ट्रम्पले पाउँलान् सहानभूतिको मत ?

संजोग आचार्य

न्युयाेर्क

राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावभन्दा अगाडि कोरोनाबाट संक्रमित भएपछि रिपब्लिकनको चुनावी अभियान के होला? चुनाव हुन्छ कि हुदैन? यो सोचेर तपाईंहरू बस्नु भएको छ भने ढुक्क हुनुहोस्– चुनावी अभियान पनि अगाडि बढिरहेको छ र निर्वाचन पनि तोकिएको समयमा हुदैछ।

कोरोनाका कारण ट्रम्प चुनावी अभियानबाट अलग भएका छन् तर यसको मतलब यो होइन, उनको ध्यान अन्यत्र गएको छ। उनी चुनावको हरेक पलको जानकारी लिइरहेका छन्। चुनाव अभियान रोकिएको छैन। उनको स्थानमा उपराष्ट्रपति माइक पेन्स सक्रिय भएका छन्। 

गत शनिबार अभियान दलका सदस्यसँग छलफल गरेपछि पेन्स आक्रामक रूपमा प्रस्तुत हुने सम्भावना बलियो छ। 

किनभने ‘प्रेसिडेन्सियल डिबेट’ को पहिलो चरणको विवाद तथा लगत्तै ट्रम्प कोरोना संक्रमित हुँदा डेमोक्र्याट उम्मेद्वार जो वाइडेन केही बलियो देखिएको केही अमेरिकी मिडियाको तर्क छ। 

तर, मिडिया रिपोर्टकै आधारमा सबै निक्यौंल निस्किन्छ भन्ने पनि छैैन। किनभने सन् २०१६ को चुनावमा अमेरिकाको अधिकांश मिडियाले हिलारी क्लिन्टनलाई अगाडि नै राष्ट्रपति पदमा विजय दिलाइसकेका थिए।

पेन्स अहिले ट्रम्पको अनुपस्थितिमा नयाँ रणनीति बनाउने अभियानमा छन्। पेन्सले शनिबार नै छलफलमा स्पष्ट पारिसकेका छन्–‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई मिशनको रूपमा अगाडि बढाउने अभिभारा पूरै टिमको काँधमा आइपुगेको छ। 

उनले केही समयका लागि आफ्नो नेता आफूहरूसँग नभएपनि अभियान नरोकिएको बताएका छन्। भनेका छन्– ‘मानिसहरू मतदान गरिरहेका छन्। कार्यकर्ता घरघरमा गएर अभियानको नेतृत्व गरिरहेका छन्। फोन गरिरहेका छन्। हामी रोकिएका छैनौं।’ 

ट्रम्पको अनुपस्थितिमा उनको परिवारका अन्य सदस्य चुनावी अभियानमा पहिलेभन्दा बढी सक्रिय छन्। समर्थकबीच उनीहरू लोकप्रिय रहेको बताइएको छ। अभियान दलका प्रमुख बिल स्टेपाइनलाई पनि कोरोना पोजेटिभ देखिएको छ। तर, उनी घरबाटै अभियानको नेतृत्व गरिरहेका छन्। अभियान दलका उपव्यवस्थापक जस्टिन क्लार्क भर्जिनियामा सक्रिय छन्। उनी मतदातालाई आफ्नो नेता छिट्टै तन्दुरुस्त भएर फर्किने कुरामा आश्वस्त पारिरहेका छन्।  

राष्ट्रपति ट्रम्पका छोरा एरिक र बुहारी लाराले मतदाताको विश्वास नतोडियोस् भनेर एउटा बयान दिएका छन्, ‘राष्ट्रपतिको स्वास्थ्यमा सुधार भएको छ। केही मिडिया झुटो खबर फैलाइरहेका छन्।’
यसबाट चिन्तित तथा दुःखी नहुन उनीहरूको आग्रह छ। ३ नोभेम्बरमा जो वाइडेनलाई परास्त गर्न सफल हुने उनीहरूको भनाई छ। 

छोरा एरिकले केही मिडियाले भने जस्तै राष्ट्रपतिको चुनावी अभियानमा आफ्नो बाबु पछाडि नपरेको स्पष्ट पारेका छन्। अमेरिकाबाट प्रकासित केही ठूला मिडियाले ट्रम्प चुनावी अभियानमा तल परिसकेको लगातार समाचार प्रकासित गरेका छन्। 

एरिकले यस विषयमा भनेका छन्, ‘पावर ट्रान्सफरको आवश्यकता पर्ने छैन। मेरो बुवा अहिले पनि वाइडेनभन्दा निकै राम्रो अवस्थामा हुनुहुन्छ।’

वाइडेन पक्षले फेसबुकमा ट्रम्पविरूद्ध नेगेटिभ अभियान सञ्चालन गरिरहेको अवस्थामा रिपब्लिकनहरू यतिबेला ‘भर्चुअल इभेन्ट्स’ मा बढी केन्द्रीत छन्। अब एरिजोनामा ¥याली हुन बाँकी छ। अयोवा र अन्य राज्यमा इन्डोर सभा पनि आयोजना हुँदैछ। 

२८ सेप्टेम्बरको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ पछि रिपब्लिकन पार्टीले गरेको आन्तरिक मतगणनामा वाइडेन केही अगाडि रहेको रिपोर्ट प्राप्त भएको जानकारी अमेरिकाबाट प्रकाशित केही मिडियाले दिएका छन्। 

तर, मिडिया रिपोर्टको विश्वसनीयतामाथि रिपब्लिकनहरूले प्रश्न उठाएका छन्। कोरोनाका कारण ट्रम्पतर्फ साहनुभूतिको मत खस्ने अनुमान डेमोक्र्याटहरूको छ। 

प्रकाशित मिति: : 2020-10-05 18:59:38

प्रतिकृया दिनुहोस्