क्वारेन्टाइनमा दशैं

तस्बिरः बिएल
तस्बिरः बिएल

बिहानै आँखा नखुल्दै आज दोधारमा परेँ। तातो सिरक छोडौं कि नछोडौं। उठौं त थकित जीउ, नउठौं त कामको चटारो। कोरोना महामारीका कारण कार्यालय भने जानु परेको छैन तर पनि बाहिरी बातावरणले ओछ्यान छोड्नै गाह्रो बनायो। यसो पर्दा खोली बाहिर च्याए। मन्द चिसो हावा संगै हुस्सु र कुहिरोले पार्किङ लट नै छोपेको रहेछ। बाहिरी बातावरण हेर्दा दशै आएझै लागेर मन चुलबुल भयो र जुरुक्क उठी आफ्नो नित्य कर्ममा लागे।

बिस्तारै बढेको चिसो, त्यसमाथि उमेरको जालझेलमा थलिएको निन्द्रा, बिहानै उठेर ब्रेकफास्ट बनाउनु, खानु र दिउसोको लागी लन्च समेत तयार गर्नु पर्दा कुन जन्ममा पाप पो गरेको थिए कि भन्ने लाग्छ। बिहानै उठ्यो, चिया/कफी मगमा हाल्यो, झोलामा लन्च हाल्यो अनि अफिसको बाटो लाग्ने दिन हरु सम्झन्छु। खासमा अफिस आवत जावतको मज्जा पनि गजबैको हुन्छ। कार्यालय समयमा थानकोटको ट्राफिक जाम जस्तै वासिङ्टन डिसी मेट्रो एरियाको ट्राफिकमा गाडी हुईक्याउनुको पिडाको बयान गरी नसक्नु हुन्छ। यही पिडालाई कम गर्न सरकारले कार्पोल तथा स्लगिङको ब्यबस्था गरेको छ। यस ब्यबस्था अनुसार हाइवेमा गाडी चलाउनका लागी आफ्नो गाडीमा तोकिएको सवारि सख्या अनुसारका मान्छे बसाएको हुनु पर्छ। कार्यालय आवत जावतका लागी कहिले आफ्नो गाडीमा त कहिले अर्कैको गाडीमा आलोपालो सवारी गर्नु नै मेरो दैनिकी बनेको सम्झना गर्दैछु।  कोरोना महामारीका कारण बिहान उठेर कार्यालय जानु परेको छैन।  मेरो दैनिकी पनि परिवर्तन भएको छ।

जिन्दगी मजाक मै पो बित्ने हो कि भन्ने पीर पनि लाग्छ, कहिलेकाहीँ। शनिबार र आइतबार बिदा पाउनेहरु सबै भाग्यमानी ठहर्छन अमेरिकामा। छुट्टीको दिनको ठेगाना हुनेले एक आपसमा भेट्घाट गर्छन, कहिले आफ्नो कथा सुनायो, कहिले अर्काको व्यथा सुन्यो। बिदेशमा कसैको मित्र, धेरैको अपरिचित त कतिको हाई हेलोको सम्बन्ध। जेहोस बिदेशमा यत्तिको परिचयलाई नभएको भन्दा भएकै ठान्नुपर्छ, म सन्तुष्टै छु।

बिश्वको जुन कुनामा बसे पनी आफ्नो मात्रु सस्कृती मुटु झै प्यारो र न्यानो हुन्छ। त्यसमा पनि प्रबासी नेपालीहरुकालागी चाडपर्बको महत्व झनै बिशेष हुने गर्दछ। भर्खरै मात्र बिदा गरिएको तीज पर्बलाई अमेरिकाका नेपाली भाषीहरुले परम्परागत रुपमा ठुलो महत्वका साथ मनाए। भर्जेनियामा डिसी मेट्रोबासी साथीभाइहरु बिच भएको तीज कार्यक्रममा आफ्नो परम्परालाई अगाल्दै बिशुद्ध नेपाली तीजको गीतमा रातो पहिरन र गहनामा धपक्क सजिएका महिलाहरुले  जुम भर्जुअल प्रबिधि मार्फत गीत गाए अनि नाचगान गरे। जुममा आफ्ना परिवार्, साथी भाईका साथ तीजको महत्वका बारेमा प्रबचन गरे, दर खाए र जुममा जोडिएर गुरु मार्फत पुजा पाठ गरे ,  ब्रत बसे। यसपालीको डिसि मेट्रो परिवारका  साथीभाइहरु बिच भएको तीज कार्यक्रमलाई डिसी मेट्रो वरिपरी बसोबास गर्ने प्रबासी नेपालीहरुले समय र परिस्थिती अनुकुलको एउटा नमुनाका रूपमा मनाईएको पर्बका रुपमा मनन गरेका छन।

बर्ष दिनको दौड धुपका बिच तीज पर्बलाई बिदा गर्दा गर्दै आफ्नो मात्रु पर्ब- दशै र तिहार नजिक आउँदा नेपाली मन बेचैन हुन थाल्छ। नेपाली पर्ब मात्रै हुन र यसपछीका अमेरिकन पर्बहरु- हलोइन्, थ्यान्क्स गिविङ र क्रीस्मसको चटारो अर्कै छ। नेपाली मुलका हामी अबिभावकका लागी आफ्नै मात्रु पर्ब -दशै तिहार र हाम्रा सन्तानका लागी दशै तिहारका साथै थप अमेरिकि पर्बहरुको चाजोपाजो मिलाउनु हम्मे हम्मे नै पर्छ।

घटस्थापनासंगै नेपालीहरुको महान चाड बडा दशै भित्रिएको छ, शुभकामनाहरूले सामाजिक संजाल रंगिएको छ। आहा...दशै कति रमाइलो हुन्थ्यो! म सम्झन्छु..... विदेशमा रहेकाहरु आफन्त सम्झेर नेपालको आफ्ना गाउँघर फर्कन्थे भने कोही आफ्ना अबिभावकलाई नै झिकाउने गर्दैथे। परम्परागत महत्व बोकेका पर्वहरुसंग जोडिएका गीतसंगीतमा रमाउदै, नाच्दै, आफन्तहरु बिच भेट्घाट गर्दै, मिठो खादै नेपाली साँस्कृतिक महत्वलाई उजागर गर्न नेपालीहरु सबै एकजुट हुन्छन। पर्बका बेला बर्ष दिनको थकान मेटाउन कोही घरमै जमघट गर्छन्, तास खेल्छन त कोही आफन्त भेटन टाढा सम्म पुग्छन। तर गत सालहरु जस्तो यसपालीको दशैँ हुने छैन, अवस्था भयाभय छ। 

नेपालीहरुलाई अझ खसीको चटारो त छदै छ। दशैंमा मासुका परिकारहरू सेकुवा र पक्कुमा नरमाउने नेपालीहरु बिरलै होलान। दशैंमा खसीको मासु लिन जाने नेपाली भाषीहरुको रमिता नै लाग्छ फार्म हाउसमा। मुखमा मास्क लगाएर ससंकित हुदै खसी /मासु किन्न लाईनमा उभिनेहरुको पिडा सहझै बुझ्न सकिन्छ।

नेपालीहरुलाई बिदेसमा सबै भन्दा धेरै खटकिने चिज पनि नेपाली सस्कार र सस्कृतीको अभाव नै हो। उल्लास, उत्साह, र उमङको पर्व दशै र तिहारका हरेक दिन यादै यादमा बिताउनु प्रबासी नेपालीहरुको नियती बनेको छ। आशिष दिने र लिनेको बिचमा आत्मियताको आदान प्रदान लगायत आफु भन्दा ठुलोलाई आदर र सानोलाई माया बाँड्ने अबशर पनि दशैमा प्राप्त हुन्छ। त्यसमध्ये तिहारमा खेलिने देउसी भैलोले सम्पुर्ण नेपाली भाषीहरुमा विशेष महत्व राख्दछ। आफ्नो समय मिलाएर सकेको मनोरन्जन गर्न पछी पर्दैनन नेपालीहरु। यही अभावलाई पुर्ती गर्न सबै नेपालीहरु एक अर्काको घरमा जमघट हुने गर्दथे , दुख सुखका कुरा सटासाट गर्दै मिठो मसिनो खानपीनमा भुल्ने गर्दथे। यसरी खुसियाली र आत्मियता साटन यसपालीको परिस्थितिले जुराउने छैन।

संस्कृती धान्न वा मनोरञ्जन गर्न खेलीने देउसी भैलोको तौर तरीका नेपालमा मात्र हैन बिदेसमा पनि समय अनुकुल बदलिदैं जान थालेको छ। मादल र डम्फूको तालमा सुर मिलाएर आशिस दिदै देउसी खेल्ने पुरानो प्रचलन आजभोली ठाउँ अनुसार परिवर्तन हुँदै गएका छन्। देउसीमा भट्टयाउने भाकाहरु बदलिएका छन। पौराणीक, धार्मिक वा परम्परागत संस्कृतीको वेलिविस्तार लगाउँदै भट्याउने चलन हिजोआज कम हुँदै गएका छन्। तापनी , सकेको बिधि र तरिका अनुसार देउसी भैलो खेलिदै आएको थियो। यसपाली भने जुमबाटै रमाइलो गर्ने तर्फ सबैको सोच रहेको छ।

नेपाल लगायत बिदेसमा समेत भएका सामाजिक संघ -सस्थाहरुले समाजमा सन्देश प्रवाह गर्ने अभिप्रायले देउसी भैलो खेल्न थालेका छन। त्यसबाहेक स्थानीय विभिन्न समुदाय, नेपालका राजनीतिक दलहरुका पुच्र्‍छर सगठनले समेत आर्थिक संकलन गर्ने अभिप्रायले खेल्ने गरेको देउसीले ठेट नेपाली सांस्कृतीक देउसी भैलोका भाकाहरु विर्सन थालेका छन।   सिनेमाका गीतलाई बङ्ग्याई देउसी र भैलोको भाका बनाइदै छ! हिन्दी र अंग्रेजी गीतमा भडकिलो तरिकाले देउसी खेल्ने प्रचलनले स्थान जमाएको अवस्थालाई मनन गर्दा हाम्रो प्रीय पर्ब नै लोप हुने पो हो कि भन्ने चिन्ताले छोपेको छ।

अझ अमेरिका त यस्तो देश हो जहाँ प्रत्येक नागरिकले आफ्नो धर्म, सस्कार र सस्कृतीको प्रयोग गर्न सम्बिधानले नै खुल्ला रुपले स्वागत गरेको छ। परम्परागत महत्व बोकेका यी हाम्रा पर्वहरु न त डलरले किन्न सकिन्छ न कुनै अन्य मुद्राले नै। अत: हाम्रा सस्कार, सस्कृती र चाड पर्बहरुको संरक्षण र संम्बर्दनका लागी सबै प्रबासी नेपालीहरुले एउटा अभियान थाल्न आवस्यक भै सकेको छ। 

दशमीका दिन घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुने गर्दछन्। आहा।। यी मन्त्रहरु पाठ गर्दै ठुला, आदरणियहरुको हातबाट टिका थाप्दा र आशिर्वाद लिदाको अवस्था स्मरण गर्दछु, कति मोहक र रमाइलो छ हाम्रो दशैँ !

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।

यसको अर्थ:


द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस्।।
सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस्।

महिलालाई टिका लगाइदिदा भन्ने आशिर्बाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात्ः ति देवी जस्ले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन्। यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं। वर्षदिनभित्र परिवारमा कसैको मृत्यूभएर शोक परेको परिवारमा दशैं मनाइदैन।

यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकाैं। सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका आयामहरू थपिंदै जाउन्। विजयादशमीको धेरै धेरै शुभकामना। टीकाको दिनमा बनेका हरेक दैलो अनि संघार भित्रका अक्षताहरुमा लक्षिन बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपाँई सबैका अनुहारमा हर्षका धागाहरु बसुन्।

अन्तमा, दशै आयो, खाउला पिउला!! कहाँ बाट आउला ? चोरी ल्याउला!! धत्त पापी म त छुट्टै बसौला!! यसपालीको दशैलाई  क्वारेन्टाइनमा राख्दै आफु र छर छिमेकीको स्वास्थको ख्याल गरी रमाइलोका साथ मनाउनु होला। 

प्रकाशित मिति: : 2020-10-20 13:00:00
# दसैं

ट्रेन्डिङ