प्रहरीले जब बलात्कृत युवतीकाे शव जलायो...

बिबिसी

नयाँ दिल्ली

भारतको उत्तर प्रदेशमा भएको एउटा सामूहिक बलात्कारको घटनाले यतिबेला सबैको ध्यान तानेको छ । आम जनतादेखि अदालतसम्मको चासो बनेको हाथरस बलात्कार काण्डले प्रहरी भने विवादमा परेको छ । उत्तर प्रदेश सरकारले सीबीआई जाँचको घोषणा गरेको छ । घटनाबारे हरेक दिन नयाँ कुराबाहिर आइरहेको याे काण्डलाई लिएर विरोधाभासपूर्ण दाबीहरु समेत बाहिर आइरहेका छन् । 

घटना कहिले भयो ?


१४ सेप्टेम्बरको बिहान ती युवती आफ्नी आमा र दाजुसँगै घरबाट आधा किलोमिटर टाढा घाँस काट्न गएकी थिइन् । बिहान करिब ८ बजेतिर गएर एक भारी घाँस लिएर आएकी उनी केही समयपछि खेतमा बेहोस र नग्न अवस्थामा भेटिएकी थिइन् । उनी बेहोस र नग्न अवस्थामा भेटिएको समयबारे परिवार पनि एकीन छैन । उनका दाजुले प्रहरीमा दिएको उजुरीमा बिहान साढे ९ बजे घटना भएको लेखाएका थिए । 

बहिनी बेहोस अवस्थामा भेटिएपछि उनी आफ्नी आमासँगै बहिनीलाई लिएर थाना गएका थिए । उनी भन्छन्, ‘उनलाई खेतबाट उठाएर सडकसम्म लैजान पनि समय लाग्यो । उनी अगाडि र आमा पछाडि बसेकी थिइन् । हामीले उनलाई सिधै थानामा लगेर भुइँमा राख्यौं ।’ पीडितकी आमाका अनुसार बाटोमा उनी केही होसमा थिइन् र उल्टी पनि आएको थियो । शरीर भने सिथिल थियो ।

परिवार थानामा 


तत्कालीन एसएसपी विक्रान्त वीरका अनुसार पीडित परिवार साढे ९ बजेको आसपास चन्दपा थाना पुगेको थियो । साढे १० बजे पहिलाे एफआईआर दर्ता गरेका थिए । घटनास्थल थानाबाट करिब पौने २ किलोमिटर टाढा रहेको छ ।

थानाको बाहिर रेकर्ड भएको पीडितको भिडियो भाइरल भएको छ । जसमा उनले आफूमाथि जबरजस्ती भएको बताएकी छन् । त्यसबेला त्यहाँ रहेका एक पत्रकारका अनुसार भिडियो तत्कालीन एसएचओले रेकर्ड गरेका थिए र यसमा प्रहरीले पीडितमाथि प्रश्न गरिरहेका छन् । हाल निलम्बित एसएचओ डीके वर्माले भिडियो पत्रकारले नै खिचेको र उनीहरुले नै प्रश्न सोधेको दाबी गरेका छन् । यो भिडियोमा पीडितले मुख्य आरोपीको नाम पनि खोलेकी छन् ।

जसको नाम उनका दाजुको नामसँग मिल्छ । मृतक युवतीले आफूमाथि जबरजस्ती गरेको भने पनि उनका दाजुले दर्ता गरेको उजुरीमा ज्यान मार्ने कोशिस गरेको भन्ने मात्रै उल्लेख गरिएको छ र एफआईआर पनि यसै आधारमा दर्ता गरिएको छ । सुरुको जानकारीमा घटना साढे ९ बजेको भएको बताइएको छ । प्रहरीले दिएको सादा कागजमा पीडितका जेठा दाजुले निवेदन दिएका थिए । पहिलो उजुरीमा बलात्कारको विषयमा किन उल्लेख नगरेको हो ? भन्ने प्रश्नमा उनका दाजु भन्छन्, ‘त्यसबेलासम्म मलाई जे थाहा थियो, त्यही लेखेको हो । मैले थानामा एक्लै बसेर निवेदन लेखेको थिएँ र मैले जे थाहा पाएको थिएँ, त्यही लेखेको हुँ ।’

एफआईआर दर्ता भएपछिपरिवार पीडितलाई अटोमा राखेर हातरस जिल्ला अस्पताल गएको थियो । एक महिलासहित दुई जना प्रहरी पनि उनीहरुसँग गएका थिए । पीडितको अवस्था गम्भीर बन्दै गएका कारण उनीहरूले एम्बुलेन्स पर्खिएनन् । पीडितका एक आफन्तले त्यसबेला त्यहाँ एम्बुलेन्स नभएको बताएका छन् । 

जिल्ला अस्पतालमा भएन एमएलसी
हाथरस जिल्ला अस्पतालको रेकर्डअनुसार पीडित बिहान ११ः३५ मा अस्पताल पुगेकी थिइन् । यो एक आपराधिक मामिला भएका कारण जिल्ला अस्पतालमा पीडितको एमएलसी रिपोर्ट तयार गरिएन । हाथरस जिल्ला अस्पतालले रेफरल स्लिप पीडितका परिवारलाई दिएपछि उनलाई अलिगढ मुस्लिम युनिभर्सिटी मेडिकल कलेजमा भर्ना गरिएको थियो । 

हाथरस जिल्ला अस्पतालका डाक्टरले भने, ‘पीडितको अवस्था नाजुक रहेकाले उनको एमएलसी नगरी तत्कालै अलिगढ रेफर गरिएको हो ।’ अस्पतालको रेफरल नोटमा पनि डाक्टरले गम्भीर अवस्था भएका कारण एमएलसी हुन नसकेको र पीडित अस्पताल ल्याइपु¥याउँदा अर्धबेहोस अवस्थामा भएको उल्लेख गरिएको छ । 

हाथरस जिल्ला अस्पतालमा पीडितलाइ प्राथमिक उपचार दिइएको थियो । सुइ लगाइएको थियो । उनलाई ड्रिप पनि लगाईएको थियाे । हाथरस जिल्ला अस्पतालमा पनि पीडितको बयान पत्रकारले रेकर्ड गरेका थिए । यसमा पनि पीडितले आफूमाथि जबरजस्ती गरिएको बताएकी छन् । 

थाना र जिल्ला अस्पतालमा रेकर्ड गरिएको भिडियोमा पीडितकी आमाकाे पनि बयान छ । उनले त्यसमा बलात्कार भएकोबारे केही उल्लेख गरेकी छैनन् । पीडितकी आमाको भिडियो रेकर्ड गर्ने पत्रकारले उनले आफ्नो भनाई पटक पटक बदलेको उल्लेख गरेका छन् । युवतीकी आमाको यो बयानलाई मिडियाले पटक पटक प्रसारित गर्दै उनले बलात्कारको कुरा नगरेको उल्लेख गरिरहेका छन् । यही प्रश्न अहिले गर्दा उनले सुरुमा आफ्नी छोरीको जीवन बाँच्ने आशामा आफूहरुले त्यसबारेमा नबोलेको बताएकी छन् ।

बलात्कारको घटना कहिले बाहिर आयो ?


हाथरस प्रहरीका तत्कालीन एसपी विक्रान्त वीरका अनुसार मृतक युवतीलाई राम्रो उपचारका लागि अलीगढ़ मुस्लिम यूनिभर्सिटीको मेडिकल कलेजमा भर्ना गराएको उल्लेख गरेका छन् ।

उनको अवस्थामा केही सुधार आएपछि अनुसन्धान अधिकारीले महिला प्रहरीको उपस्थितिमा मृतक युवतीको बयान लिएका थिए । 

प्रहरीका अनुसार यो बयानमा मृतक युवतीले आफूमाथि जबरजस्ती भएको र एक अर्का अभियुक्तको नाम लिएपछि एफआईआरमा जोडिएको थियाे। 

उनका अनुसार पीडितले सामूहिक बलात्कारको बारेमा सबैभन्दा पहिले २२ सेप्टेम्बरमा बताएकी थिइन् र सोही दिन एफआईआरमा आईपीसीको धारा ३७६ जोडिएको थियो । पीडितले आफ्नो पहिलो बयानमा स्पष्ट रुपमा बलात्कार भएको बताएकी थिइनन् । प्रहरीका अनुसार पहिलो पटक उनले २२ सेप्टेम्बरमा सामूहिक बलात्कारको बारेमा बताएकी थिइन् । 

अलीगढको अस्पतालमा पीड़ितको रेखदेख गरिरहेका डाक्टरले अस्पतालको फोरेन्सिक विभागलाई २२ सेप्टेम्बर बिहान ११ः ३० बजे पीडितले आफूमाथि जबरजस्ती बलात्कारको प्रयास भएको जानकारी दिएको सूचित गरेका थिए । 

अलीगढ़को अस्पतालमा मृतक युवतीको बयान दर्ता गर्दै प्रहरीले सुरुमा एक अभियुक्तको नाम लिएकाे विषयमा सोध्दा उनले त्यसबेला आफू पूर्ण रुपमा होसमा नरहेको प्रतिक्रिया दिएकी थिइन् । 

नयाँ एसपी विनीत जायसवालले भने, ‘अहिलेसम्म मेरो जानकारीमा केही नयाँ तथ्य छैन । एसआईटीलाई केही जानकारी प्राप्त भएको भए  एसआईटीले भन्न सक्छ ।’ 

तत्कालीन एसपी विक्रान्त वीरले अस्पतालमा मृतक युवतीको बयानको भिडियो रेकर्ड पनि गरेका थिए । 

अलीगढ पुग्दा कस्तो अवस्था थियो ?


पीडित २१ सेप्टेम्बरमा ४ बजेर १० मिनेट जाँदा अलीगढको अस्पतालमा भर्ना भएकी थिइन् । त्यसबेला उनी अर्थबेहोसी अवस्थामा थिइन् । उनलाई समय, स्थान र वरिपरी रहेका मानिसका बारेमा होस भए पनि पुरै होस थिएन । अलीगढ अस्पतालमा ल्याइपुर्‍याउँदा पनि उनको साथमा प्रहरी थिएनन् र पीता ओम प्रकाशले उनलाई भर्ना गराएका थिए । परिवारका अनुसार,अस्पतालमा भर्ना गर्दा पीडितका कपडा पनि बदलिएको थियो । 

घटना भएको समयमा लगाएको कपडा परिवारले फेरिदिएर आफ्नो साथमा राखेका थिए । ती कपडा भने पछि प्रहरीलाई बुझाएका थिए । 

मृतक युवतीको अन्तिम बयान
२२ सेप्टेम्बरमा पीड़ितको अवस्था बिग्रिएपछि ड्यूटीमा रहेका मेडिकल अफिसरले अधिकारीलाई अन्तिम बयान (डाइङ डिक्लरेशन) रेकर्ड गर्न अनुमति दिइन् । 

यो मेडिको लिगल केस थियो र यस्तो मामिलामा डाक्टरले पीड़ितको अवस्था खराब भएको या खराब महसुस भएमा उनको अन्तिम बयान दर्ज गराउँछन् । 

अस्पतालको एक शीर्ष सूत्रले अन्तिम बयान रेकर्ड गरेको समयमा पीड़ित नजिकै डाक्टर, न्यायाधीस, नर्स उपस्थित थिए । यस क्रममा उनले कुनै दबाब बिना नै आफ्नो भनाई राख्न सकुन् भनेर परिवारका सदस्यलाई भने बाहिर निकालिएको थियो । जसमा उनले २ जनाले आफूमाथि बलात्कार गरेको र अरू २ जना रहेको बयान दिएकी छन् । त्यसपछि आफू बेहोस भएकाले आफूलाई केही थाहा नभएको बताएकी छन् ।

यो अन्तिम बयान अस्पतालमा २२ सेप्टेम्बर साँझ साढे ५ बजे देखि ५ः५० को बिचमा रेकर्ड गरिएको थियो । पीड़ितको बयान दर्ज गरेपछि उनकी आमाको बयान पनि अस्पतालमा रेकर्ड गरिएको थियो । यो बयानमा आमाले पनि चार जनाको नाम लिदै छोरीमाथि सामूहिक बलात्कार भएको बताएकी छन् । 

मृतक युवतीको अन्तिम संस्कार
मृतक युवतीको परिवारले प्रहरीले आफूहरुको अनुमति र उपस्थिति बिना जबरजस्ती शवकाे अन्तिम संस्कार गरिदिएको आरोप लगाएको छ ।

तर हाथरसका तत्कालीन एसपी विक्रान्त वीरले मृतक युवतीको परिवारको अनुमति लिइएको दाबी गरेका छन् । उत्तर प्रदेश सरकारले सर्वोच्च अदालतमा दिएको उत्तरमा कानून व्यवस्थालाई मध्यनजर गर्दै रातमा अन्तिम संस्कार गर्ने निर्णय लिएको उल्लेख छ । 

एक स्थानीय व्यक्तिले चिता नजिकैबाट रेकर्ड गरेको एक भिडियो पनि बाहिरिएको छ । चार मिनेटको यो भिडियो प्रहरीले नै चिता तयार गरेर शब चितामा राखेर आगो लगाउँदै गरेको देखिएको छ । भिडियोमा स्पष्ट रुपमा मृतक युवतीलाई परिवारका सदस्यले दागबत्ती नदिएको देखिएको छ । 

यस्तो अवस्थामा अन्तिम संस्कारको विरोध गर्दै उनीहरुले यो सबै प्रमाण नष्ट गर्नका लागि गरिएको आरोप लगाएका छन् । 

पीड़ितले अस्पतालमा डाक्टरलाई आफूमाथि बलात्कार भएको र चार जनाको नाम लिएकी थिइन् । पीड़ितको मेडिकल परीक्षण गर्ने डाक्टरको टिमले पनि आफ्नो रिपोर्टमा बलात्कारबारे स्पष्ट राय दिएको थिएन । यद्यपि जबरजस्ती भएको उल्लेख गरेको थियो । 

के भन्छ मृतक युवतीको मेडिकल रिपोर्ट ? 
अस्पतालमा मृतक युवतीको उपचार गर्ने मेडिकल टोलीले आफ्नो रिपोर्टमा मृतक युवतीले बलको प्रयोगको स्पष्ट संकेत गरेको उल्लेख गरेको छ । मृतक युवतीको परीक्षण गर्ने डाक्टरले रिपोर्टमा निष्कर्षमा लेखेका छन्, ‘परीक्षणका आधारमा मेरो राय यो छ कि बलको प्रयोग भएको छ । यद्यपि पेनिट्रेटिभ इन्टरकोर्सका बारेमा राय सुरक्षित छ र अन्तिम राय एफएसएलको रिपोर्टका आधारमा नै तय गरिनेछ ।’ 

जवाहरलाल नेहरू मेडिकल कलेज एन्ड अस्पताल (एएमयू) का मेडिकल कलेजसँग जोडिएका एवं याे रिपोर्ट हेर्ने एक डाक्टरले मृतक युवतीको पहिलो मेडिकल टेस्ट २२ सेप्टेम्बरमा नै गरिएको बताएका छन् । यो घटना भएको ८ दिनपछि हो । 

उनका अनुसार फोरेन्सिक जाँचका लागि नमुना २२ सेप्टेम्बरमा नै लिइएको थियो । यो नमूना आगरा पठाइएको थियो । यूपी प्रहरीका अनुसार आगरा एफएसएलको रिपोर्टमा वीर्य (स्पर्म) पाइएको छैन । यूपी प्रहरीले यसै आधारमा एक बयानमा मेडिकल रिपोर्टका आधारमा पीड़ितमाथि बलात्कारको पुष्टि नभएको उल्लेख गरेको छ । यो जानकारी सरकारका तर्फबाट सर्वोच्च अदालतलाई दिइएको छ ।

अलीगढ़ यूनिभर्सिटीको आवासीय चिकित्सक एसोसिएशनका अध्यक्ष हमज़ा मलिकले भने, ‘यो मामिलामा एफएसएलको रिपोर्ट या मेडिकल परीक्षणको धेरै अर्थ छैन । किनकि नमूना धेरै ढिला गरी दिएको थियो । सर्वोच्च अदालतको गाइडलाइन अनुसार अधिकतम ९६ घन्टाभित्र नमूना लिनु आवश्यक छ ।’ 

उनले भने, ‘यी दुवै रिपोर्टले बलात्कार नभएको पुष्टि गरिरहेका छैनन् । बरु यो बताइरहेका छन् कि जुन नमूना लिइएको थियो, त्यसमा वीर्य थिएन । अन्तिम निष्कर्षमा भेजाइनल पेनिट्रेशनबाट अस्वीकार गरिएको छ । यसले बलात्कारको पुष्टि गरेन । तर अब बलात्कारको परिभाषा बदलिएको छ । बलात्कार हुनका लागि पेनिट्रेशन अनिवार्य छैन ।’

‘मेडिकल रिपोर्ट चाहे त्यो अटोप्सी होस्, एमएलसी होस् या एफएसएलको रिपोर्ट होस् । यो एक जाँच हो र यसले बलात्कार हो होइन भन्ने तय गर्न सक्दैन । अब अदालतले नै बलात्कार हो या होइन भन्ने अदालतले फैसला गर्छ । कुनै डाक्टर, प्रहरी या नेतालाई यसबारेमा राय व्यक्त गर्ने अधिकार छैन । 

पोस्टमार्टम रिपोर्टमा के छ ?
जवाहरलाल नेहरू अस्पतालको रेकर्डअनुसार पीड़ितको मृत्यु बिहान ६ः५५ बजे भएको थियो । उनको शव पोस्टमार्टमका लागि ११ बजे ल्याइएको थियो । पीड़ित परिवारले पोस्टमार्टमका क्रममा पनि परिवारको उपस्थिति नभएको जनाएको छ । 

पोस्टमार्टम रिपोर्टमा बलात्कार भएको उल्लेख छैन । पोस्टमार्टम रिपोर्टमा पीडितको गुप्तांगमा कुनै चोट लागेको उल्लेख गरिएको पनि छैन ।
सफदरजंग अस्पतालको न्यूरोलोजी विभागले आफ्नो रिपोर्टमा मृतक युवतीलाई सही उपचार दिइएको र यसका बावजूद उनको अवस्था खराब हुदै गयो । 

रिपोर्टअनुसार उनको बिग्रदो स्वास्थ्यका बारेमा जानकारी दिइएको र अन्तिम समयमा सीपीआरपनि दिइएको थियो । मृतक युवतीको परिवारले पोस्टमार्टम र एफएसएलको रिपोर्ट खारेज गर्दै भनेको छ, ‘उनले आफ्नो बयानमा सामूहिक बलात्कार भएको बताएकी छन् । के उनले मर्ने बेलामा झुठ बोलिन् होला ?

पीडित परिवारले घटनासँग सम्बन्धि कुनै दस्तावेज र मेडिकल रिपोर्ट र पोस्टमार्टम रिपोर्ट समेत पाएको छैन । 

अभियुक्तको परिवार के भन्छ ?
यो घटनामा जाे चार अभियुक्तलाई गिरफ़्तार गरिएको छ, उनीहरुको परिवारले घटनाको समयमा त्यहाँ नभएको बताएका छन् । एक अभियुक्तको परिवारले उनी नजिक रहेको डेरीमा मजदुरीका लागि गएको बताएको छ । डेरीको व्यवस्थापनले पनि घटना भएको दिन उनी ड्युटीमा भएको बताएको छ ।

यद्यपि सीसीटीभी पुरानो भएका कारण डिलिट भएको बताएको छ । अनुसन्धान गरिरहेको एसआईटीले डीभीआर कब्जा गरेर भिडियो फुटेज रिकभर गर्ने कोशिस गरिरहेको छ । एक प्रशासनिक स्रोतले यो भिडियो रिकभर भएको बताएको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन । 

अर्का अभियुक्तका परिवारले घटनाको समयमा उनी घरमा नै रहेको र बेच्नका लागि भेज बिरयानी तयार गरिरहेको बताएको छ । ती अभियुक्तकी पत्नीले आफू सो समयमा पतिसँगै रहेको बताएकी छन् । 

घटनाबारे मुख्य अभियुक्तका परिवारसँग कुरा गर्दा उनी पनि घरमा नै रहेको बताएको छ । अब अभियुक्तले जेलबाट एसपीको नाममा एक पत्र लेखेर आफूले घटनाको दिन पीड़ितसँग भेटेको र त्यहाँ पीडितका दाजु र आमा देखेको बताएका छन् । 

चौथो अभियुक्तका परिवारले उनी घटनास्थल नजिकै खेतमा काम गरिरहेको र पीडितलाई त्यसबेला पानी समेत खुवाएको बताएको छ । पीडितकी आमा भने यो कुरा अस्वीकार गर्छिन् । 

अभियुक्त र पीडितको कल डिटेल
मीडिया रिपोर्टमा मुख्य अभियुक्त र मृतक युवतीबीच फोनमा कुराकानी भएको विषय समेत बाहिर आएको छ । यो कल अभियुक्तको नम्बरबाट मृतक युवतीको नम्बरमा गत वर्ष अक्टोबरदेखि यसै वर्षको मार्चको बीचमा भएको थियो । 

मृतक युवतीको परिवारले यस प्रकारको कुनै कल भएको भन्ने कुरा पनि अस्वीकार गर्दै मृतक युवती र अभियुक्तबीच कुनै प्रकारको कुराकानी नभएको दाबी गरेको छ । 

हाथरसका एसपी विनीत जायसवालले भने, ‘यी कलका बारेमा मलाई मिडियाबाट नै जानकारी प्राप्त भएको हो । मृतक युवती र अभियुक्तको कलको डिटेल एसआईटीको अनुसन्धानको विषय हो । यसबारेमा थप जानकारी एसआईटीले नै दिन सक्छ ।’

प्रकाशित मिति: : 2020-10-09 15:12:47

प्रतिकृया दिनुहोस्