कोलकातालाई हराउँदै मुम्बई पुनः शीर्ष स्थानमा

यूएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)लाई सहजै हराएको  मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ।

गएराति अबुधाबीमा भएको खेलमा केकेआरले दिएको १ सय ४९ रनको सामान्य लक्ष्य मुम्बईले १६.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

उसका लागि क्विन्टन डीककले अविजित ७८, कप्तान रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले नटआउट २१ रन बनाए।

बलिङमा केकेआरका वरुण चक्रवर्ती र शिवम माभिले एक/एक विकेट लिए पनि हार टार्न सकेनन्।

त्यससअघि टस जितेर ब्याटिङ रोजेको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो। उसका लागि प्याट कमिन्सले अविजित ५३, कप्तान इयोन मोर्गनले नटआउट २९ बलमा ३९, शुभमन गिलले २१, आन्द्रे रसेलले १२ रनको योगदान दिएका थिए।

बलिङमा मुम्बईका राहुल चाहरले २, ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह र नाथनकुल्टर नाइलले एक/एक विकेट लिएका थिए।

यो जितसँगै मुम्बई शीर्ष स्थानमा फर्किएको छ । उसले ८ खेल खेल्दा ६ मा जित र २ खेलमा हारको सामना गरेको छ।  मुम्बईले ८ खेलमा १२ अंक जोडेको छ। समान अंक भए पनि रनरेटका आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा झरेको छ।

यता पराजित केकेआरले भने ८ खेलबाट चारमा जित र चार खेलमा हारको सामना गरेको छ । केकेआर ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुनेछन्। पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंलोरको सामना गर्नेछ भने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सँग प्रतिश्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2020-10-17 06:49:00

प्रतिकृया दिनुहोस्