा परीक्षण सफल भइसकेको छ। अब मानिसमा परीक्षण गर्न बाँकी छ। नाकमा लगाउने स्प्रेले कोरोना भाइरसविरूद्ध लड्न सक्ने ‘इम्यून सिस्टम’ बलियो बनाउन तथा संक्रमण फैलिन नदिन सहयोगी सावित हुने कम्पनीको दावी छ। 

बेलायतको सरकारी एजेन्सी ‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ को अनुसन्धानले पनि अस्ट्रेलियामा तयार हुन लागेको ‘नेजल स्प्रे आइएनएनए–०५१’ भ्याक्सिनको विकल्पको रूपमा प्रयोग गर्न सकिने बताएको छ। 

यसले ९६ प्रतिशत कोरोना संक्रमणलाई नियन्त्रणमा राख्ने अनुसन्धानमा उल्लेख छ। एना रेस्पिरेट्री कम्पनीका अनुसार ‘आइएनएनए–०५१’ नेजल स्प्रेको मानव माथिको परीक्षण ४ महिनाभित्र सञ्चालनमा आउने छ। 

यसअघि चीनबाट पनि यस्तै खबर बाहिर आएको थियो। चीन पनि धमाधम नाकबाट दिइने स्प्रेको निर्माणमा जुटेको छ। चीनमा यो भ्याक्सिनको परीक्षण नोभेम्बरबाट सुरु हुँदैछ। 

यसका लागि एक सयजना भोलेन्टियर्सको छनोट भइसकेको चिनियाँ मिडियाले जनाएका छन्। यसलाई हङकङ विश्वविधालय, सियामेन विश्वविधालय र बेइजिङ बन्ताई बायोलोजिकल फार्मेसीका वैज्ञानिकहरूले मिलेर तयार पारिरहेका छन्।  

नेजल स्प्रेले कोरोना भाइरस नाकको बाटो हुँदै फोक्सोसम्म जानबाट रोक्ने दावी हङकङ विश्वविधालयका वैज्ञानिक युऐन क्वोक युङले गरेका थिए। उनले केही समयअघि यसको जानकारी मिडियालाई उपलब्ध गराउने क्रममा भनेका थिए, ‘यसले इम्यून सिस्टम बलियो बनाउँछ र संक्रमणसँग लड्न सहयोग गर्छ।’

नाकमा प्रयोग हुने स्प्रेले अरुलाई सर्नबाट पनि रोक्ने दावी गरिएको छ। भ्याक्सिनको क्लिनिक ट्रायल समाप्त हुन वर्षदिन लाग्न सक्ने सम्भावना उत्तिकै छ। तर, यो सफल भएको खण्डमा कोरोना भाइरस एउटा सामान्य रोग सावित हुनेछ।

प्रकाशित मिति: : 2020-09-30 07:58:49

प्रतिकृया दिनुहोस्