काठमाडौं उपत्यकामा आईसीयू वेडको चरम अभाव, सिकिस्त बिरामी जोगाउने छैन तयारी

काठमाडौं उपत्यकामा रहेका कोरोना संक्रमितको उपचार हुने सबैजसो अस्पतालमा आईसीयू बेड भरिएपछि सिकिस्त विरामीलाई भर्ना लिन छाडिएको छ। यस्तो अवस्थाको आकलन हुँदाहुँदै पनि आवश्यक तयारी नगरेको सरकार यो अवस्थासित जुध्ने पहलमा लागेको पनि देखिएको छैन। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार, २० असोजसम्मको तथ्यांक अनुसार देशभर  कोरोना संक्रमितकोसंख्या ९० हजार ८१४ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५५१ जना थपिएका हुन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्ममा कारोनाका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ भने संक्रमणबाट ५६३ जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरुमा कोरोना संक्रमण उच्च दरमा बढिरहँदा सिकिस्त बिरामीको संख्या पनि बढेको छ। 

अहिले २४३ बिरामी आईसीयू र ४० जना भेन्टिलेटरको सहायताले उपचाररत छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै कोरोनाका सिकिस्त बिरामीको आईसीयूु र भेन्टीलेटरमार्फत् उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा १२५ जना संक्रमितको आईसीयूमा र २९ जनाको भेन्टीलेटरमार्फत उपचार भइरहेको छ। 

तर सिकिस्त बिरामीको उपचारका लागि चाहिने आईसीयू र भेन्टीलेटर अभाव हुन थालेपछि उपचार नपाएर राजधानीमै कोरोना संक्रमितको ज्यान जान थालेको छ। सोमबार मात्र काठमाडौंमा एकजना कोरोना संक्रमितको आईसीयू बेड नपाएर ज्यान गएको थियो। जनस्वास्थ्य विज्ञहरुले यसलाई अत्यन्त नाजुक र खतरनाक अवस्था भनेका छन्। 

आईसीयू भरिए, अब के गर्ने ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इर्मेजेन्सी तथा अपरेसन सेन्टर (एचइओसी)का अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएका २० वटा आईसीयू वेड भरिएका छन्। यस्तै, स्वास्थ्य मन्त्रालयले ‘कोभिड डेडिकेटेड’ भनेर तोकेको वीर अस्पतालका १०, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका २० र ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ आईसीयू वेड भरिएको एचइसोसिले जनाएको छ। 

मन्त्रालयले सशस्त्र प्रहरिको बलम्बुस्थित अस्पताललाई पनि कोरोना संक्रमितको उपचार हुने अस्पतालका रुपमा तोकेको छ। तर यो अस्पतालमा २० वेड आईसीयू भए पनि जनशक्तिको अभावका कारण जम्मा १० वेड मात्र सञ्चालनमा आएको र त्यो पनि भरिएको एचइओसीका मेडिकल अधिकृत डा. नवराज जोशीले हिमालखबरलाई बताए। यो अवस्थाले स्वास्थ्य मन्त्रालयले आईसीयू सञ्चालनका लागि चाहिने दक्ष जनशक्तिको व्यवस्थापन गर्न समेत नसकेको देखाउँछ।  

आईसीयू सञ्चालनका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाउनुपर्ने हुुन्छ। 

प्रकाशित मिति: : 2020-10-07 00:09:54

प्रतिकृया दिनुहोस्